News Summary
Generated by OK AI. Editorially reviewed.- एनपीएलमा बुधबार सुदूरपश्चिम र पोखराबीचको खेलमा डीआरएसले चार अम्पायर निर्णय उल्ट्याउँदै खेललाई थप निष्पक्ष बनायो।
- पोखराका महेदी हसन, दिनेश खरेल र कुशल भुर्तेल डीआरएसले जोगिए भने सुदूरपश्चिमका ब्रान्डन म्याकमलेन एलबीडब्लू आउट भए।
- खेलपछि सुदूरपश्चिमका इशान पाण्डेले डीआरएस नेपाली क्रिकेटका लागि ठूलो स्टेप भएको बताए।
१२ कात्तिक, काठमाडौं । तेस्रो संस्करणको एनपीएलअन्तर्गत बुधबार भएको खेलमा पहिलो ओभरको दोस्रो बलमै तीव्र गतिका बलर हेमन्त धामीले पोखरा एभेन्जर्सका ओपनर महेदी हसनविरुद्ध एलबीडब्लूको अपिल गरे । बलर एन्डमा रहेका बंगलादेशी अम्पायर मसुदुर रहमानले औँला उठाउँदै पहिलो बलको सामना गरेका हसनलाई आउट दिए । तर, हसनले अम्पायरको निर्णय चित्त बुझेन । उनले नेपालमा पहिलोपटक प्रयोगमा ल्याइएको डिसिजन रिभ्यू सिस्टम (डीआरएस) को सहारा लिए । डीआरएस अम्पायरको निर्णय चित्त नबुझेमा खेलाडीले फेरि पुनः चेकका लागि अपिल गर्न मिल्ने प्रविधि हो ।
रिभ्यूमा बलले विकेट मिस गर्ने देखिएपछि अम्पायर रहमानको निर्णय उल्टियो र हसन गोल्डेन डकआउट हुनबाट जोगिए । डीआरएसबाट जोगिएका उनले पोखराका लागि २१ बलमा ३२ रनको योगदान दिए ।
तेस्रो ओभरको दोस्रो बलमा सुदूरपश्चिम रोयल्सका बलर हेमन्तले गरेको बलिङमा पोखराका ब्याटर दिनेश खरेलको ब्याटमा लागेर बल विकेटकिपर विनोद भण्डारीको हातमा पुग्यो । हेमन्त, विनोदसहित सुदूरपश्चिमका खेलाडीले आउटको अपिल गरे । तर, अम्पायर रहमानले आउट दिएनन् । त्यसपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले डीआरएस लिए । रिभ्यूपछि बल ब्याटको एजमा लागेर विकेटकिपरको हातमा पुगेको अर्थात् ‘कट बिहाइन्ड’ भएको देखिएपछि अम्पायर रहमानको निर्णय उल्टियो । दिनेश ४ रनमा आउट भए ।

त्यसको अर्काे बलमा हेमन्तले पोखराका कप्तान कुशल भुर्तेललाई बलिङ गरे । बल कुशलको खुट्टामा लागेपछि हेमन्तसहित सुदूरपश्चिमका खेलाडीले जोडदार रूपमा एलबीडब्लूको अपिल गरे । अम्पायर रहमानले औँला उठाउँदै कुशललाई आउट दिए । तर, कुशलले अम्पायरको निर्णयमा चित्त बुझाएनन् र डीआरएस लिए । डीआरएस रिभ्यूमार्फत बलले विकेट मिस गर्ने देखिएपछि अम्पायरको निर्णय उल्टियो । यससँगै कुशल गोल्डेन डकआउट हुनबाट जोगिए । त्यसपछि उनले पोखराका लागि १७ बलमा २१ रनको योगदान दिए ।
दोस्रो इनिङको पाँचौँ ओभरको चौथो बलमा सुदूरपश्चिमका ब्रान्डन म्याकमलेनविरुद्ध पोखराका शाकिब अल हसनले एलबीडब्लूको अपिल गरे । तर, अम्पायर रहमानले त्यसलाई स्वीकार गरेनन् । पोखराले भने हार मानेन । कप्तान कुशलले डीआरएस लिए । डीआरएस रिभ्यूले ब्रान्डन म्याकमलेन एलबीडब्लू आउट भएको देखिएपछि अम्पायर रहमानको निर्णय उल्टियो । यससँगै ब्रान्डन शाकिब अल हसनको बलमा एलबीडब्लू आउट भए । नेपालमा पहिलोपटक भित्रिएको डीआरएस प्रविधिले बुधबार एउटै खेलमा अम्पायरका चार निर्णयलाई उल्टाइदियो । जसले खेलको निष्पक्षतालाई समेत बढवा दियो । उक्त खेलमा अम्पायरका केही निर्णयलाई डीआरएस प्रविधिले सदर पनि गरेको थियो ।
यदि सुदूरपश्चिम र पोखराबीचको खेलमा डीआरएस प्रविधि नभएको भए हसन र कुशल गोल्डेन डकआउट हुन्थे । एज लागेर क्याच आउट भएका दिनेश तेस्रो ओभरको दोस्रो बलमा आउट हुने थिएनन् । डीआरएसमार्फत एलबीडब्लूको शिकार बनेका ब्रान्डन शाकिबको बलमा आउट नहुन पनि सक्थे । तर, डीआरएस प्रविधिको प्रयोगले खेललाई झनै रोचक, प्रतिस्पर्धात्मक र निष्कक्ष बनाउन सहयोग गरेको छ । तर, पहिलोपटक भित्रिएको डीआरएस प्रविधि प्रयोगमा भने अम्पायरहरु अभ्यस्त नभएको प्रष्ट देख्न सकिन्थ्यो । सामान्यतया डीआरएसबाट निर्णय उल्टिएमा अम्पायरले दुवै हातलाई छातीअगाडि तेस्रो रूपमा एकअर्कामाथि क्रस गरेर ‘रिभर्सल’ को संकेत दिने गरिन्छ । तर, ती प्रक्रियाहरु कैयन पटक अम्पायरले बिर्सिएका थिए ।

अम्पायरको निर्णयलाई चित्त नबुझेमा १५ सेकेन्डभित्र कप्तान तथा ब्याटरले रिभ्यू अपिल गरिसक्नुपर्छ । तेस्रो ओभरको तेस्रो बलमा कुशलले रिभ्यूका लागि अपिल त गरे । तर, अम्पायरले लामो समयसम्म रिभ्यूमा पठाएनन् ।
खेलपछि सुदूरपश्चिमका खेलाडी इशान पाण्डेले डीआरएस नेपाली क्रिकेटका लागि एकदमै ठूलो स्टेप भएको बताए । ‘डीआरएस आउनु नेपाली क्रिकेटका लागि ठूलो स्टेप हो । हामीले हरेक दिन हेरिराखेका छौं । कति डिसिजन चेन्ज भइराखेको छ । जस्तो कुशल दाइको पहिलो बलमा थियो । डिआरएस नभएको भए खराब हुन्थ्यो नि ब्याटरलाई,’ उनले भने ।
प्रतिक्रिया 4