+
+
Shares

मृत भनिएका पदम घर फर्किएपछि…

छोरा गुमाएको शोक परेको भन्दै परिवारले यसपालिको दशैंमा टीकासमेत लगाएन । तर, उनी दशैंको पूर्णिमाका दिन जीवितै घर फर्किए ।

हरि अधिकारी हरि अधिकारी
२०८३ कात्तिक १२ गते १३:०४

१२ कात्तिक, विराटनगर । मोरङको लेटाङ नगरपालिका– ५ खेरुवाका ३६ वर्षीय पदमबहादुर राय क्षेत्री बेलाबेला घरबाट हिड्थे । मानसिक स्वास्थ्य सामान्य भन्दा कमजोर रहेका उनी कहिले आफै घर फर्कन्थे, कहिले परिवारले खोजेर ल्याउथे ।

गत २०८२ को माघमा भने घरबाट निस्किएका उनी फर्किएनन्। परिवार फर्किएर आउने आशमा थियो ।

गत जेठ २६ गते सुनसरीको बराहक्षेत्र नगरपालिकामा-४ चतरा पकली खण्डमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भए । प्रहरीका अनुसार जेम्स चौधरीले चलाइरहेका प्र.१-०४-००१ प.३६०४ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका उनको विराट टिचिङ अस्पताल २७ जेठ दिउँसो १ बजे मृत्यु भयो। पहिचान हुन नसकेको शवको हुलिया माघदेखि हराइरहेका पदमबहादुरसँग मिल्दोजुल्दो थियो।

शव पहिचान हुन नसकेपछि कोशी अस्पतालको शवगृहमा राखेर प्रहरीले आफन्तको खोजीका लागि हुलियासहित सार्वजनिक सूचना जारी गर्‍यो । पदमबहादुरकी आमाले शव आफ्नै छोराको भएको भन्दै सनाखत गरेकी थिइन्।सूचनाका आधारमा जेठ २९ गते मृतकको बुवानारायण राय क्षेत्रीले कोशी अस्पतालको शवगृहबाट शव जिम्मा लिएका थिए । साेही दिन चिसाङ खोलामा अन्त्येष्ठि गरे।

छोरा गुमाएको शोक परेकै कारण परिवारले यसपालिको दसैँमा टीकासमेत लगाएन । तर, उनी दसैँको पूर्णिमाका दिन ९ कात्तिकको साँझ टुप्लुक्क घर पुगे । पदमबहादुर घर आइपुगेपछि उनको परिवार एकातिर खुसी छ, अर्कातिर ‘त्यसो भए कसको अन्त्येष्टि गरियो त ?’ भन्ने अन्योल र त्रासमा पनि छ।

मृत्यु संस्कार गरिसकेका व्यक्ति जीवितै घर फर्केपछि परिवारले धार्मिक विधिअनुसार उनको पुनर्जन्मको संस्कार गराएको छ । घटनापछि परिवारमा खुसी छाए पनि अर्काको शव जलाइएको विषयले त्रास पनि थपेको स्थानीय पत्रकार प्रशान्त निरौला बताउँछन् । ‘मृत्यु संस्कार गरिसकेको छोरो फर्किँदा परिवार खुसी छ,’ छिमेकीसमेत रहेका निरौला भन्छन्,‘तर, दुर्घटनामा परेको शव कसको थियो र अब के होला भन्ने डर छ ।’ प्रहरीले सुरुमै डीएनए परीक्षण गरेर शव जिम्मा लगाएको भए यस्तो स्थिति नआउने उनको बुझाइ छ।

पदमबहादुर घर फर्किएपछि इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहको टोली उनको घर पुगेर वस्तुस्थिति बुझेको थियो । उनी लामो समय कहाँ र कसरी बसे भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन । अहिले पनि उनको मानसिक अवस्था कमजोर नै छ ।

जेठको दुर्घटनापछि परिवारले दुर्घटना बिमाबापतको क्षतिपूर्ति रकमसमेत बुझिसकेको प्रहरीले जनाएको छ । पदमबहादुर जीवितै भेटिएपछि अब कसरी अगाडि बढाउने भन्ने अन्योलमा प्रहरी छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार बिमाबापत प्राप्त भएको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ । ‘सरकारी अभिलेखमा बेवारिसे शवको रूपमा विवरण सच्याइनेछ,’ डीएसपी मिश्रले भने, ‘त्यसपछि जेठ महिनामा दुर्घटनामा परी ज्यान गुमाएका ती वास्तविक मृतकको पहिचानका लागि पुनः अनुसन्धान सुरु हुनेछ ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?