+
+
Shares

ओलीको निर्देशन– देश गम्भीर अवस्थामा छ, आन्दोलन गर्न तयार रहनू

ओलीले भनेका छन्– अहिले भरे, भोलि, तिहारपछि, छठपछि होस् की तर हामी तयारी मानसिक रुपमा हुनुपर्छ । भित्रभित्रै तयारी रुपमा रहनुपर्छ । चुनाव आउँदैछ । जुन ढंगले गत चुनावमा अत्यन्तै नराम्रो ढंगले पराजित गर्न खोजेका छन्, यस पटकको चुनावबाट दिवा स्वप्नामा परिणत गरिदिनुपर्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते १७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेकाले देशको रक्षाका लागि आन्दोलनको विकल्प नरहेको बताउनुभयो ।
  • उहाँले सरकार फाँसीवादतर्फ अघि बढिरहेको आरोप लगाउँदै नेता, कार्यकर्तालाई तिहार वा छठपछि भए पनि आन्दोलनको तयारीमा रहन निर्देशन दिनुभयो ।
  • ओलीले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा एमाले बिनाको देश बनाउने योजनालाई दिवा स्वप्नामा परिणत गर्नुपर्ने बताउनुभयो ।

११ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको भन्दै देशको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनबाट भाग्न खोजे र आन्दोलन नगरे देशको रक्षा गर्न नसकिने दाबी गरे ।

‘देश क्रिटिकल अवस्थामा छ । यस अवस्थाबाट हामीले देशलाई पार लगाउनुपर्नेछ । यसका लागि हामी आन्दोलनका लागि तयार हुनुपर्छ । आन्दोलन सुन्नै नहुने टक्टक्याउने खालको मनस्थिबति पनि नबनाउँ । आन्दोलनले शक्ति आर्जन गर्ने हो । आन्दोलनले नै शक्ति आर्जन गर्दछ,’ ओलीले भने, ‘यति असहज र अफ्ठ्यारो स्थिति छ, आन्दोलन बाहेक अर्को कुराबाट हामी जान खोज्यो भने, आन्दोलन गर्ने आँट गरेनौं भने हामी सफल हुन सक्दैनौँ । आन्दोलनले टिकाउने हो । आन्दोलनले अघि बढाउने हो र आन्दोलनले जिताउने हो ।’

अध्यक्ष ओलीले दक्षिणपन्थी शक्तिहरू लोकतन्त्र, शान्ति भनेर चिच्याउने तर नेपालीलाई धोका दिइरहेको आरोप लगाए । सरकार बलजफ्ती अघि बढिरहेको आरोप लगाउँदै उनले नेपाल प्रहरी बर्दी बिना पक्राउ गर्न जाने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘अब दक्षिणपन्थी शक्तिहरू लोकतन्त्र, शान्ति भनेर घाँटीका नसा फुलिन्जेल कराउँछन्, दुनियाँलाई धोका दिन्छन् तर व्यवहार कस्तो गर्छन् भने मान्छे मराउने षड्यन्त्र गर्दछन् । त्यो मराएकोलाई हतियार बनाएर आगो लगाउने, लुटपाट गर्ने, ध्वस्त बनाउने, कुटपिट गर्ने, आतंक फैल्याउने षड्यन्त्र गर्दछन्,’ उनले भने, ‘कोही पनि मान्छे बोल्नै नसक्ने गरी आतंकको राज सिर्जना गरेको छ । बोल्यो की त पुर्जी, बोल्यो की त गिरफ्तारी, बोल्यो की त बिना बहिष्कार । पुलिससँग ड्रेस छैन ? डे«स नलगाएर, आवारा हो पुलिस ? गुण्डा हो पुलिस ? बिना बर्दी जाने, बलजफ्ती गरेर ढोका खोल्न लगाउने ? गुण्डा हो की को हो ? बलजफ्ती गरेर ढोका फोरेर भित्र पस्छ ।’

अध्यक्ष ओलीले सरकार फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको पनि बताए । उनले सिंगै राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेको बताए । तत्काल वा तिहार तथा छठपछि जहिले भएपनि आन्दोलनको मानसिकताका साथ तयारी अवस्थामा रहन पार्टीका नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए ।

‘एनार्किस्ट राज्य छ, फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको छ । यस्तो अवस्थामा सिंगै राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेको अवस्थामा हामी छौं । हामीले आन्दोलनकारी ढंगले अघि बढ्नुको विकल्प छैन,’ उनले भने, ‘अहिले भरे, भोलि, तिहारपछि, छठपछि होस् की तर हामी तयारी मानसिक रुपमा हुनुपर्छ । भित्रभित्रै तयारी रुपमा रहनुपर्छ । चुनाव आउँदैछ । जुन ढंगले गत चुनावमा अत्यन्तै नराम्रो ढंगले पराजित गर्न खोजेका छन्, यस पटकको चुनावबाट दिवा स्वप्नामा परिणत गरिदिनुपर्छ ।’

अध्यक्ष ओलीले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा एमाले बिनाको देश बनाउने योजनालाई दिवा स्वप्नामा परिणत गरिदिने गरी निर्वाचनमा जुट्न पनि निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?