News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा शनिबार विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि खेल्दैछन्।
- विराटनगर पहिलो जितको खोजीमा छ भने सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ, र खेलमा वर्षाको सम्भावना रहेको छ।
- विराटनगरले यसअघि चितवन राइनोज र कर्णाली याक्ससँग हार बेहोरेको छ भने सुदूरपश्चिमले लुम्बिनी लायन्ससँग हारपछि काठमान्डु गोर्खाजलाई हराएको छ।
१४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
दुवै टोलीका लागि यो खेल महत्वपूर्ण हुनेछ। वर्षाको सम्भावना रहेको खेलमा विराटनगर पहिलो जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्न चाहन्छ।
विराटनगरले यसअघि खेलेका दुवै खेलमा जितनजिक पुगेर पनि हार बेहोरेको छ। पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको विराटनगर दोस्रो खेलमा कर्णाली याक्ससँग अन्तिम बल बाँकी छँदा हारेको थियो।
चितवनविरुद्ध लक्ष्य पछ्याउँदा ब्याटिङमा सम्हालिन नसकेको विराटनगरले कर्णालीविरुद्ध १८७ रन बनाए पनि खराब फिल्डिङका कारण खेल गुमाएको थियो।
दुवै खेलमा देखिएका कमजोरी सुधार्दै विराटनगर पहिलो जित निकाल्ने योजनामा हुनेछ। ब्याटिङमा लोकेश बमले राम्रो लय देखाएका छन्। तर टोलीले अन्य ब्याटरबाट पनि साथ पाउनुपर्नेछ। कर्णालीविरुद्धको खेलमा छुटेका क्याच र ओभर थ्रोका कारण गुमाएको अवसरलाई विराटनगरले यसपटक दोहोर्याउन चाहने छैन।
यता सुदूरपश्चिमले पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरे पनि दोस्रो खेलमा काठमान्डु गोर्खाज विरुद्ध जित निकाल्दै पुनरागमन गरेको छ।
पहिलो खेलमा हारपछि जितको लय समातेको सुदूरपश्चिम त्यसलाई निरन्तरता दिन चाहन्छ। टोलीमा उपलब्ध खेलाडीको संयोजन मिलाउनु उसका लागि महत्वपूर्ण हुनेछ।

पछिल्लो लय र हेड टु हेड
पछिल्लो लयको कुरा गर्नुपर्दा विराटनगरले अघिल्लो सिजनको क्वालिफायर १ र क्वालिफायर २ तथा यस सिजनको सुरुवाती दुई खेल गरी लगातार चार खेल हारेको छ ।
सुदूरपश्चिमले भने अघिल्लो सिजनको फाइनलमा लुम्बिनी लायन्ससँग पराजित भएपछि यस संस्करणको पहिलो खेलमै फेरि लुम्बिनीसँगै हार बेहोरेको थियो । दोस्रो खेलमा काठमान्डुलाई हराउँदै जितको लय समात्ने बाटोमा छ ।
एनपीएलका अघिल्ला दुई संस्करणमा विराटनगर र सुदूरपश्चिम तीन पटक आमनेसामने भएका छन्। पहिलो सिजनको लिग चरणमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले हराएको थियो।
दोस्रो सिजनको लिग चरणमा भने विराटनगरले ६ विकेटको जित निकाल्दै हिसाब बराबर गरेको थियो।
दोस्रो सिजनकै क्वालिफायर १ मा यी दुई टोली फेरि भिडेका थिए। त्यस खेलमा सुदूरपश्चिमले ७७ रनको फराकिलो जित निकाल्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो।
यसरी अघिल्ला तीन भेटमध्ये दुई खेल सुदूरपश्चिमले जितेको छ भने एक खेल विराटनगरले आफ्नो पक्षमा पारेको छ।

टिम कम्बिनेसन र प्लेइङ ११
सुदूरपश्चिमका विदेशी खेलाडीमध्ये फेबियन एलेन अझै आइपुगेका छैनन्। तर श्रीलंकाका थरिन्दु रथ्नायके टोलीमा जोडिएका छन्।
उनको बलिङ क्षमता उपयोग गर्न सुदूरपश्चिमले उनलाई प्लेइङ–११ मा समावेश गर्न सक्छ। तर त्यसका लागि विदेशी खेलाडीमध्ये कसलाई बाहिर राख्ने भन्ने निर्णय सहज हुने छैन। उनी खेलेमा ब्रान्डन म्याकमुलेन बाहिर बस्न सक्ने सम्भावना छ।
विराटनगरले भने विदेशी खेलाडीमा परिवर्तन गर्ने सम्भावना कम देखिन्छ। एन्जेलो म्याथ्युज, आन्द्रे रसेल, शुभम रन्जाने र चरिथ असलंका नै खेल्ने सम्भावना छ। नेपाली खेलाडीमध्ये इमरान शेखको स्थानमा साहिल पटेलले अवसर पाउन सक्छन्।
विराटनगरको सम्भावित ११ : सन्दीप लामिछाने, लोकेश बम, साहिल पटेल, एन्जेलो म्याथ्युज, चरिथ असलंका, आन्द्रे रसेल, शुभम रन्जाने, प्रतिश जिसी, बसिर अहमद, नरेन साउद
सुदूरपश्चिमको सम्भावित ११ : दीपेन्द्रसिंह ऐरी (कप्तान), इशान पान्डे, विनोद भण्डारी, आरिफ शेख, सेफ जैब, ब्रान्डन म्याकमुलेन/थरिन्दु रथ्नायके, अनिल खरेल, हेमन्त धामी, अविनाश बोहरा, शेरफन रदरफोर्ड, स्कट कुग्लेइन

प्लेयर्स टु वाच
विराटनगरका लागि लोकेश बम मुख्य खेलाडी हुनेछन्। उनले यसअघिका दुई खेलमा आक्रामक ब्याटिङ गर्दै टोलीको रन बनाउने जिम्मेवारी सम्हालेका छन्। विशेषगरी पावरप्लेमा आक्रामक सट खेल्ने क्षमता भएका लोकेशबाट विराटनगरले राम्रो सुरुवातको अपेक्षा गर्नेछ।
बलिङमा कप्तान सन्दीप लामिछानेको प्रदर्शन महत्वपूर्ण हुनेछ। उनले आफ्नो बलिङबाट खेलको दिशा बदल्न सक्छन्।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीमाथि नजर रहनेछ। ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा योगदान दिन सक्ने दीपेन्द्र टोलीका महत्वपूर्ण खेलाडी हुन्।
बलिङमा अनिल खरेलको प्रदर्शन पनि हेर्नलायक हुनेछ। उनले सुरुवाती दुई खेलमै राम्रो बलिङ गर्दै विकेट लिएका छन्।
***
खेल : विराटनगर किङ्स भर्सेस् सुदूरपश्चिम रोयल्स
मिति र समय : १४ कात्तिक, साँझ ५ बजेदेखि
स्थान : त्रिवि क्रिकेट मैदान
मौसम : बादल, वर्षाको सम्भावना
प्रतिक्रिया 4