+
+
Shares

कांग्रेसका अर्का केन्द्रीय सदस्यविरुद्ध पनि उजुरी

महाधिवेशनमा पराजित एक उम्मेदवारले बिहीबार बिहान केन्द्रीय निर्वाचन समितिमा केन्द्रीय सदस्यमा निर्वाचित नेता बस्नेतको शैक्षिक प्रमाण पत्र छानबिनको माग गर्दै उजुरी दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १३:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औं महाधिवेशनमा ३५ वर्षमुनि खुला समूहबाट निर्वाचित ईन्जिनियर हेमकाजी बस्नेतको शैक्षिक प्रमाणपत्र छानबिन माग गर्दै उजुरी परेको छ।
  • पराजित एक उम्मेदवारले बिहीबार बिहान केन्द्रीय निर्वाचन समितिमा ईमेलमार्फत उजुरी दिँदै नेपाल इन्जिनियरिङ परिषद्का विवरण र अन्य प्रमाण संलग्न गरेका छन्।
  • उजुरीमा विश्वविद्यालय र नेपाल इन्जिनियरिङ परिषद्सँग प्रमाणपत्रको आधिकारिकता पुष्टि गरी अनियमितता भेटिए विधान र कानुनअनुसार कारबाही गर्न माग गरिएको छ।

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा कोशी प्रदेशअन्तर्गत ३५ वर्षमुनि (खुला) समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित ईन्जिनियर हेमकाजी बस्नेतको शैक्षिक प्रमाण पत्र छानबिनका लागि उजुरी परेको छ ।

महाधिवेशनमा पराजित एक उम्मेदवारले बिहीबार बिहान केन्द्रीय निर्वाचन समितिमा केन्द्रीय सदस्यमा निर्वाचित नेता बस्नेतको शैक्षिक प्रमाण पत्र छानबिनको माग गर्दै उजुरी दिएका हुन् ।

बस्नेतको शैक्षिक योग्यतासम्बन्धी विषयमा गम्भीर प्रश्न उठाउने तथ्य तथा प्रमाणहरू प्राप्त भएकाले ईमेलमार्फत उजुरी दिएको ती उम्मेदवारले बताएका छन् । अनलाइनखबरको सम्पर्कमा आएका उनले उजुरीमा नाम भने उल्लेख गरेका छैनन् ।

उजुरीकर्ताले नेपाल इन्जिनियरिङ परिषद्को दर्तासम्बन्धी उपलब्ध विवरण र विषयसँग सम्बन्धित अन्य सान्दर्भिक प्रमाणहरू समितिर्ला ईमेलमार्फत गरेको उजुरीसँगै संलग्न गरेका छन् ।

‘यस पत्रका साथ उपलब्ध तथ्य तथा कागजातहरू प्रमाणका रूपमा संलग्न गरेको छु । यस विषयलाई कुनै व्यक्तिगत आग्रह, पूर्वाग्रह वा राजनीतिक प्रतिशोधका रूपमा नभई पार्टीको प्रतिष्ठा, निष्पक्षता र संस्थागत मर्यादाको संरक्षणसँग सम्बन्धित गम्भीर सरोकारका रूपमा ग्रहण गरिदिनुहुन अनुरोध गर्दछु,’ उजुरीकर्ताले उजुरीमा लेखेका छन् ।

शैक्षिक प्रमाणपत्रको आधिकारिकता तथा वैधताबारे सम्बन्धित विश्वविद्यालय र नेपाल इन्जिनियरिङ परिषद्सँग आवश्यक जानकारी लिई सत्यतथ्य पुष्टि गर्नुपर्ने माग पत्रमा गरिएको छ ।

‘प्राप्त कागजात तथा प्रमाणहरूको निष्पक्ष र तथ्यपरक छानबिन गरियोस्,’ उजुरीमा लेखिएको छ, ‘छानबिनबाट कुनै अनियमितता वा प्रचलित नियमविपरीतको कार्य भएको पुष्टि भएमा पार्टीको विधान तथा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइयोस् ।’

यसअघि १५औं महाधिवेशनमा ३५ वर्ष मुनिको केन्द्रीय सदस्य (खुल्लातर्फ) मा निर्वाचित सुशील भट्टविरुद्ध पनि उजुरी परेको थियो । उजुरीमा ३५ वर्ष मुनिका युवा महाधिवेशन प्रतिनिधि क्लस्टरबाट उम्मेदवारी दिएका तथा निर्वाचित भएका सबै उम्मेदवारहरूको उमेरसम्बन्धी विवरण आधिकारिक नागरिकता तथा अन्य प्रामाणिक कागजातका आधारमा छानबिन गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?