News Summary
Generated by OK AI. Editorially reviewed.- समग्र सेयर बजार घट्दा सोमबार उत्पादन तथा प्रशोधन समूह १.०३ प्रतिशत बढ्यो, जसमा १५ कम्पनीमध्ये १० को मूल्य बढ्यो।
- असार २४ को बाढीपछिको पुनर्निर्माणमा सिमेन्टको माग बढ्ने अपेक्षाले सोनापुर, घोराही, पाल्पा, शिवम् र सर्वोत्तम सिमेन्टको सेयर मूल्य बढ्यो।
- असोज ३० को मन्त्रिपरिषद् निर्णयअनुसार सडक निर्माणमा प्राविधिक रूपमा उपयुक्त ठाउँमा स्वदेशी सिमेन्ट प्रयोग गरेर कङ्क्रिट सडक बनाउनुपर्ने व्यवस्था गरिएको छ।
९ कात्तिक, काठमाडौं । सोमबार समग्र सेयर बजार घट्दा पनि उत्पादन तथा प्रशोधन समूह सूचक १.०३ प्रतिशत बढ्यो ।
यो समूहमा सूचीकृत रहेका १५ कम्पनीमध्ये १० को मूल्य बढ्यो । मूल्य बढेका १० कम्पनीमध्ये सबैभन्दा अगाडि सिमेन्ट कम्पनीहरु रहे । सोनापुरको ५.०७, घोराहीको ४.४७, पाल्पा सिमेन्टको २.६६, शिवम् सिमेन्टको १.९८ र सर्वोत्तम सिमेन्टको १.११ प्रतिशत मूल्य बढ्यो ।
समग्रमा सिमेन्ट कम्पनीहरुको मूल्य विगत ३ महिनादेखि नै बढिरहेको छ । असार २४ गते भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो मानवीयसँगै भौतिक क्षति मुलुकले भोग्यो ।
क्षति भएको भौतिक संरचना निर्माणका लागि ठूलो मात्रामा सिमेन्टसहित सामग्री जरुरत पर्दछ । पुनर्निर्माणकै लागि माग बढ्ने भएकाले सिमेन्ट कम्पनीको सेयर मूल्य असार अन्तिमबाट बढ्न थालेको हो । त्यसयता सूचीकृत ५ वटै सिमेन्ट कम्पनीको मूल्य बढेको छ ।
कुन कम्पनीको मूल्य कति बढ्यो ?
| कम्पनी | मूल्य, असार ३२ | मूल्य, कात्तिक ९ | वृद्धिदर % |
| सर्वोत्तम | ७७२ | ८१९ | ६.०८ |
| शिवम् | ६६१ | ६९६ | ५.२९ |
| पाल्पा | ५९५ | ६१४ | ३.१९ |
| सोनापुर | ४०१ | ४५६ | १३.७१ |
| घोराही | ३४० | ३९७ | १६.७६ |
सिमेन्ट कम्पनीका सेयर मूल्यमा चमक देखिनुका पछाडि बाढीपछिको पुननिर्माणमा माग बढ्ने र त्यसले बिजनेसलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा नै रहेको लगानीकर्ता बताउँछन् ।
‘ठूलो भौतिक संरचना पुनर्निर्माण गर्नुपर्नेछ, स्वभाविक रुपमा त्यसका लागि सिमेन्टको खपत बढ्नेछ, यसले सिमेन्ट कम्पनीको व्यापार बढ्न गई नाफामा प्रभाव देखिने अपेक्षा गर्नु अन्यथा होइन’ लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने ।
विभिन्न घटनाक्रमबाट सेयर बजार प्रभावित हुने र ती घटनाक्रमले विभिन्न क्षेत्रका कम्पनीलाई फरक फरक प्रभाव पार्ने उनले बताए । त्यहीं बाढीका कारण जलविद्युत् क्षेत्रका थुप्रै लगानीकर्ताले ठूलो रकम गुमाएको उनले बताए । पुनर्निर्माणका लागि निर्माण सामग्रीको माग बढ्ने भएकाले ती क्षेत्रमा सकारात्मक प्रभाव देखिएको उनको भनाइ छ ।
‘विगतमा भूकम्पपछिको पुनर्निर्माणका बेला पनि सिमेन्टको बिजनेस बढेको थियो, त्यसकारण अहिलेको बाढीपछिको पुननिर्माणमा पनि पक्कै बढ्नेछ’ उनले भने ।
त्यसबाहेक ढलानका क्रममा पनि सिमेन्टको प्रयोगलाई प्राथमिकता दिनेगरी मन्त्रिपरिषद् बैठकले असोज ३० गते गरेको निर्णयका कारण पनि सिमेन्ट कम्पनीका सेयरमा उत्साह बढेको छ ।
निर्णयअनुसार सडक निर्माणमा विदेशबाट आयात गरिने बिटुमिनमा आधारित कालोपत्रेको सट्टा प्राविधिक रूपमा उपयुक्त ठाउँमा स्वदेशी सिमेन्ट प्रयोग गरेर कङ्क्रिट सडक बनाउनुपर्ने व्यवस्था गरिएको छ । स्थानीय ढुङ्गा तथा अन्य उपयुक्त निर्माण प्रविधिलाई पनि प्राथमिकता दिइनेछ ।
गुणस्तर र प्राविधिक मापदण्ड पूरा गर्ने स्वदेशी सामग्री उपलब्ध भएमा सरकारी निकायले तिनको प्रयोग गर्नुपर्नेछ। सडक, पुल र भवनको डिजाइन तयार गर्दादेखि नै स्वदेशी विकल्पलाई समेट्नुपर्ने व्यवस्था छ ।
यसबाट आयातित बिटुमिनको खपत घटाउने, स्वदेशी सिमेन्ट उद्योगको बजार विस्तार गर्ने, रोजगारी सिर्जना गर्ने र आयात प्रतिस्थापन गर्ने सरकारको उद्देश्य छ ।
प्रतिक्रिया 4