+
+
Shares

धम्पुसमा राजेन्द्र ह*त्या प्रकरणः मदिराको उत्तेजना र प्रतिशोधको परिणाम

एकको ज्यान जाँदा ५ जना हिरासतमा

त्यहीबीचमा राजेन्द्र पनि पुगे र उनीहरूबीच उही मदिराकै माहोलमा सामान्य विवाद सुरु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

अमृत सुवेदी अमृत सुवेदी
२०८३ कात्तिक ११ गते २०:३१

११ कात्तिक, पोखरा । मदिराको नशा, क्षणिक आवेग र सामान्य भनाभनले कतिसम्म रूप लिन सक्छ भन्ने कुराको पीडादायी उदाहरण बनेको छ–कास्कीमा २२ वर्षीय राजेन्द्र पौडेलको हत्या प्रकरण ।

रमाइलोका लागि युवाहरूले सँगै बसेर खाएको मदिराको उत्तेजनाले बढेको विवाद र प्रतिशोधले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ का राजेन्द्रले ज्यान गुमाए भने ५ जना प्रहरी हिरासतमा पुगेका छन् ।

कात्तिक ८ गते साँझ गाउँकै लिलबहादुर पुन, आशिष गुरुङ, महादेव विक र मिलन विक सँगै बसेर मादक पदार्थ सेवन गरिरहेका थिए ।

त्यहीबिचमा राजेन्द्र पनि पुगे र उनीहरूबीच उही मदिराकै माहोलमा सामान्य विवाद सुरु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

त्योभन्दा अगाडि आफ्नै दिदी र भिनाजु घरमा आएका बेला राजेन्द्रले आफ्नो हराएको मोबाइल खोजे, पाएनन् । उनले भिनाजु विष्णुप्रसाद गौतमसँग मोबाइल मागे । तर, भिनाजुले दिन नमानेपछि उत्पन्न रिसको झोकमा राजेन्द्रले भिनाजुको मोबाइल नै फुटाइदिएर त्यहाँबाट हिँडे । रिसकै झोंकमा हिँडेका राजेन्द्र मदिरा पिइरहेका लिलबहादुरलगायत युवाहरू भएको ठाउँमा पुगेका थिए ।

कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार कुराकानी बिग्रँदै जाँदा रिसको पारो चढेका राजेन्द्रले लिलबहादुरको मौरीको घारमा लात हान्दिए । स्थिति थप तनावपूर्ण बन्यो ।

घर फर्किएका राजेन्द्र फेरि आक्रोशित हुँदै हँसिया लिएर त्यहाँ पुगे । विवादकै क्रममा राजेन्द्रले हँसिया प्रहार गरे । त्यो झडपमा मीलन विकको घाँटीमा र आशिष गुरुङको खुट्टामा चोट लाग्यो ।

आवेगलाई रोक्दै उनीहरू त्यहाँबाट छुट्टिए र आ–आफ्नो घरतिर लागे । तर, हँसिया प्रहार खाएकाहरूको प्रतिशोध भने उम्लिरहेको थियो ।

‘उसले त्यत्रो हँसिया प्रहार गरेको छ । हामी त उसका अगाडि निरीह पो बन्यौं भनेर केही गाउँका युवालाई फोन गरे । फेरि उनले फोन गरेर ५ जना जम्मा भएर राजेन्द्र घरमा पुगेर भाटा, लौरोलगायतले हानेको बुझिन्छ,’ कास्की प्रहरी प्रमुख कार्कीले भने, ‘मदिराबाट उब्जिएको विवाद र प्रतिशोधले एक जनाको ज्यान गयो, ५ जना अनुसन्धानका लागि हिरासतमा छन् ।’

साँझको रिस मदिराको नशासँगै साम्य भएन, प्रतिशोधको ज्वाला भएर सल्कियो । कास्की प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानका अनुसार राति अन्दाजी ११: ५९ बजेको समयमा आशिष गुरुङले विक्रम पुन र लिल बहादुर पुनलाई फोन गरेर बोलाएका थिए । त्यसपछि मिलन विक, महादेव विक, आशिष, विक्रम र लिल बहादुर गरी पाँचै जना मिलेर ‘अब यसलाई छाड्नु हुँदैन’ भन्दै राजेन्द्रको घरमै धावा पुगेका थिए ।

घरमा सुतिरहेका राजेन्द्रमाथि उनीहरूले बाँसको भाटा, मुक्का र लात्तीले निर्घात प्रहार गरेको उनले बताए ।

शरीरभरि निलडाम र गहिरो चोट पुर्‍याएपछि उनीहरूले घाइते राजेन्द्रलाई घिसार्दै घरभन्दा करिब ५० मिटर पूर्वको बारीको पाटामा लगेर छाडिदिए ।

राजेन्द्रले राति आफ्नी आमासँग सिरक मागेर त्यही बारीमै ओढेर सुते । तर, त्यो रातको चिसो र शरीरको चोटले राजेन्द्र बिहान ब्युँझिएर हिँडेनन् ।

स्थानीयहरूले राजेन्द्र आफ्नै घर नजिकैको बारीको पाटामा नग्न र मृत अवस्थामा फेला परेको खबर प्रहरीले पायो ।

सूचना प्राप्त हुनासाथ प्रहरी चौकी धम्पुसबाट तत्काल टोली खटिई घटनास्थल सुरक्षित पुग्यो । घटनाको गम्भीरतालाई मध्यनजर गर्दै नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट ‘सोको विशेष अनुसन्धान टोली नै घटनास्थलमा परिचालन भएर अनुसन्धान थालेको हो ।

प्रारम्भिक अनुसन्धानबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई अदालतबाट ५ दिनको म्याद थपेर गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरीले वडा नम्बर ७ धम्पुसका ३० वर्षीय बिक्रम पुन, २३ वर्षीय आशिष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक र ३८ वर्षीय लिलबहादुर पुनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो घटनाले सिंगो धम्पुस गाउँ नै स्तब्ध बनेको छ । मृतक राजेन्द्र टुरिस्ट पोर्टरको काम गर्थे । ‘जाँड खाने र झैझगडा गर्ने त यसअघि पनि भइरहन्थ्यो तर यसपटक दुखद घटना घट्यो । जसले गाउँलाई नै स्तब्ध बनाएको छ,’ पूर्ववडाध्यक्षसमेत रहेका स्थानीय सोमबहादुर गुरुङले भने ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?