+
+
Shares

चालु वर्ष विपद्बाट ३८६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ११० जनाको ज्यान गयो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैशाख १ देखि कात्तिक ३ गतेसम्म देशभर ७ हजार ४३९ विपद्का घटना हुँदा ३८६ जनाको मृत्यु र २ हजार ४३३ जना घाइते भएका छन् ।
  • सो अवधिमा सर्पदंशका १ हजार ६२२ घटनामा ११० जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
  • पहिरोमा ७६, बाढीमा ४१ र चट्याङमा ३६ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

३ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३ को वैशाख १ देखि कात्तिक ३ गतेसम्म देशभर भएका विपद्का घटनामा ३८६ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै मानवीय क्षति सर्पदंशबाट भएको छ । यो तथ्याङ्कमा भोटेकोशी र बूढीगण्डकी बाढीको तथ्याङ्क समावेश छैन ।

प्राधिकरणका अनुसार सात महिनाभन्दा कम अवधिमा देशभर ७ हजार ४३९ वटा विपद्का घटना भएका छन् । ती घटनामा २ हजार ४३३ जना घाइते भएका छन् भने १४ जना बेपत्ता छन् । विपद्का कारण ९ हजार ५२५ परिवार प्रभावित भएका छन् ।

यस अवधिमा सर्पदंशका १ हजार ६२२ घटना भएका छन् । सर्पको टोकाइबाट ११० जनाको मृत्यु भएको छ भने १ हजार ५२५ जना घाइते भएका छन् । सर्पदंशका घटनाबाट १ हजार ६२७ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

पहिरोबाट ७६ र बाढीबाट ४१ जनाको मृत्यु

सर्पदंशपछि पहिरोले सबैभन्दा धेरै मानवीय क्षति पुर्‍याएको छ । वैशाख १ देखि कात्तिक ३ गतेसम्म देशभर १ हजार ७०९ वटा पहिरोका घटना भएका छन् । पहिरोमा परी ७६ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता र ७५ जना घाइते भएका छन् । पहिरोका कारण १ हजार ४२६ परिवार प्रभावित भएका छन् ।

यस अवधिमा बाढीका ४६० घटना भएका छन् । बाढीबाट ४१ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन् । बाढीका कारण १ हजार ३४८ परिवार प्रभावित भएका छन् ।

त्यस्तै, चट्याङका ३३३ घटनामा ३६ जनाको मृत्यु र २०४ जना घाइते भएका छन् । चट्याङबाट ४०३ परिवार प्रभावित भएका छन् ।

आगलागीमा २९ जनाको मृत्यु

प्राधिकरणको तथ्यांकअनुसार देशभर १ हजार ५०७ वटा आगलागीका घटनामा २९ जनाको मृत्यु भएको छ । ती घटनामा २१९ जना घाइते भएका छन् भने १ हजार ६३९ परिवार प्रभावित भएका छन् ।

लेक लाग्ने ७२ घटनामा २६ जनाको मृत्यु र ४८ जना घाइते भएका छन् । मानव-वन्यजन्तु द्वन्द्वअन्तर्गत जनावरको आक्रमणका ३९८ घटनामा २१ जनाको मृत्यु र २४१ जना घाइते भएका छन् ।

त्यस्तै, छ वटा हिमपहिरोका घटनामा १९ जनाको मृत्यु र एक जना घाइते भएका छन् । हावाहुरीका ५३७ घटनामा १६ जनाको मृत्यु भएको छ भने १ हजार ४९५ परिवार प्रभावित भएका छन् । भारी वर्षाका ५८४ घटनामा सात जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु

प्राधिकरणका अनुसार कात्तिक २ गते बिहान १० बजेदेखि कात्तिक ३ गते बिहान १० बजेसम्म देशका २१ जिल्लामा २४ वटा विपद्का घटना भएका छन् ।

यस अवधिमा आगलागीका १८ घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । पाँच जिल्लामा भएका पाँच सर्पदंशका घटनामा नौ जना घाइते भएका छन् भने जनावरको आक्रमणबाट एक जना घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा विपद्का कारण करिब १८ लाख २ हजार ५०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ भने १६ वटा चौपाया मरेका वा क्षति पुगेको प्राधिकरणको विवरणमा उल्लेख छ । उद्धार तथा राहतका लागि १४१ जना प्रहरी परिचालन गरिएको थियो ।

प्राधिकरणले मौसम परिवर्तनसँगै आगलागी र चिसोका जोखिमप्रति सतर्क रहन तथा विपद्सम्बन्धी पूर्वसूचना र जानकारीका लागि आधिकारिक माध्यमको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?