+
+
Shares

मौसम बदली संकेत : मंगलबारसम्म धानबाली भित्र्याउन सुझाव, एनपीएलका खेल प्रभावित हुन सक्ने

उक्त प्रणालीका कारण सञ्चालन हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका खेलकुद प्रतियोगिताहरूमा समेत असर पर्नसक्ने देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ७ गते १४:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जल तथा मौसम विज्ञान विभागले कात्तिक १० देखि १५ गतेसम्म बङ्गालको खाडीको न्युन चापीय प्रणालीले देशको मौसम फेरबदल हुनसक्ने चेतावनी दिएको छ।
  • विभागले मंगलबारसम्म मौसम सामान्यतया सफा रहने र कात्तिक ७ गतेसम्म केही हिमाली तथा पहाडी भूभागमा हल्का वर्षा हुनसक्ने जनाएको छ।
  • कृषि, पर्यटन र खेलकुद प्रभावित हुनसक्ने भन्दै विभागले धान काट्ने तथा बाली भित्र्याउने काम कात्तिक ७ भित्र सक्न आग्रह गरेको छ।

७ कात्तिक, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ ।

विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो ।

गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले जनाएको छ । हाललाई देशको मौसम स्थिर रहे पनि कात्तिक १० गतेदेखि १५ गतेसम्म मौसमी प्रणालीमा फेरबदल आउने संकेत देखिएको छ ।

मौसमविद् रोजन लामिछानेका अनुसार उक्त न्युन चापीय प्रणालीका कारण देशका अधिकांश भूभागमा प्रभाव पर्न सक्ने सम्भावना छ । यद्यपि, वर्षाको मात्रा र प्रभावको यकिन अवस्थाबारे अहिले नै भन्न सकिने अवस्था नरहेको विभागले स्पष्ट पारेको छ ।

यो मौसमी फेरबदलले विशेष गरी कृषि र पर्यटन क्षेत्रलाई प्रभावित पार्नसक्ने आकलन गरिएको छ । हाल धान भित्र्याउने समय भएकाले किसानलाई मंगलबारसम्मको अनुकूल मौसमको सदुपयोग गर्दै बाली भिर्त्याइसक्न विभागले विशेष आग्रह गरेको छ ।

‘आगामी कात्तिक ७ गतेसम्म हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । अन्य भूभागमा वर्षाको सम्भावना न्युन छ,’ उनले भने, ‘कात्तिक १० देखि १५ गतेसम्म बंगालको खाडीमा विकसित भइरहेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्नसक्ने देखिन्छ । वर्षाको मात्रा र प्रभावबारे अहिले नै यकिन गर्न सकिने अवस्था छैन ।’

कात्तिक ८ गतेपछि कुनैपनि बाह्य कार्यक्रम, भ्रमण वा कृषि कार्यको योजना बनाउँदा मौसमी अवस्थालाई ध्यानमा राख्न र पछिल्ला अद्यावधिक सूचनाहरू नियमित रूपमा लिन सचेत गराइएको छ ।

‘कृषि, पर्यटन तथा खेलकुद गतिविधि प्रभावित हुनसक्ने भएकाले मौसमको अवस्था बुझेर मात्र योजना बनाउन अनुरोध छ । धान काट्ने तथा बाली भित्र्याउने काम सम्भव भएसम्म कार्तिक ७ गतेभित्रै सम्पन्न गर्नुहोला,’ उनले भने ।

उक्त प्रणालीका कारण सञ्चालन हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका खेलकुद प्रतियोगिताहरूमा समेत असर पर्नसक्ने देखिएको छ । एनपीएलका खेलहरू सोमबारबाट सुरु हुँदैछ ।

आम नागरिकलाई आधिकारिक मौसमी सूचनाका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू नियमित हेर्न वा ११५५ मा फोन गरेर जानकारी लिन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?