News Summary
Generated by OK AI. Editorially reviewed.- टाइगर श्रॉफको कारमा मुम्बईको जुहू क्षेत्रमा गोली प्रहार भएपछि सलमान खान र लरेन्स बिश्नोईबीचको पुरानो विवाद फेरि चर्चामा आएको छ ।
- जोधपुरका बिश्नोई समाजसँग सम्बन्धित देवन्द्र बुढियाले सलमान खानलाई समाजसँग माफी मागेर विवाद अन्त्य गर्न आग्रह गरेका छन् ।
- प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरी अनुसन्धानका लागि ४८ घण्टाको ट्रान्जिट रिमान्ड पाएको छ ।
बलिउड अभिनेता टाइगर श्रॉफमाथि गोली प्रहारको घटना सार्वजनिक भएपछि अभिनेता सलमान खान र लरेन्स बिश्नोईबीचको पुरानो विवाद फेरि चर्चामा आएको छ । यसैबीच, जोधपुरका बिश्नोई समाजसँग सम्बन्धित देवन्द्र बुढियाले सलमान खानलाई समाजसँग माफी मागेर विवाद अन्त्य गर्न आग्रह गरेका छन् ।
बुढियाका अनुसार, कुनै समुदायसँग माफी माग्दैमा व्यक्तिको प्रतिष्ठा घट्दैन । सलमान खानले आफैँ अघि सरेर माफी मागेमा लामो समयदेखि चलिरहेको विवाद संवादमार्फत शान्तिपूर्ण रूपमा समाधान हुन सक्ने उनको भनाइ छ ।
‘सलमानले माफी नमागेसम्म प्रयास गरिरहन्छु’
भारतीय समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै बुढियाले आफूले करिब डेढ वर्षअघि पनि सलमान खानलाई सम्झाउने प्रयास गरेको दाबी गरेका छन् । उनले सलमानलाई आफ्नो स्टारडमको ख्याल गर्न र विवाद समाधान गर्न गम्भीर हुन आग्रह गरेको बताए ।
बुढियाका अनुसार, उनले त्यतिबेला सलमानलाई आफ्नो ज्यानसमेत जोखिममा पर्न सक्ने भन्दै विवादलाई बेवास्ता नगर्न सुझाव दिएका थिए । सलमानले माफी माग्ने विषयमा सहमति जनाए पनि पछि भेट नभएको उनको दाबी छ ।
उनले भने, ‘सलमान खानले माफी नमागेसम्म म प्रयास गरिरहनेछु । मैले उनलाई करिब डेढ वर्षअघि पनि धेरै सम्झाएको थिएँ । तपाईंको ज्यान जान सक्छ, तपाईं सुपरस्टार हुनुहुन्छ, यस्तो नगर्नुहोस् भनेको थिएँ । उनले हुन्छ, गर्छु भनेका थिए, तर पछि भेट नै भएन ।’
सलमानलाई मन्दिरमा आएर माफी माग्न आग्रह
बुढियाले सलमान खानलाई बिश्नोई समाजको मन्दिरमा आएर माफी माग्न आग्रह गरेका छन् । बिश्नोई समाज दयालु र उदार भएकाले संवाद र माफीमार्फत विवाद अन्त्य गर्न सकिने उनको विश्वास छ ।
उनले लरेन्स बिश्नोईसँग पनि कुराकानी गरेको दाबी गरेका छन् । बुढियाका अनुसार, उनले लरेन्सलाई विवाद थप नबढाउन र कसैलाई हानि पुर्याउनुभन्दा संवादको बाटो रोज्न सुझाव दिएका थिए । सलमानले एक वर्षभित्र माफी माग्न सक्ने भन्दै लरेन्सलाई १२ महिनाको समय दिन आग्रह गरेको पनि उनले बताएका छन् ।
टाइगर श्रॉफको कारमा गोली प्रहार
आइतबार साँझ मुम्बईको जुहू क्षेत्रमा फुटबल क्लबबाट बाहिरिने क्रममा टाइगर श्रॉफको कारमा गोली प्रहार भएको थियो । घटनामा टाइगर सुरक्षित रहे पनि उनका चालक घाइते भएको समाचारमा उल्लेख छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई रेलयात्राका क्रममा पक्राउ गरेको जनाएको छ । उनीहरूलाई अदालतमा उपस्थित गराएपछि मुम्बई प्रहरीले अनुसन्धानका लागि ४८ घण्टाको ट्रान्जिट रिमान्ड पाएको छ ।
यस घटनापछि सामाजिक सञ्जालमा गोली प्रहारको जिम्मेवारी लिएको दाबी गर्ने एउटा पोस्ट पनि सार्वजनिक भएको थियो । उक्त पोस्टको सत्यता र घटनासँगको सम्बन्ध भने पुष्टि भइसकेको छैन ।
देवन्द्र बुढियाको आग्रहपछि सलमान खानले कुनै प्रतिक्रिया जनाउँछन् वा जनाउँदैनन् भन्ने चासो बढेको छ ।
प्रतिक्रिया 4