News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा ६ खेल सकिँदा कर्णाली याक्सले लगातार दोस्रो जित निकालेको छ।
- विराटनगर किंग्सले दुई खेल गुमाउँदा लुम्बिनी लायन्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले एकएक खेल जितेका छन्।
- एनपीएलमा अनुबन्ध केही विदेशी खेलाडी अझै नेपाल नआएकोमा डेविड वार्नर आइतबार र डेविड मिलर केही दिनमा आउने बताइएको छ।
१३ कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुरुवाती ६ खेल सकिएका छन् ।
कर्णाली याक्सले लगातार दोस्रो जित निकाल्दा विराटनगर किंग्सले दुई खेल नै गुमाएको छ । लुम्बिनी लायन्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले एकएक खेलमा जित निकालेका छन् । काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्स पहिलो खेलमा पराजित भएका थिए ।
६ खेल सकिँदा एनपीएलमा अनुबन्ध भएका केही विदेशी खेलाडीहरू आइपुगेका छैनन् । अस्ट्रेलियन अनुभवी ब्याटर डेभिड वार्नर र दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर हालसम्म नेपाल आइपुगेका छैनन् ।
वार्नर काठमाण्डु र मिलर कर्णालीमा अनुबन्ध भएका थिए । काठमाण्डुले सामाजिक सञ्जालमार्फत वार्नर आउने जानकारी दिइसकेको छ । वार्नर आइतबार नेपाल आइपुग्नेछन् । पहिलो खेल गुमाएको काठमाण्डुको दोस्रो खेल सोमबार कर्णालीसँग छ । सम्भवत: वार्नर उक्त खेलमा मैदान उत्रिने छन् ।
पहिला दुई खेलमा जित निकालेको कर्णालीले मिलरलाई छिट्टै ल्याउने तयारी गरेको छ । कर्णालीका निर्देशक गृहेन्द्र घिमिरेले मिलर केही दिनमा नेपाल आइपुग्ने जानकारी दिए । ‘मिलरको लागि टिकट काटिसकेका छौं । उहाँ केही दिनमा एनपीएल खेल्न नेपाल आइपुग्नुहुन्छ,’ उनले भने । घिमिरेका अनुसार मिलर कर्णालीका बाँकी सबै खेलमा उपलब्ध हुनेछन् ।
वार्नर र मिलरसँग सूदुरपश्चिममा अनुबन्ध भएका वेष्ट इन्डिजका अलराउन्डर फेबियन एलेन, नामिबियाका रुवेन ट्रम्पलम्यान, जिम्बाब्बेका कप्तान सिकन्दर राजा, अस्ट्रेलियाका विल बोसिस्टो, क्याडनाका कलिम सना र श्रीलंकाका कमिल मिशारा पनि हालसम्म नेपाल आइपुगेका छैनन् ।
नामिबियाका बलर रुवेन अहिले आयरल्यान्डसँगको ओडीआई सिरिजमा खेलिरहेका छन् । सिरिजको अन्तिम खेल आइतबार हुँदैछ । सम्भवत: त्यसपछि उनी एनपीएल खेल्न नेपाल आउनेछन् ।
चितवनमा आवद्ध भएका जिम्बाब्बेका कप्तान सिकन्दर अहिले अफगानिस्तानसँगको टी–२०आई सिरिज खेलिरहेका छन् । उक्त सिरिजको अन्तिम खेल आइतबार छ । त्यसपछि जिम्बाब्बेले अफगानिस्तानसँग टेस्ट सिरिज पनि खेल्दैछ ।
सिकन्दरले टेस्ट खेल्नेछन् या एनपीएल खेल्न नेपाल आउनेछन् त्यो भने निश्चित छैन । चितवनमै अनुबन्ध भएका श्रीलंकाका कमिलले पाकिस्तानमा त्रिदेशीय सिरिज खेलिरहेका छन् । उक्त सिरिजको फाइनल शनिबार छ । उनी त्यसपछि नेपाल आउन सक्छन् ।
प्रतिक्रिया 4