News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाले स्थानीय तहका जनप्रतिनिधि हुन इच्छुकलाई प्रशिक्षण दिन स्थानीय सरकार सञ्चालन ऐन, पार्टी विधान र वाचापत्रमा आधारित पाठ्यक्रम बनाएको छ।
- पाठ्यक्रममा संविधान, संघीयता, बजेट, कर, न्यायिक समिति, डिजिटल सेवा, विपद् व्यवस्थापन र सार्वजनिक खरिदलगायत विषय समेटिएका छन्।
- महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको उम्मेदवार छनोट रूपरेखा पाठ्यक्रमलाई लिडरसिप एकेडेमीले आवश्यकता अनुसार थपघट र परिमार्जन गर्नेछ।
९ कात्तिक, काठमाडौं । रास्वपाले स्थानीय तहमा जनप्रतिनिधि हुन इच्छुक व्यक्तिलाई प्रशिक्षित गर्न पाठ्यक्रम बनाएको छ । नागरिकको सबैभन्दा नजिकको सरकारमा रहेर कार्य गर्ने गरी जनप्रतिनिधि हुन इच्छुकलाई प्रशिक्षित गर्न पाठ्यक्रम बनाइएको हो ।
रास्वपाले स्थानीय सरकार सञ्चालन ऐन, पार्टी विधान/नीति र वाचापत्रमा आधारित रहेर पाठ्यक्रम निर्माण गरेको छ ।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखामा जनप्रतिनिधि हुन इच्छुकका लागि प्रशिक्षित गराउने पाठ्यक्रमबारे जानकारी गराइएको छ ।
रास्वपाले १ भदौदेखि गाउँपालिका र २९ असोजदेखि नगरपालिकाका जनप्रतिनिधि हुन इच्छुकका लागि आवेदन खुला गरेको छ ।
स्थानीय तह निर्वाचनमा ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका, ४६० गाउँपालिबाट ३५ हजार २२१ जनप्रतिनिधि निर्वाचित हुने छन् । रास्वपाबाट उम्मेदवार हुन इच्छुकका लागि निर्वाचनअघि उनीहरूको काम, कर्तव्य र अधिकार पढाउने उद्देश्यले पाठ्यक्रम बनाइएको छ ।
स्थानीय तह उम्मेदवारका आकांक्षीले रास्वपाको लिडरसिप एकेडेमीले तयार गरेको पाठ्यक्रममा आधारित रहेर प्रशिक्षित हुनु पर्नेछ । जनप्रतिनिधि हुन इच्छुकका लागि पढाउन तयार गरिएको पाठ्यक्रम ‘हाइब्रिड प्रशिक्षण मोडल’ अवलम्बन गरी सञ्चालन गरिने रास्वपाले जानकारी गराएको छ ।
वडा सदस्यदेखि पालिका प्रमुखसम्मका सबै आकांक्षीले पार्टीले तय गरेको पाठ्यक्रमअनुसार अनिवार्य प्रशिक्षण लिएर आफ्नो योग्यता परीक्षण गर्नुपर्ने हुन्छ । उम्मेदवारका आकांक्षीसँग पार्टीको राजनीतिक दर्शन, वैचारिक स्पष्टता र सांगठनिक संस्कारको ज्ञान हुनुपर्छ ।
पार्टी विधान र सांगठनिक ढाँचा, विधान, आन्तरिक अनुशासन, निर्णय प्रक्रिया र प्रतिनिधिहरूको क्षेत्राधिकारसम्बन्धी ज्ञान हुनुपर्छ । उम्मेदवार हुन इच्छुकले रास्वपाको राजनीतिक मार्गचित्र, केन्द्रीय तथा स्थानीय चुनावी वाचापत्रको अध्ययन गरेको हुनुपर्छ ।
संविधान, संघीयता, स्थानीय व्यवस्थापिका लगायतमा पार्टीले प्रशिक्षित गर्ने भएको छ । प्रभावकारी सेवा प्रवाह, विकास निर्माण, घरदैलोमै सरकारी सेवाको सहज पहुँच र जनसहभागिता अभिवृद्धि गर्ने गरी आवेदकले कक्षा लिने छन् ।
पाठ्यक्रममा मौलिक हकहरू आधारभूत शिक्षा, स्वास्थ्य, आवास, खाद्य सम्प्रभुता, स्वच्छ वातावरण, सामाजिक न्याय लगायतका विषय समेटिएका छन् ।
तीन तहका सरकारको स्रोतको बाँडफाँट, अन्तर-सरकार बजेट हस्तान्तरण र अन्तरसम्बन्धलाई पाठ्यक्रमको विषयवस्तु बनाइएको छ ।
रास्वपाबाट उम्मेदवार हुन इच्छुक व्यक्ति स्थानीय कर सङ्कलन, स्थानीय सडक, खानेपानी लगायतमा रहेको पूर्ण अधिकारबारे पार्टीमामार्फत प्रशिक्षित हुने छन् ।
पाठ्यक्रममा तीन तहका सरकारको क्षेत्राधिकार, विधायिकी सीमा, स्थानीय सभाले बनाउने कानुन अन्तर प्रदेशसँग बाझिन नहुने विषय समेटिएको छ । रास्वपाले स्थानीय तहमा उम्मेदवार हुन इच्छुकलाई शक्ति पृथकीकरण, प्रमुख प्रशासकीय अधिकृतको नियुक्तिको प्रक्रिया लगायतमा प्रशिक्षित गर्नेछ ।
गाउँ/नगर कार्यपालिकाले स्वीकृत गर्ने नीति, योजना, बजेट कार्यान्वयन, दैनिक प्रशासन सञ्चालनको विधिबारे जनप्रतिनिधिका आकांक्षीले जानकारी लिने छन् । स्थानीय विवाद निरुपण, मेलमिलाप र छिनोफानोको प्रक्रिया जानकारी गराउन पार्टीले कक्षा दिनेछ ।
स्थानीय व्यवस्थापिका र संसदीय अभ्यास सभा सञ्चालन प्रक्रिया: गाउँ/नगर सभाको अधिवेशन आह्वान, सञ्चालन, कार्यसूची निर्माण र बैठक सञ्चालन नियमावलीलाई पाठ्यक्रमका विषयवस्तु बनाइएको छ ।
स्थानीय सरकारले प्राप्त गर्ने चार प्रकारका अनुदान समानीकरण, सशर्त, समपूरक र विशेषबारे पार्टीले जानकारी गराउने छ ।
सार्वजनिक खरिद, उपभोक्ता समिति गठन र यसमा हुने बेथितिका बारेमा उम्मेदवारका आवेदकलाई प्रशिक्षत गरिने गरी पाठ्यक्रम बनाइएको छ । यसमा हुने बेथितिसँगै त्यसलाई रोक्ने राजनीतीकरण र रोक्ने कानुनी उपायमा समेत प्रशिक्षित गरिने रास्वपाले जनाएको छ ।
डिजिटल सेवा प्रवाह, ई-गभर्नेन्सः नागरिक एप, राष्ट्रिय परिचयपत्र र व्यक्तिगत घटना दर्ता प्रणालीको ज्ञान प्रदान गरिने छ । तथ्याङ्कमा आधारित सुशासन र एआईको प्रयोगसमेत पाठ्यक्रमका विषय छन् ।
सामाजिक सञ्जालको सुरक्षित प्रयोग र साइबर बुलिङ रोकथाम, सामाजिक सञ्जालको प्रयोग, विद्युतीय कारोबार ऐनको जानकारी उम्मेदवार हुन इच्छुकले प्राप्त गर्ने छन् । गुनासो व्यवस्थापनका लागि ‘हेलो सरकार’ जस्तै प्रणाली स्थानीय सरकारमा विकास गर्न सकिने प्रणालीबारे पार्टीले जानकारी गराउने छ ।
विपदको समयमा स्थानीय सरकारको भूमिकाका बारेमा जानकारी गराउने गरी प्रशिक्षित गरिने भएको छ । पूर्वसूचना प्रणालीको सञ्चालन, बाढी, पहिरो, आगलागी जस्ता विपद्को सम्भावित क्षेत्रको पहिचान, सुरक्षित बस्ती विकासमा स्थानीय सरकारले गर्नसक्ने कार्यहरूबारे उम्मेदवारका आवेदकले जानकारी लिने छन् ।
रास्वपाबाट उम्मेदवार हुन इच्छुकका लागि व्यक्तिगत जीवन, आर्थिक पारदर्शिता, जीवनशैली, खर्च कटौती, वचत लगायतमा जानकारी लिनुपर्ने हुन्छ । साथै, आमसभा र घरदैलोमा बोल्ने कलासमेत पार्टीले सिकाउने छ ।
जनप्रतिनिधिका आकांक्षीले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको कार्यविभाजनको ज्ञान लिनुपर्ने हुन्छ । वडाध्यक्ष तथा वडा सदस्यका आकांक्षीले गर्ने कार्यमा अनिवार्य जानकार हुनुपर्छ ।
वडाबाट गरिने सिफारिस र दर्ता प्रक्रियाबारे जानकारी गराउने गरी ऐनका व्यवस्था पाठ्यक्रममा राखिएको छ । जन्म, मृत्यु, बसाइँसराइलगायत व्यक्तिगत घटना दर्ता, विपन्नता सिफारिस, नाता प्रमाणित, जग्गाधनी दर्ता, चारकिल्ला प्रमाणितमा ध्यान दिनुपर्ने विषयहरूमा रास्वपाले प्रशिक्षित गर्ने भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार पालिकाका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षका आकांक्षीका काम, कर्तव्य र अधिकारहरूबारे जानकारी गराइएको छ । बजेट निर्माण, योजना तर्जुमा, करका दर/दायरा लगायतमा पार्टीले प्रशिक्षित गर्ने भएको छ ।
न्यायिक समितिको क्षेत्राधिकार, इजलास सञ्चालन, प्रमाण सङ्कलन, फैसला लेखन, मेलमिलाप गराउने कानुनी प्रक्रिया पाठ्यक्रममा विषय छन् । बेरुजु हुन नदिन जनप्रतिनिधिले आन्तरिक नियन्त्रण प्रणालीको विकासबारे प्रशिक्षित गराउने भएको छ ।
महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा बनेको उम्मेदवार छनोट रूपरेखा पाठ्यक्रमलाई आवश्यकता र समयको मागअनुसार लिडरसिप एकेडेमीले थपघट तथा परिमार्जन गर्नसक्ने रास्वपाले जनाएको छ ।
प्रतिक्रिया 4