५ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा एक महिनाको अवधिमा १७ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको असोज महिनाको तथ्याङ्कअनुसार जिल्लामा एक महिनामै विभिन्न प्रकृतिका १०० वटा अपराधका मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले सार्वजनिक गरेको मासिक प्रगति विवरणका अनुसार असोज महिनामा आत्महत्याका १७, लागुऔषधका २१, ज्यानसम्बन्धी १०, सामाजिक अपराधका १३, चोरीका ६, महिला तथा बालबालिकासम्बन्धी ६ र सवारी ज्यानसम्बन्धी दुई मुद्दा दर्ता भएका छन् । अन्य प्रकृतिका १९ मुद्दा पनि दर्ता भएको प्रहरीको विवरणमा उल्लेख छ ।
आत्महत्या गर्नेमा आठ पुरुष, छ महिला र तीन बालिका छन् । उनीहरूमध्ये १५ जनाले झुन्डिएर र दुई जनाले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उमेर समूहका आधारमा १० देखि २० वर्षका चार, २१ देखि ३० वर्षका तीन, ३१ देखि ४० वर्षका दुई, ४१ देखि ५० वर्षका चार र ५० वर्षभन्दा माथिका चार जनाले आत्महत्या गरेका छन् ।
आत्महत्याका घटनासँगै असोज महिनामा लागुऔषधका २१ मुद्दा दर्ता हुँदा ३४ जना पक्राउ परेका छन् । प्रहरीले उक्त अवधिमा ८६.०७ ग्राम खैरो हेरोइन, १२६ एम्पुल फेनारगन र ६७ चक्की ट्रामाडोल बरामद गरेको विवरणमा उल्लेख छ ।
घरेलु हिंसासम्बन्धी ३२ उजुरी परेकोमा २८ वटामा मिलापत्र भएको र चारवटा अदालत पठाइएको प्रहरीले जनाएको छ । यसै अवधिमा हराएका ३४ जनाको विवरण दर्ता भएको र ३४ जना फेला परेको प्रहरीको तथ्याङ्क छ । हराउनेमा १८ महिला, छ बालक, नौ बालिका र एक ज्येष्ठ नागरिक छन् ।
सवारी दुर्घटनातर्फ असोज महिनामा जिल्लामा ५४ दुर्घटना भएका छन् । दुर्घटनामा तीन जनाको मृत्यु भएको र ७६ जना घाइते भएको प्रहरीको विवरणमा उल्लेख छ । दुर्घटनामा ७६ वटा सवारीसाधन संलग्न थिए । प्रहरीका अनुसार ४६ दुर्घटना चालकको कारणले र आठ दुर्घटना चौपायाका कारण भएका थिए ।
शान्ति सुरक्षा कायम गर्न प्रहरीले असोज महिनामा ३५ पटक विशेष प्रहरी परिचालन गरेको जनाएको छ । यस अवधिमा एक हजार ३०२ पटक पिकेट, १३२ पटक चेकिङ, ३७२ पटक ग्रामीण गस्ती, दुई पटक एलआरपी र १३० पटक एसआरपी परिचालन गरिएको विवरणमा उल्लेख छ ।
फैसला कार्यान्वयनतर्फ प्रहरीले २३ जना प्रतिवादी पक्राउ गरेको छ । उनीहरूबाट २० वर्ष एक महिना १९ दिन कैद र दुई लाख ६४ हजार ६६२ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने विवरणमा उल्लेख छ । सार्वजनिक चासोका पेन्डिङ मुद्दामध्ये १६ वटा फर्छ्योट भएका छन् भने ५५९ मुद्दा बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4