News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुर–१ च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा विजयादशमीका दिन लाग्ने ब्रम्हायणी जात्रामा श्रद्धालुहरु रातिदेखि नै सहभागी भएका छन्।
- नवदुर्गाको शक्तिपीठ मानिने मन्दिरमा भक्तपुरसहित काभ्रे, ललितपुर र काठमाडौंका भक्तजन पूजा गर्न आएका छन्।
- गठेमंगलमा ल्याइएको ख:मेयलाई मत्ताएर ब्रह्मायणी मन्दिर पुर्याई बध गरेपछि रातिदेखि जात्रा शुरू हुने परम्परा रहेको छ।
४ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा श्रद्धालुहरु रातिदेखि नै सहभागी भएका छन् ।
नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ ।
ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुर थिमी, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौंदेखिका भक्तजन आउने गर्दछन् । मन्दिरमा जमरा, हाँसको फुल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ ।
व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै शरीरमा ५, ७ वा १८ वटा दियो बालेर जाने र पूजा गर्ने प्रचलन छ । यसो गरेमा मनोकाक्षा पूरा हुने र पाप नष्ट हुने जनविश्वास छ ।

गठेमंगलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक ख:मेय अर्थात राँगोलाई गएराति नवदुर्गा मन्दिरबाट जाँड खुवाएर मत्ताएर अबिर दलेर दौडाउँदै, लखेट्दै ब्रह्मायणी मन्दिर पुर्याएर बध गरेपछि रातिदेखि नै यो जात्रा शुरु हुने गर्दछ । राँगोलाई लखेट्दा दायाँबायाँ सुकुन्दा बालेर सँगै दौडिने परम्परा छ ।
महानवमीको राति नवौँ देवी त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानी पूर्ण हुने हुँदा परम्परागतरूपमा ख:मेय्को बधजात्रा मनाउने प्रचलन रहेको स्थानीयवासीको भनाइ छ ।

बध गरिएको सो राँगोको मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्यूमा मुछेर धूप बनाई बाल्ने गरिन्छ ।
लक्ष्मीपूजाका दिन सो धूप बालेमा भूतप्रेत नलाग्ने, शत्रुनाश हुने र घरमा लक्ष्मीको बास हुने जनविश्वास छ ।





प्रतिक्रिया 4