News Summary
Generated by OK AI. Editorially reviewed.- दुर्गेश थापाले ‘दुश्मन हेरेको हेर्यै’को पारिश्रमिक नदिएको गुनासो गरेपछि आनन्द कार्कीले सामाजिक सञ्जालमा भुक्तानीमा ढिलाइ भएको बताएका छन्।
- कार्कीका अनुसार गीतको पारिश्रमिक करिब एक वर्षपछि मात्र प्राप्त भयो र पटक–पटक सम्पर्क गर्दा पनि समस्या समाधान भएको थिएन।
दुर्गेश थापाको चर्चित गीत ‘दुश्मन हेरेको हेर्यै’ मा बरिष्ठ गायक आनन्द कार्की भन्छन्– ‘भाइको दुश्मन छन् धेरै, दुश्मन हेरेकै हेर्यै…’ । गीतको भावअनुसार दुर्गेशका दुश्मन ‘हेरेको हेर्यै’ भएकोमा कार्की खुसी मनाइरहेका देखिन्छन् ।
गीतभित्र दुर्गेशका दुश्मन जिल्ल पर्दा खुसी देखिएका आनन्द कार्की दुर्गेशकै कारण दु:खी देखिए । दुर्गेशको व्यवहारबारे कार्कीले केही तितो पोखे ।
दुश्मन हेरेकै हेर्यै.. भन्दै सँगै नाचेका यी दुई कलाकारबीच असमझदारी देखियो । अनि, कारण बन्यो यही गीतको पारिश्रमिक।
केही दिनअघि एक अन्तर्वातामा कार्कीले ‘दुश्मन हेरेको हेर्यै’ गाएबापत दुर्गेशले पारिश्रमिक नदिएको कुरा उठाए । उक्त गीतकै कारण दुर्गेशले धेरै कमाएको, देश–विदेश दौडिरहेको तर आफ्नो भने पारिश्रमिक नदिएको र कुनै रेस्पोन्स समेत नगरेको उनको गुनासो थियो ।
आनन्द कार्कीको यस्तो अभिव्यक्तिपछि समाजिक सञ्जालमा दुर्गेशको निकै आलोचना भयो । अनि दुर्गेशले गीतको भुक्तानी भइसकेको भनी आफ्नो लामो भनाइसहित सही गरेको कागज सामाजिक सञ्जालमा राखे।
‘दुश्मन हेरेको हेर्यैमा’ गीतमा सहकार्य गर्नुभएका सम्पूर्ण कलाकार तथा प्राविधिकहरूको पारिश्रमिक सम्बन्धित समयमै भुक्तानी गरिसकिएको स्पष्ट पार्न चाहन्छु’ उनले भनेका छन्, ‘उक्त गीतमा सहकार्य गर्नुभएका आदरणीय आनन्द कार्कीज्यूसँग सहमति भएको पारिश्रमिकसमेत भुक्तानी गरिसकिएको छ ।’

आखिर ढाँट्यो चाहिँ कसले त ?
यसबारे स्पष्ट पार्न आज गायक कार्कीले फेसबुकमा आफ्ना धारणाा सार्वजनिक गरेका छन् । रकम नपाउनु भन्दा पनि यसमा भएको ढिलाइको विषयमा आफ्नो असन्तुष्टि रहेको कार्कीले बताएका छन् ।
‘मेरो असन्तुष्टि रकममा मात्र होइन, भुक्तानीमा भएको ढिलाइ, संवादको अभाव र व्यावसायिक जिम्मेवारीप्रतिको अपेक्षासँग पनि सम्बन्धित छ कार्कीले भनेका छन्, ‘लामो समयसम्म मैले आफ्नो पारिश्रमिक प्राप्त गर्न सकिनँ । पटक–पटक फोन, एसएमएस र मेसेन्जरमार्फत सम्पर्क गर्दा पनि समयमै समस्या समाधान हुन सकेन । पारिश्रमिक प्राप्त भए पनि त्यसका लागि करिब एक वर्ष कुर्नुपरेको यथार्थ महत्त्वपूर्ण छ।’
भएको के थियो भनेर आनन्द कार्कीले एक अन्तर्वार्तामै यो कुरा यो कुरा खुलाएका थिए ।
कार्कीका अनुसार गीत गाएको लामो समयसम्म पनि दुर्गेशले पारिश्रमिक दिएका थिएनन् । सम्झाउँदा पनि कुनै रेस्पोन्स गरेनन् । पछि कपीराइटको समस्या भएपछि त्यो केस मिलाउनका लागि आनन्द कार्कीको सही चाहिने भएकाले दुर्गेशले एक जना सहयोगी पठाएका थिए । त्यतिबेला कार्कीले फोन गरेर आफूले यो गीतको पारिश्रमिक नपाएको सम्झाए । त्यसपछि २५ हजार दिने सहमति भएपछि कार्कीले सही गरे ।
त्यसबाहेक ‘रङ्गी’ चलचित्रका लागि गाएको गीतको पैसा अहिलेसम्म नपाएको कार्कीले बताएका थिए । दुर्गेशले यो गीतको पारिश्रमिकको दायित्य फिल्म निर्माण पक्षकै भएको दावी गरेका छन् । ‘रङ्गी’ शोभित बस्नेतले बनाएको फिल्म थियो । यस विषयमा शोभित बस्नेतसँग कुराकानी भइसकेको गायक कार्कीले बताएका छन्।
शोभितले कार्कीलाई बताएअनुसार उक्त गीतका लागि दुर्गेशलाई डेढ लाख रुपैयाँको प्याकेजमा जिम्मेवारी दिइएको थियो । गायक कार्कीलाई दुर्गेशले त्यहीबाटै पारिश्रमिक दिए होलान् भन्ने उनीहरूले ठानेका थिए । तर पनि पारिश्रमिक भुक्तानी गर्न भनी शोभितले क्यूआर मागेको र आफूले दिएको कार्कीले बताएका छन् ।
आफ्नो उद्देश्य कसैलाई बदनाम गर्नुन नभई कलाकारको श्रम, पारिश्रमिक र व्यावसायिक इमानदारीको विषयमा ध्यानाकर्षण गराउनु रहेको कार्कीले बताएका छन् ।
‘दुर्गेश बाबु, तिमी अझ सफल बन, नेपाली संगीत क्षेत्रमा नयाँ उचाइ हासिल गर । तर सफलतासँगै अरूको श्रमप्रतिको सम्मान, वचनप्रतिको प्रतिबद्धता र व्यावसायिक जिम्मेवारी पनि उत्तिकै बलियो बनोस् भन्ने मेरो अपेक्षा छ’ कार्कीले दुर्गेशलाई भनेका छन् ।
प्रतिक्रिया 4