News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी बौद्ध विश्वविद्यालयले इन्जिनियरिङ, व्यवस्थापन र पर्यटनका विद्यार्थीलाई फरक फ्याकल्टी उल्लेख गरिएको ट्रान्सक्रिप्ट दिएपछि विद्यार्थी अन्योलमा परेका छन् ।
- विश्वविद्यालय सभाले शैक्षिक कार्यक्रमलाई मूल बौद्ध अध्ययन र प्रयुक्त बौद्ध अध्ययन गरी दुई भागमा वर्गीकरण गरी प्राविधिक विषयलाई प्रयुक्त बौद्ध अध्ययनअन्तर्गत राखेको छ ।
- रजिस्ट्रार इन्द्र काफ्लेले ट्रान्सक्रिप्टमा भएको फरक फ्याकल्टी प्राविधिक त्रुटि भएको र करेक्सन गर्न सकिने बताएका छन् ।
११ कात्तिक, बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले इन्जिनियरिङ, व्यवस्थापन, पर्यटन लगायतका व्यावसायिक शैक्षिक कार्यक्रम अध्ययन गरेका विद्यार्थीले प्राप्त गर्ने प्रमाणपत्रमा फ््याकल्टी फरक बनाएर ट्रान्सक्रिप्ट दिएपछि विद्यार्थीहरू तनावमा परेका छन् ।
विगतमा डेभलपमेन्ट स्टडी एन्ड एप्लाइड साइन्सअन्तर्गत सञ्चालित इन्जिनियरिङ र सामाजिक शास्त्र संकायअन्तर्गत सञ्चालित व्यवस्थापन एवं पर्यटनलगायतका व्यावसायिक शैक्षिक कार्यक्रमलाई सरोकारवालासँग छलफल नै नगरी एकमुष्ट प्रायोगिक बौद्ध अध्ययन संकायअन्तर्गत राखेपछि आफूहरूको करिअर र भविष्यमा समस्या भएको विद्यार्थीको गुनासो छ ।
विश्वविद्यालयबाट सम्बन्धनप्राप्त लुम्बिनी इन्टरनेसनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी ललितपुरका नवौं ब्याचका विद्यार्थी नवीन अधिकारीले आफूले पढेको फ्याकल्टीभन्दा फरक फ्याकल्टी एप्लाइड बुद्धिस्ट स्टडिज उल्लेख गरेर ट्रान्सक्रिप्ट आउँदा अन्योल भएको बताए ।
‘बौद्ध विश्वविद्यालयले एउटै ब्याचका विद्यार्थीको ट्रान्सक्रिप्टमा अलगअलग फ्याकल्टी उल्लेख गरेर प्रमाणपत्र दिएपछि बढुवा लगायतका करिअरमा के हुने हो भन्ने अन्योल थपिएको छ,’ अधिकारीले भने, ‘विश्वविद्यालयको गल्तीलाई मन्त्रालयले नै कानुनी र शैक्षिक आधार स्पष्ट गर्नुपर्छ ।’
अर्का विद्यार्थी प्रनेश श्रीवास्तवले पनि विज्ञान संकायअन्तर्गत विपद व्यवस्थापन विषय अध्ययन गरेकामा एप्लाइड बुद्धिस्ट फ्याकल्टीको ट्रान्सक्रिप्ट आएपछि तनावमा परेको बताए ।
आफू बढुवा र विद्यावारिधिको प्रक्रियामा रहेकोमा लोकसेवा आयोग र विश्वविद्यालय दुवैबाट कुनै स्पष्ट जवाफ र रेस्पोन्स नपाउँदा अन्योलमा परेको उनले बताए ।
‘इन्रोलमेन्ट गर्दा जुन फ्याकल्टी उल्लेख हुन्छ, त्यहीअनुसार ट्रान्सक्रिप्ट आउनुपर्ने हो । तर चेन्ज भएर आउँदा विद्यार्थीको करिअर र भविष्य अन्योलमा परेको छ,’ श्रीवास्तवले भने, ‘विश्वविद्यालयले किन यसो गरेको हो, बुझ्न सकेका छैनौं । कतैबाट स्पष्ट जवाफ पाइँदैन ।’

नयाँ संकाय संरचना लाग गर्नुअघि सम्बन्धित विषयका नियामक निकायबाट मान्यता, प्रमाणपत्रको समकक्षता र विद्यार्थीको पेसागत भविष्य सुरक्षित हुने प्रत्याभूति दिनुपर्ने आवश्यकता देखिएको छ,’ खनाल भन्छन्, ‘विद्यार्थीले भर्ना हुँदा अध्ययन गर्न स्वीकार गरेको विषय र पछि प्राप्त गर्ने प्रमाणपत्रको सङ्कायगत पहिचान फरक पर्दा उत्पन्न हुने समस्या समाधान गर्नु विश्वविद्यालयकै जिम्मेवारी हो । विद्यार्थीलाई अन्योलमा पार्न पाइँदैन ।’
क्याम्पसका १२० बढी विद्यार्थीमा यस्तै समस्याले अन्योल थपेको उनको भनाइ छ । विश्वविद्यालयको स्वायत्तता महत्वपूर्ण भए पनि त्यसको प्रयोग विद्यार्थीको शैक्षिक अधिकार र भविष्यलाई जोखिममा पार्ने गरी हुन नहुने उनी बताउँछन् ।
गत असार २६ गते शिक्षा मन्त्रालयमा सम्पन्न विश्वविद्यालय सभाको बैठकले विश्वविद्यालयका शैक्षिक कार्यक्रमलाई मूल बौद्ध अध्ययन र प्रयुक्त बौद्ध अध्ययन गरी दुई भागमा वर्गीकरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार इन्जिनियरिङ, व्यवस्थापन, पर्यटन, ग्रामीण विकास, विपद जोखिम व्यवस्थापन तथा कृषि वनसम्बन्धी कार्यक्रमलाई प्रयुक्त बौद्ध अध्ययन संकायअन्तर्गत राखिएको छ ।
यो निर्णयले इन्जिनियरिङ र व्यवस्थापन अध्ययन गरेका विद्यार्थीले बौद्ध अध्ययन संकायअन्तर्गत प्राप्त गर्ने प्रमाणपत्र नेपाल तथा विदेशमा सम्बन्धित विषयकै प्रमाणपत्रका रूपमा स्वीकार गरिने सुनिश्चितता कसले दिने भन्ने प्रश्न खडा भएको र विद्यार्थीहरू आफ्नो करिअर अन्योलमा पर्ने चिन्तामा परेका छन् ।
विश्वविद्यालयले सञ्चालन गर्दै आएका विभिन्न विषयलाई एउटै संकायमा समेट्ने निर्णयको शैक्षिक औचित्य, कानुनी आधार र त्यसबाट विद्यार्थीको प्रमाणपत्रमा पर्न सक्ने प्रभावबारे पर्याप्त अध्ययन नगरिएको भन्दै आलोचना सुरु भएको छ ।
विशेषगरी संरचनात्मक इन्जिनियरिङ, निर्माण इन्जिनियरिङ तथा व्यवस्थापन, विपद् जोखिम इन्जिनियरिङ तथा व्यवस्थापन जस्ता प्राविधिक विषयलाई बौद्ध अध्ययनसँग जोडिएको संकायअन्तर्गत राख्दा विद्यार्थीले भविष्यमा अन्य विश्वविद्यालयमा अध्ययन गर्न, प्रमाणपत्रको समकक्षता प्राप्त गर्न, सरकारी सेवामा प्रवेश गर्न तथा पेसागत मान्यता हासिल गर्न कठिनाइ भोग्नुपर्ने क्याम्पसका अध्यक्ष डीआर घिमिरे बताउँछन् ।
सिनेटबाट अन्य विषयलाई प्रायोगिक बौद्ध अध्ययनको नामकरण गर्ने विषयमा हालका रजिस्ट्रारको भने अर्कै स्वार्थ रहेको सरोकारवालाले बताएका छन् । अहिले लुम्बिनी बौद्ध विश्वविद्यालयको शैक्षिक कार्यक्रमको विवादको विषय भनेको मुख्य रूपमा इन्जिनियरिङ र व्यवस्थापन हो ।
अहिलेका रजिस्ट्रार इन्द्र काफ्ले विश्वविद्यालय क्याम्पसको क्याम्पस प्रमुखको हैसियतले २०७० सालदेखि नै कार्यकारी परिषद् सदस्यको रूपमा कार्यरत छन् । काफ्ले विश्वविद्यालय क्याम्पसको तर्फबाट परिषद् सदस्य रहेकै बखत नरेशमान बज्राचार्य उपकुलपति थिए । उनीहरू जिम्मेवार पदमा रहेकै बेला २०७२ कात्तिक २५ गते इन्जिनियरिङ कलेजले सम्बन्धन पाएको थियो ।
त्यस्तै, ग्लोवल कलेज काठमाडौं लगायतले व्यवस्थापन विषयको सम्बन्धन प्राप्त गरेका थिए । तत्कालीन समयमा इन्जिनियरिङ तथा व्यवस्थापन विषय सम्बन्धन दिन सक्रिय भूमिका खेलेका हालका रजिस्ट्रार इन्द्र काफ्लेका लागि इन्जिनियरिङलाई विश्वविद्यालयको मूल शैक्षिक कार्यक्रममा पार्नुपर्ने बाध्यता नै थियो । त्यसैले सरकार त्यसप्रति सकारात्मक छ भन्ने जान्दाजान्दै काफ्लेकै अग्रसरतामा मिल्दै नमिल्ने इन्जिनियरिङलाई प्रायोगिक बौद्व संकायको जामा लगाइएको विश्वविद्यालयकै पदाधिकारीहरू बताउँछन् ।
यसअघि पनि लुम्बिनी बौद्ध विश्वविद्यालयबाट प्रदान गरिएका केही उपाधिको मान्यतासम्बन्धी विवाद उत्पन्न भएको थियो ।
विश्वविद्यालयबाट पर्यटन व्यवस्थापन अध्ययन गरेका केही विद्यार्थीले मानविकी संकायअन्तर्गत प्रमाणपत्र प्राप्त गर्दा विदेशका विश्वविद्यालयमा त्यसको समकक्षतामा समस्या परेपछि विद्यार्थीहरूले विश्वविद्यालयमा पत्राचार गरेका थिए ।
त्यस्तै, त्रिविका एक अध्यापकले यसरी नै विद्यावारिधि उपाधि लिएपछि बढुवा प्रयोजनमा समस्या भएर उनले दोस्रो विद्यावारिधि गर्नुपरेको थियो ।
विश्वविद्यालयका कामचलाउ उपकुलपति माणिकरत्न शाक्य लामो समयदेखि विश्वविद्यालयको शैक्षिक नेतृत्वमा संलग्न रहेको र विगतमा सञ्चालनमा आएका कार्यक्रमको संरचनासँग समेत उनको भूमिका रहे पनि यस पटक उनले विगतको प्रबन्ध, विश्वविद्यालयीय प्रचलन र विद्यार्थीको भविष्यमाथि चरम खेलवाड गरेको विद्यार्थीहरूको आरोप छ ।
विश्वविद्यालय सभाको निर्णयमा शिक्षा मन्त्रालयका उच्च पदाधिकारीको समेत सहभागिता रहेको सरोकारवालाको दाबी छ ।
सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ मा अध्यादेशमार्फत संशोधन गरी विश्वविद्यालयका पदाधिकारीको योग्यतामा बौद्ध अध्ययनसम्बन्धी स्नातकोत्तर वा विद्यावारिधि उपाधिलाई प्राथमिकता दिएको छ ।
तर, विश्वविद्यालय सभाले इन्जिनियरिङ र व्यवस्थापन जस्ता प्राविधिक तथा व्यावसायिक विषयलाई प्रायोगिक बौद्ध अध्ययन संकायअन्तर्गत राखेपछि सो फ्याकल्टीअन्तर्गत उत्तीर्ण इन्जिनियरिङ, कानुन वा व्यवस्थापन जुनसुकै विषयमा भएको अध्ययनले पनि विश्वविद्यालयको पदाधिकारी हुने अवस्था बनाएको छ । यो अवस्थाले सरकारी नीतिको उद्देश्य र विश्वविद्यालयको शैक्षिक वर्गीकरणबीच सामञ्जस्य नरहेको देखाएको अध्यक्ष घिमिरेले बताए ।
विश्वविद्यालयका रजिस्ट्रार इन्द्र काफ्लेले आफूहरूले सिनेटले गरेको निर्णय कार्यान्वयन गरेको र ट्रान्सक्रिप्टमा फ्याकल्टी फरक पर्दा त्यस्तो समस्या नहुने दाबी गरे । ‘टेक्निकल इरर भएर त्यस्तो भएको हो, विद्यार्थीलाई समस्या पर्दैन, करेक्सन गर्न सकिन्छ,’ काफ्लेले भने ।
तर, विश्वविद्यालयका एक पूर्वपदाधिकारीले विश्वविद्यालयको विगतको नेतृत्व र पूर्ववर्ती सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई लुम्बिनी, बुटवल र देवदहमा तीन जना डिनसहित शक्तिशाली विश्वविद्यालयका रूपमा विकास गर्ने र देवदहमा मात्रै चिनियाँसहित हजारौं विदेशी विद्यार्थीले अध्ययन गर्ने विश्वविद्यालय बनाउने योजना ल्याएकोमा अहिलेको सरकारले त्यसलाई तुहाएर विश्वविद्यालयप्रतिको आकर्षण कमजोर बनाउन लागेको आरोप लगाए ।
विगतमा भएका राम्रा काम र निर्णयलाई पूर्वाग्रही दृष्टिकोणले मात्र हेरेर नयाँ निर्णय र ऐन बनाउँदा देवदहमा अर्बौं रुपैयाँको परियोजना तुहिन लागेको उनले बताए । यस सम्बन्धमा सरोकारवाला सबैको ध्यान जानुपर्ने र देवदहको परियोजना कार्यान्वयनका लागि दबाब दिनुपर्ने उनले आग्रह गरे ।
प्रतिक्रिया 4