+

नेपालगन्जमा शनिबारदेखि अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

२०८३ कात्तिक  १३ गते १७:३९ २०८३ कात्तिक १३ गते १७:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालगन्जमा शनिबारदेखि नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा तेस्रो संस्करणको नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप दुई दिनका लागि सुरू हुँदैछ।
  • प्रतियोगितामा भारतका करिब ५० र नेपालका करिब १५० गरी २०० खेलाडीले ८० इभेन्टमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
  • आयोजकले खेलाडीका लागि नेपालगन्जका चारतारे होटलमा निःशुल्क आवास र खानाको व्यवस्था गरेको छ।

१३ कात्तिक, काठमाडौं । नेपालगन्जमा शनिबारदेखि तेस्रो संस्करणको नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु हुँदैछ। नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा प्रतियोगिता नेपालगन्ज रंगशालामा दुई दिन सञ्चालन हुनेछ।

नेपाल स्वीमिङ एसोसिएसनसँगको सहकार्यमा हुने प्रतियोगितामा भारतका लखनउ, दिल्ली र पञ्जाबबाट समेत खेलाडी सहभागी हुनेछन्। प्रतियोगितामा भारतका करिब ५० र नेपालका विभिन्न स्थानबाट करिब १५० गरी कुल २०० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा आठ वर्षमुनिदेखि १७ वर्षसम्मका विभिन्न उमेर समूह तथा १७ वर्षभन्दा माथिका खुला उमेर समूहका खेलाडी सहभागी हुनेछन्। खेलाडीले फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत मेड्ले गरी ६ विधाका ८० इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा सहभागी हुन भारतसहित देशका विभिन्न स्थानबाट खेलाडी नेपालगन्ज आउने क्रम सुरु भएको क्लबका अध्यक्ष केशव न्यौपानेले बताए।

क्लबले स्थापना भएदेखि नै नियमित रूपमा राष्ट्रियस्तरका स्वीमिङ प्रतियोगिता आयोजना गर्दै आएको छ। पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेको क्लबले यसपटक प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्वरूपमा आयोजना गर्न लागेको हो।

प्रतियोगिताका लागि आवश्यक प्राविधिक तयारी पूरा भएको नेपाल स्वीमिङ एसोसिएसनका प्राविधिक निर्देशक विष्णु खड्काले बताए।

च्याम्पियनसिपलाई नबिल बैंकले मुख्य प्रायोजन गरेको छ। लुम्बिनी प्रदेश खेलकुद परिषद्, नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल टेलिकम, बीवाईडी, वेस्टर्न हस्पिटल, शिखर प्लाइ, डर्मा अर्थ तथा स्टार पाइप एन्ड फिटिङ्सले पनि प्रायोजन गरेका छन्।

प्रतियोगितामा सहभागी खेलाडीका लागि आयोजकले नेपालगन्जका स्वीमिङ पुल भएका चारतारे होटलमा आवास र खानाको निःशुल्क व्यवस्था गरेको छ। प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

स्वीमिङ खेलको प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगन्जका उद्योगी, व्यवसायी, चिकित्सक, इन्जिनियर, कानुन व्यवसायी, चार्टर्ड एकाउन्टेन्ट, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाको पहलमा नेपालगन्ज स्वीमिङ क्लब गठन गरिएको हो। आयोजकका अनुसार यो लुम्बिनी प्रदेशकै पहिलो स्वीमिङ क्लब हो।

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय