+
+
Shares

गैरआवासीय नेपाली संघ : गौरवशाली इतिहासदेखि आत्मसमीक्षाको कठघरासम्म

‎निल थापा ‎निल थापा
२०८३ कात्तिक १० गते ८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गैरआवासीय नेपाली संघ सन् २००३ मा विश्वका ८० भन्दा बढी देशमा छरिएका नेपालीलाई एउटै संस्थागत छातामुनि जोड्ने उद्देश्यले स्थापना भएको हो।
  • लेखमा एनआरएनएमा नेतृत्व विवाद, गुट–उपगुट, राजनीतिक प्रभाव र पदको आकर्षणले मूल उद्देश्य ओझेल परेको भन्दै आत्मसमीक्षा र सुधारको आग्रह गरिएको छ।
  • लेखकले एनआरएनएलाई योग्यता, पारदर्शिता, जवाफदेहिता र युवाको सहभागितामा आधारित बनाउनुपर्ने सुझाव दिएका छन्।

नेपालबाट विदेश जाने नेपालीको इतिहास एउटै मितिबाट सुरु भएको होइन । ‘विदेश जाने’ भन्नाले रोजगारी, अध्ययन, व्यापार, सैनिक सेवा, धार्मिक यात्रा वा स्थायी बसाइँसराइमध्ये कुनलाई बुझ्ने भन्ने आधारमा यसको इतिहास फरक–फरक देखिन्छ।

‎नेपालीहरूको विदेश यात्रा आजको पुस्ताबाट सुरु भएको होइन । लिच्छवि र मल्लकालदेखि नै नेपालका मानिसहरू भारत, तिब्बत र हिमालयपारिका भू-भागसँग व्यापार, धार्मिक यात्रा र सांस्कृतिक आदानप्रदानका लागि आवतजावत गर्ने गरेको इतिहास पाइन्छ । त्यतिबेला विदेश जानुको मुख्य उद्देश्य रोजगारी वा स्थायी बसाइँसराइ नभएर व्यापार, धर्म, शिक्षा र सम्बन्ध विस्तारसँग जोडिएको थियो ।

‎नेपालको आधुनिक विदेश यात्रामा गोर्खा सैनिकको इतिहास एउटा महत्वपूर्ण मोड हो । सन् १८१५–१८१६ को अंग्रेज–नेपाल युद्धपछि ब्रिटिसहरूले नेपाली युवाहरूलाई आफ्नो सेनामा भर्ती गर्न थाले । पछि यही परम्परा गोर्खा सैनिकका रूपमा विकसित भयो । यसले नेपाली युवालाई भारत हुँदै विश्वका विभिन्न भू-भागसम्म पुग्ने बाटो खोल्यो ।

‎त्यसपछि भारत नेपालीहरूको महत्वपूर्ण गन्तव्य बन्न पुग्यो । विशेषगरी उन्नाइसौँ शताब्दीको उत्तरार्धतिर नेपालीहरू भारतमा रोजगारी, व्यापार तथा अन्य अवसरका लागि जाने क्रम बढ्दै गयो । नेपाल–भारतबीचको भौगोलिक निकटता र खुला सीमाले यस आवतजावतलाई थप सहज बनायो।

‎बीसौँ शताब्दीको पछिल्ला दशकतिर नेपालीहरूको विदेश यात्रा अझ विस्तार हुन थाल्यो । सन् १९६० देखि १९८० को दशकसम्म खाडी मुलुक तथा अन्य देशतर्फ नेपाली श्रमिक जाने क्रम विस्तार भयो । सन् १९८० पछि वैदेशिक रोजगारी नेपाली परिवार र अर्थतन्त्रसँग अझ गहिरोसँग जोडिन थाल्यो ।

‎सन् १९९० पछि यो प्रवृत्तिले अझ ठूलो रूप लियो । विशेषगरी मलेसिया, खाडी मुलुक तथा अन्य देशमा ठूलो संख्यामा नेपाली कामदार जान थाले । सन् २००० पछि भने नेपाली विदेश जाने यात्राले अर्को रूप लिन थाल्यो । वैदेशिक रोजगारीसँगै अध्ययन, व्यवसाय, सीप, स्थायी बसाइँसराइ र परिवारसहित विदेश जाने प्रवृत्ति तीव्र हुँदै गयो ।

‎आज नेपालीहरू विश्वका विभिन्न देशमा पुगेका छन् । कोही श्रमिकका रूपमा छन्, कोही विद्यार्थी, कोही व्यवसायी, कोही चिकित्सक, इन्जिनियर, प्राध्यापक, वैज्ञानिक वा प्राविधिकका रूपमा कार्यरत छन् । कोही विदेशमा जन्मिएर त्यहीँ हुर्किएका छन् भने कोही नेपालबाट गएर त्यहीँ आफ्नो भविष्य निर्माण गरिरहेका छन् । यसरी हेर्दा नेपाली विदेश यात्रा केवल रोजगारीको इतिहास रहेन । यो विस्तारै विश्वव्यापी नेपाली समुदायको निर्माणको इतिहास बन्न पुग्यो ।

‎विदेशमा नेपालीको संख्या बढ्दै जाँदा एउटा नयाँ आवश्यकता पनि महसुस हुन थाल्यो–विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीलाई कसरी एउटै साझा भावनात्मक र संस्थागत सूत्रमा जोड्ने ? विदेशमा रहेका नेपालीको अधिकार र हितलाई कसरी संरक्षण गर्ने ? उनीहरूले विदेशमा आर्जन गरेको ज्ञान, सीप, पूँजी, प्रविधि र अनुभवलाई नेपालको विकाससँग कसरी जोड्ने ? विदेशमा हुर्किँदै गरेको नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग कसरी जोडिराख्ने ?
‎
‎यिनै प्रश्नको पृष्ठभूमिमा गैरआवासीय नेपाली संघ(एनआरएनए)को आवश्यकता महसुस भयो । यसर्थ विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीलाई एउटै साझा संस्थागत छातामुनि जोड्ने उद्देश्यले सन् २००३ मा गैरआवासीय नेपाली संघको स्थापना भएको हो । ‎जसको मुल भावना’ एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने थियो ।

‎’एक पटकको नेपाली, सधैँको नेपाली’ केवल नारा होइन, एउटा जिम्मेवारी हो । विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पूँजी, प्रविधि, अनुभव र सम्बन्धलाई नेपालको हितमा उपयोग गर्ने तथा विश्वभरका नेपालीबीच आपसी एकता, भाइचारा र सहकार्य कायम गर्ने यसको मूल भावना थियो ।

‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने अवधारणाले नै यस अभियानको आत्मालाई प्रतिनिधित्व गर्छ । ‎विदेशमा बस्दैमा नेपालीपन समाप्त हुँदैन । भौगोलिक दूरीले नेपालीलाई मातृभूमिबाट टाढा राख्न सक्छ, तर मन, माया, भावना, भाषा, संस्कृति, ज्ञान, सीप र योगदानले नेपालसँग जोडिरहन सकिन्छ । यही सम्बन्धलाई संस्थागत रूप दिन ‘एनआरएनए’को आवश्यकता महसुस भएको थियो ।

‎आज यो संस्था विश्वका ८० भन्दा बढी देशमा फैलिएको छ । यो आफैंमा नेपाली समुदायको ठूलो उपलब्धि हो । तर संस्थाको विस्तारसँगै एउटा गम्भीर प्रश्न पनि उठेको छ– ‎के ‘एनआरएनए’ आफ्नो स्थापनाको मूल मर्म र उद्देश्यअनुसार अघि बढिरहेको छ ?

यो प्रश्न संस्थाको भविष्यप्रतिको चिन्ता र जिम्मेवारीबाट उठेको हो ।

‎’एनआरएनए’ को स्थापना : एउटा साझा अभियानको सुरुवात

‎विदेशमा नेपालीहरूको संख्या बढ्दै जाँदा उनीहरूबीच आपसी सम्बन्ध, अधिकारको संरक्षण, सामाजिक सहयोग र मातृभूमिसँगको सम्बन्धलाई संस्थागत रूपमा अघि बढाउने आवश्यकता बढ्दै गयो।

‎विदेशमा रहेका नेपालीसँग ठूलो सम्भावना थियो– ज्ञान, सीप, पूँजी, प्रविधि, अनुभव र अन्तर्राष्ट्रिय सम्बन्ध । ‎यी स्रोतहरूलाई नेपालको विकाससँग जोड्न सकियो भने विदेशमा रहेका नेपालीहरू केवल वैदेशिक रोजगारी वा बसाइँसराइका प्रतिनिधि मात्र होइन, नेपालको विकासका साझेदार बन्न सक्छन् भन्ने सोच ‘एनआरएनए’ को अवधारणाको केन्द्रमा थियो ।

यसको स्थापना कुनै पद, निर्वाचन वा नेतृत्वको प्रतिस्पर्धाका लागि भएको होइन । ‎यो नेपालीलाई जोड्ने, नेपाललाई सहयोग गर्ने र नेपालीपनलाई संसारभर जीवित राख्ने अभियान थियो।

‎’एनआरएनए’ को मूल उद्देश्य

‎१. नेपालीबीच एकता र सहकार्य

‎विश्वका विभिन्न देशमा रहेका नेपालीलाई एउटै भावनात्मक र संस्थागत सूत्रमा जोड्नु।

‎२. अधिकार र हितको संरक्षण

‎विदेशमा रहेका नेपालीहरूको अधिकार, पहिचान र हितका विषयमा आवश्यक पहल गर्नु।

‎३. ज्ञान, सीप र पूँजीलाई नेपालसँग जोड्नु

‎विदेशमा हासिल गरेको ज्ञान, सीप, प्रविधि, पूँजी र अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने वातावरण निर्माण गर्नु।

‎४. नेपालको आर्थिक र सामाजिक विकासमा योगदान

‎शिक्षा, स्वास्थ्य, उद्यमशीलता, लगानी, रोजगारी, प्रविधि र सामाजिक विकासका क्षेत्रमा योगदान पुर्‍याउनु।

‎५. नेपाली संस्कृति र पहिचानको संरक्षण

‎विदेशमा जन्मिएका र हुर्किएका नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति, परम्परा र पहिचानसँग जोडिराख्नु।

‎६. विपद्को समयमा सहयोग

‎नेपाल वा नेपाली समुदायमा संकट, विपद् र दुःख आइपर्दा मानवीय सहयोग र राहतमा सक्रिय हुनु।

‎७. नेपाल र विश्वबीच पुल बन्नु

‎विश्वभरका नेपालीको अनुभव, सम्बन्ध र सम्भावनालाई नेपालसँग जोड्दै नेपाललाई विश्व समुदायसँग जोड्ने पुलको भूमिका निर्वाह गर्नु।

‎’एनआरएनए’ को वास्तविक महत्व

यो नेपाल र विश्वभरका नेपालीबीचको सम्बन्धको महत्वपूर्ण माध्यम हो । ‎विश्वभर रहेका नेपालीको सामूहिक शक्ति आफैंमा ठूलो स्रोत हो । ‎कुनै देशमा नेपाली वैज्ञानिक छन्, कतै चिकित्सक, कतै प्राध्यापक, कतै उद्यमी, कतै व्यवसायी, कतै प्राविधिक, कतै श्रमिक । उनीहरूले आर्जन गरेको ज्ञान, सीप, पूँजी र अनुभव नेपालका लागि महत्वपूर्ण सम्पत्ति बन्न सक्छ ।

‎तर त्यो शक्ति संस्थागत रूपमा उपयोग हुन सकेमा मात्र त्यसको वास्तविक अर्थ हुन्छ । ‎त्यसैगरी, विदेशमा नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तालाई नेपाली पहिचानसँग जोड्ने काम पनि उत्तिकै महत्वपूर्ण छ।

‎विपद्का बेला संसारभरका नेपालीलाई एकै ठाउँमा उभ्याउन सक्ने क्षमता पनि ‘एनआरएनए’ सँग छ।

‎यस अर्थमा ‘एनआरएनए’ को वास्तविक शक्ति यसको पद, कार्यालय वा निर्वाचनमा होइन; नेपाली समुदायको विश्वास, एकता र सेवाभावमा निहित छ।
‎तर आज हामीले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ।

‎’एनआरएनए’ जति ठूलो भयो, यसको जिम्मेवारी पनि त्यति नै ठूलो भएको छ। ‎तर पछिल्लो समय संस्थाभित्र देखिने नेतृत्व विवाद, व्यक्तिवादी प्रतिस्पर्धा, गुट–उपगुट, राजनीतिक प्रभाव, पदको आकर्षण र व्यक्तिगत प्रतिष्ठाको संघर्षले संस्थाको मूल उद्देश्य ओझेलमा परेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ।

‎हामीले आफैंलाई सोध्नुपर्ने बेला आएको छ– हामी संस्था निर्माण गरिरहेका छौँ, कि संस्थाभित्र आफ्नो शक्ति निर्माण गरिरहेका छौँ ? ‎हामी नेपालीलाई जोडिरहेका छौँ, कि नेपालीलाई गुटमा विभाजन गरिरहेका छौँ ? ‎हामी सेवाका लागि पद खोजिरहेका छौँ, कि पदका लागि सेवा देखाइरहेका छौँ ?

‎यी प्रश्न असहज हुन सक्छन्, तर संस्थाको भविष्यका लागि आवश्यक छन्।

‎१. संस्था भन्दा व्यक्ति ठूलो मान्ने प्रवृत्ति

‎कुनै पनि संस्था व्यक्तिभन्दा ठूलो हुन्छ । ‎आज एक व्यक्ति नेतृत्वमा हुन्छ, भोलि अर्को व्यक्ति आउँछ । आज एउटा समूह प्रभावशाली हुन्छ, भोलि अर्को समूह आउँछ। तर संस्था रहिरहनुपर्छ । ‎दुर्भाग्यवश, जब व्यक्ति आफ्नो पद र प्रभावलाई संस्थाभन्दा माथि राख्न थाल्छ, संस्थागत मूल्य कमजोर हुँदै जान्छ । ‎‎नेतृत्वमा पुग्ने व्यक्तिले आफूलाई संस्थाको मालिक होइन, संस्थाको सेवक ठान्नुपर्छ।

‎२. सामाजिक संस्थामा राजनीतिक संस्कारको प्रभाव

‎व्यक्तिगत राजनीतिक विचार हुनु स्वाभाविक हो । तर सामाजिक संस्थाको निर्णय र नेतृत्वमा राजनीतिक गुटको प्रभाव हावी हुनु चिन्ताको विषय हो । ‘एनआरएनए’ कुनै राजनीतिक दल होइन । ‎यसको प्राथमिकता नेपाली समुदायको हित, अधिकार, सामाजिक एकता र सेवा हुनुपर्छ ।

‎यदि सामाजिक संस्था नै राजनीतिक शक्ति संघर्षको अर्को मैदान बन्न थाल्यो भने त्यसले नेपाली समुदायलाई जोड्नेभन्दा विभाजित गर्ने खतरा बढाउँछ । ‎राजनीतिक विचार व्यक्तिगत हुन सक्छ; ‘एनआरएनए’ को उद्देश्य भने सामूहिक हुनुपर्छ ।

‎३. गुट–उपगुटको संस्कार

‎विचारको प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष हो । ‎तर विचारको प्रतिस्पर्धा जब व्यक्तिको प्रतिस्पर्धामा र व्यक्तिको प्रतिस्पर्धा गुटको संघर्षमा परिणत हुन्छ, तब संस्थाले मूल्य चुकाउनुपर्छ । ‎’मेरो मान्छे’ र ‘तिम्रो मान्छे’ भन्ने मानसिकताले संस्थामा योग्यता र योगदानलाई पछाडि पार्न सक्छ । ‎यसरी गुट बलियो हुँदै जाँदा संस्था कमजोर हुँदै जान्छ ।

‎४. समाज मिलाउने नाममा पद बाँडफाँड
‎सबैलाई समेट्नु राम्रो कुरा हो । तर सबैलाई समेट्ने नाममा पद बाँड्नु संस्थागत समाधान होइन। ‎समावेशिता र भागबन्डाबीच फरक हुन्छ । ‎जिम्मेवारी व्यक्तिको क्षमता, अनुभव, योगदान, समय र नेतृत्व क्षमताका आधारमा दिनुपर्छ । ‎पद पुरस्कार होइन । ‎पद भनेको समुदायले दिएको विश्वास हो ।
‎
५. पैसा र पदबीचको सम्बन्ध

‎यो विषय अझ संवेदनशील छ । ‎यदि आर्थिक योगदान, व्यक्तिगत पहुँच वा आर्थिक क्षमताले संस्थागत पद प्राप्त गर्न सकिन्छ भन्ने धारणा समाजमा स्थापित भयो भने संस्थाको नैतिक आधार कमजोर हुन्छ । पद किनबेचको वस्तु बन्नु हुँदैन। ‎आर्थिक गतिविधिमा पारदर्शिता, नेतृत्व चयनमा स्पष्ट मापदण्ड र जवाफदेहिता आवश्यक छ । ‎संस्थामा योगदान गर्ने मानिसको सम्मान हुनुपर्छ, तर आर्थिक योगदानलाई पद प्राप्तिको बाटो बनाउनु हुँदैन ।

‎६. सक्षम व्यक्तिको आकर्षण घट्नु

‎संस्थाको भविष्य सक्षम मानिसहरूले निर्माण गर्छन् । ‎तर जब योग्य र स्वतन्त्र सोच भएका मानिसले आफ्नो क्षमता र योगदानभन्दा गुट, पहुँच वा व्यक्तिगत सम्बन्धलाई बढी महत्व दिइएको महसुस गर्छन्, उनीहरू विस्तारै संस्थाबाट टाढिन सक्छन् । ‎यो ‘एनआरएनए’ का लागि गम्भीर चेतावनी हो । ‎हामीले यस्तो वातावरण निर्माण गर्नुपर्छ जहाँ सक्षम मानिसहरू पदका लागि होइन, काम गर्नका लागि ‘एनआरएनए’ मा आउन चाहना राखुन् ।

‎७. युवालाई जोड्न नसक्ने जोखिम

‎आजको युवा पुस्ता पारदर्शिता, परिणाम, प्रविधि र नयाँ सोच खोज्छ । ‎उनीहरूलाई केवल कार्यक्रमको सहभागी वा सदस्य बनाएर पुग्दैन । ‎उनीहरूलाई नीति निर्माण, नेतृत्व विकास र संस्थाको भविष्य निर्माणमा वास्तविक भूमिका दिनुपर्छ । ‎आजका युवालाई अवसर नदिए भोलिको नेतृत्व कसरी तयार हुन्छ ? ‎त्यसैले ‘एनआरएनए’ ले नयाँ पुस्तालाई दर्शक होइन, साझेदार बनाउनुपर्छ।

‎८. विश्वास गुम्यो भने संस्था कमजोर हुन्छ

‎कुनै पनि सामाजिक संस्थाको सबैभन्दा ठूलो पूँजी पैसा होइन, ‎विश्वास हो । ‎समुदायले संस्था निष्पक्ष छ, पारदर्शी छ र सबैको साझा संस्था हो भन्ने विश्वास गर्न सक्यो भने संस्था बलियो हुन्छ । ‎तर निरन्तर विवाद, अपारदर्शिता, पक्षपात र व्यक्तिगत स्वार्थ देखियो भने त्यो विश्वास विस्तारै कमजोर हुन्छ । ‎एकपटक गुमेको विश्वास पुनः प्राप्त गर्न धेरै समय लाग्छ ।

‎अब सुधारको बाटो के ?

‎आलोचना गर्नु मात्र पर्याप्त छैन । अब ‘एनआरएनए’ ले आत्मसमीक्षा गर्दै केही आधारभूत सुधारतर्फ अघि बढ्न आवश्यक छ—
‎
१. संस्था व्यक्तिभन्दा माथि राख्ने।

‎२. नेतृत्वमा योग्यता, योगदान र इमानदारीलाई प्राथमिकता दिने।

‎३. आर्थिक गतिविधि पूर्ण रूपमा पारदर्शी बनाउने।

‎४. पद र आर्थिक योगदानबीच स्पष्ट दूरी कायम गर्ने।

‎५. गुट–उपगुटभन्दा संस्थागत एकतालाई प्राथमिकता दिने।

‎६. राजनीतिक प्रभावबाट संस्थागत निर्णयलाई मुक्त राख्ने।
‎
७. युवा र सक्षम नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने।

‎८. नेतृत्वलाई समुदायप्रति जवाफदेही बनाउने।

‎९. सदस्यको आवाजलाई निर्णय प्रक्रियामा वास्तविक स्थान दिने।

‎१०. पदको प्रतिस्पर्धाभन्दा सेवा र परिणामको प्रतिस्पर्धा गर्ने संस्कार विकास गर्ने।

‎’एक पटकको नेपाली, सधैँको नेपाली’ केवल एउटा नारा होइन । यो संसारभरका नेपालीलाई जोड्ने साझा भावना, जिम्मेवारी र प्रतिबद्धता हो । ‎’एनआरएनए’ को वास्तविक शक्ति निर्वाचनमा होइन, नेपालीको विश्वासमा छ। ‎यसको वास्तविक शक्ति पदमा होइन, सेवामा छ ।  ‎यसको वास्तविक शक्ति गुटमा होइन, एकतामा छ ।

‎(लेखक गैरआवासीय नेपाली संघ, डेनमार्कका अध्यक्ष हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?