News Summary
Generated by OK AI. Editorially reviewed.- वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले एन्फा मुख्यालय खोल्ने र बैठक डाक्ने तयारी गरेका छन् ।
- एन्फा विधानको धारा ३१(२) अनुसार एक तिहाइ सदस्यको लिखित मागपछि पनि अध्यक्ष पंकजविक्रम नेम्बाङले २१ दिनसम्म बैठक नडाकेपछि उनीहरू अघि बढेका हुन् ।
- एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध खेल मिलेमतो र ठगीसम्बन्धी मुद्दा चलेको छ ।
११ कात्तिक, काठमाडौं । बहुमत सदस्यहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय खोल्ने भएका छन् । वरिष्ठ उपाध्यक्षसहित कार्यसमितिका ११ जनाले लिखित माग गर्दा पनि बैठक नडाकेपछि उनीहरू बैठक बस्ने तयारीमा पुगेका हुन् ।
एन्फाको विधानको धारा ३१(२) बमोजिम कार्यसमितिका एक तिहाइ वा सोभन्दा बढी सदस्यले लिखित माग गरेमा कार्यसमितिको बैठक अनिवार्य रूपमा बोलाउनुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार २२ दिनअघि बैठक आव्हान गर्न माग गरेका थिए । तर, अध्यक्ष पंकजविक्रम नेम्बाङले २१ दिनसम्म नडाकेपछि आफुहरु बैठकका लागि अगाडि बढेको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए । ‘विधानको व्यवस्थाअनुसार बैठकका लागि हामीले २१ दिनसम्म कुर्यौं । तर, अध्यक्षज्यूले बैठक डाक्नुभएन । अब मेरो नेतृत्वमा बैठक डाकेर आवश्यक निर्णय गर्छाैं’ उनले अनलाइन खबरसँग भने ।
उनीहरुले अहिले ललितपुर सादोबाटोमा रहेको मुख्यालयको तालामा खोल्दैछन् । ताला खोलेर १३ गतेको बैठकका लागि पत्र काट्ने एन्फा केन्द्रीय सदस्य टिकाराम लामाले जानकारी दिए । १३ गते बैठक बसेर सरकार, एएफसी र फिफालाई सहजीकरणका लागि पत्र लेख्ने लामाले बताए ।
खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध मुद्दा चलाएको थियो ।
जोशी र पाण्डे धरौटीमा छुटेका छन् भने नेम्वाङ र राई भने अदालतमा उपस्थित भएका छैनन् । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्र्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट २४ जुन यता एन्फा निलम्बनमा छ ।
प्रतिक्रिया 4