+
+
Shares
अनुभूति :

मोदिआइनको नजरमा ‘म’

गरिबको पक्षमा भाषण गरेको छ भन्दैमा उसले आफ्नो जीवनमा समानताको अभ्यास गरेको हुन्छ भन्ने पनि छैन।

गोविन्द बेल्वासे गोविन्द बेल्वासे
२०८३ कात्तिक १४ गते १४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वेश्वरप्रसाद कोइरालाको ‘मोदिआइन’ बाट प्रेरित लेखकले केपी शर्मा ओलीलाई २०४७ सालमा मोतीपुरमा भेट्दा ठूलो मान्छे बन्ने आकाङ्क्षी तर असल बन्ने प्रतिबद्धता नभएको ठानेका थिए।
  • लेखकले २०७० सालमा टोपबहादुर रायमाझीसँग भेट्दा उनले सातु बोकेको बताए पनि थाल नमाझेको कारणले असल मानिसको परीक्षामा कमजोर अङ्क दिएका थिए।
  • लेखकले नेतृत्वको नैतिक मूल्याङ्कनमा पद, प्रसिद्धि र राजनीतिक सफलताभन्दा दैनिक व्यवहार, जिम्मेवारी र अरूको अधिकारप्रतिको सम्मान महत्त्वपूर्ण हुने निष्कर्ष निकालेका छन्।

विश्वेश्वरप्रसाद कोइरालाले सुन्दरीजल बन्दीगृहमा बस्दा ‘मोदिआइन’ लघुउपन्यास लेखेका छन्। त्यसमा एउटी बूढी आमैले बालकलाई दिएको उपदेश मेरो मनमा गडेर बसेको छ- ‘ठूला मानिस थरीथरीका हुन्छन्, असल मानिस भने एकथरीका मात्र हुन्छन्। ठूलो हुनपट्टि नलाग्नू, असल हुनपट्टि लाग्नू, नानी।’

साहित्यका केही वाक्य पढेर बिर्सिइन्छन्। केही वाक्य भने जीवनभरि नै मनभित्र रहिरहन्छन्। तिनले हाम्रो सोच्ने तरिका बनाउँछन्, मानिसलाई हेर्ने दृष्टि दिन्छन्। त्यसैबाट कहिलेकाहीँ कुनै व्यक्तिलाई पहिलोपटक भेट्दा नै उसको मूल्याङ्कन गर्ने आधारसमेत बन्छ। मेरा लागि ‘मोदिआइन’ को यो भनाइ त्यस्तै एउटा नैतिक ऐना बनेको छ।

तर, असल मानिस को हो ? ठूलो पद प्राप्त नगर्ने मानिस असल हो कि ठूलो पदमा पुगेको मानिस पनि असल हुन सक्छ ? असल बन्ने चाहना राख्नु र वास्तवमै असल हुनु एउटै कुरा हो ? यी प्रश्नको उत्तर खोज्ने क्रममा मैले राजनीतिका केही चर्चित नेताहरूलाई आफ्नै जीवनका साना घटनासँग जोडेर हेर्ने गरेको छु।

मोतीपुरको भेट

२०४७ सालको कुरा हो। पञ्चायती व्यवस्था ढलेको थियो। राजनीतिक दलमाथिको प्रतिबन्ध फुकुवा भएको थियो। तर, वर्षौँसम्म भूमिगत रूपमा काम गरेका कम्युनिस्ट नेताहरूको गतिविधिमा पुरानो भूमिगत शैली अझै बाँकी थियो। राजनीतिक वातावरण फेरिएको थियो, मानिसका बानी र व्यवहार भने जानिने गरी फेरिएका थिएनन्।

त्यतिबेला कपिलवस्तुको हाम्रो गाउँमा कृषि विकास बैङ्कअन्तर्गत सञ्चालित साना किसान आयोजनाको अफिस थियो। त्यहाँका एक जना कर्मचारीसँग मेरो घनिष्ठता बढ्यो। उनको नाम केशव शर्मा हो। हामी दुवै पञ्चायतविरोधी विचार राख्थ्यौँ, समतामूलक समाज निर्माण गर्ने सम्भावनाबारे कुरा गर्थ्यौँ।

तर, उनी भूमिगत नेपाल कम्युनिस्ट पार्टी (माले) का सदस्य रहेछन् भन्ने कुरा मलाई खुलाएका थिएनन्। पार्टीमाथिको प्रतिबन्ध हटेपछि भने उनी आफू मालेको समर्थक भएको बताउन थाले।

म कुनै राजनीतिक दलसँग आबद्ध थिइनँ, तर राजनीतिप्रति चासो थियो। समाज परिवर्तनको सपना देख्ने मानिसहरूप्रति स्वाभाविक आकर्षण पनि थियो। एक दिन केशवजीले ‘मोतीपुरको एउटा विद्यालयमा मालेका नेता आउँदै छन्, जाऔँ’ भने।

भूमिगत नेताहरूका बारेमा सुनेको थिएँ। उनीहरू कस्ता हुन्छन्, कसरी काम गर्छन् र उनीहरूको राजनीतिक आदर्श कस्तो हुन्छ भन्ने जिज्ञासा थियो। त्यसैले धेरै सोचविचार नगरी जाने निर्णय गरेँ।

पूर्व–पश्चिम राजमार्गमा बसबाट ओर्लिएपछि हामी उत्तरतिर लाग्यौँ। करिब डेढ किलोमिटर हिँडेपछि मोतीपुर गाउँ पुगियो। कार्यक्रम कहाँ हुँदै छ भन्ने कुरा केशवजीलाई समेत स्पष्ट थाहा थिएन। बाटोमा भेटिएका एक व्यक्तिले हामीलाई अगाडि बढ्न सङ्केत गरे र आफू अर्कैतिर लागे।

विद्यालयको एउटा लामो कोठामा पुग्दा केही मानिस बेन्चमा बसिरहेका थिए। हामी पनि उनीहरूसँगै बस्यौँ। क्रमशः अरू मानिस थपिँदै गए। मेरो सम्झनामा त्यो जमघटमा करिब ६० वा त्यसभन्दा बढी मानिस थिए।

केही बेरपछि एक जना व्यक्तिले जोसिलो आवाजमा बोल्दै केपी शर्मा ओली आउन लागेको जानकारी दिए। त्यो सामान्य भेटघाट मात्र थिएन, पार्टी प्रशिक्षणको कार्यक्रम रहेछ। प्रतिबन्ध हटिसकेको भए पनि भूमिगत राजनीतिका पुराना अभ्यास मैले महसुस गर्दै थिएँ।

ओलीले त्यस दिन के–के भने, आज मलाई शब्दशः सम्झना छैन। मानिसको स्मृति कुनै अभिलेखालय होइन। समय बित्दै जाँदा केही दृश्य स्पष्ट रहन्छन्, केही शब्द हराउँछन् र केही अनुभवको अर्थ पछि गएर मात्र खुल्छ।

तर, उनको कुरा सुनेपछि मेरो मनमा एउटा धारणा बनेको थियो। त्यस समय मसँग भएको ज्ञान, अनुभव र विवेकका आधारमा मैले उनको व्यक्तित्वबारे एउटा निष्कर्ष निकालेको थिएँ— उनी ठूलो मान्छे बन्ने आकाङ्क्षा राख्ने व्यक्ति हुन् भन्ने ठानेँ। तर असल मान्छे बन्ने नैतिक प्रतिबद्धता भने मैले उनमा देखिनँ।

त्यो मेरो तत्कालीन अनुभूति थियो, कुनै अदालतको फैसला होइन। फर्किएपछि केशवजीले आफू त्यो पार्टीको सदस्य रहेको खुलासा गरे। त्यो समयसम्म नेपाल कम्युनिस्ट पार्टीको सदस्यता पाउनु चानचुने कुरा थिएन। धेरै नैतिक धरातल पार गरेको र सिद्धान्तनिष्ठ प्रमाणित भएको हुनुपर्थ्यो। अझ श्रमिक वर्गको पक्षधर देखिनुपर्थ्यो।

मलाई उक्त पार्टीको सदस्यता पाउन योग्यता पुगेको ठहर्‍याएर ग्रहण गर्न भने। मलाई ती ओली असल मान्छे भन्ने लागेको भए सदस्यता लिन्थेँ पनि। तर, ती नेताको कुराले मभित्र उक्त पार्टीप्रतिको आकर्षण एकदमै घटेको थियो। त्यसैले सदस्यता ग्रहण गरिनँ।

पछि उनी पटक–पटक नेपालको प्रधानमन्त्री बने। राष्ट्रिय राजनीतिमा उनको प्रभाव बढ्यो। तर, पद र प्रतिष्ठा बढ्दैमा मानिसको नैतिक उचाइ पनि बढ्छ भन्ने मलाई लागेन। संसद् विघटनसम्बन्धी विवाद, सर्वोच्च अदालतबाट भएका संवैधानिक व्याख्या र पदमा रहँदा देखिएका उनका राजनीतिक व्यवहारले मेरो पुरानो धारणालाई झन् बलियो बनाउँदै लग्यो।

कुनै नेताको राजनीतिक सफलता र नैतिक सफलता फरक कुरा हुन्। जनताको समर्थन प्राप्त गर्नु ठूलो उपलब्धि हुन सक्छ। तर, भोटले मात्रै कुनै निर्णयलाई नैतिक बनाउँदैन। संविधानको सीमाभित्र बस्नु, संस्थाहरूको स्वायत्ततालाई सम्मान गर्नु र आफ्नो पदलाई निजी प्रतिष्ठाभन्दा माथि नराख्नु पनि नेतृत्वको परीक्षा हो। मोदिआइनको भनाइ सम्झँदा मेरो मनमा पटक–पटक यही प्रश्न उठ्छ।

दोस्रो भेट : सातुको झोला र थाल

सन् २००० तिरको कुरा सम्झनुअघि म २०७० सालको एउटा भेट सम्झन्छु। अर्का एक नेता कलेज पढ्दादेखि नै मेरो पुस्ताका धेरै विद्यार्थीका लागि आदर्श व्यक्तित्व थिए। उनी सङ्गठन निर्माणमा सक्रिय, सङ्घर्षशील र जेलजीवनसमेत भोगेका नेता थिए। उनका राजनीतिक भाषण र सक्रियताले धेरै युवालाई प्रभावित पारेका थिए।

एक दिन राजमार्ग छेउको प्रतीक्षालयमा उनीसँग मेरो पहिलो जम्काभेट भयो। काठको बेन्चीमा आमनेसामने भइयो। उनी पार्टीको काममा हिँडेका रहेछन्। उनलाई अल्सरको समस्या भएको र स्वास्थ्यका कारण नियमित समयमा खाना खानुपर्ने कुरा मलाई थाहा थियो।

मैले स्वास्थ्यबारे सोधेँ। उनले निको हुँदै गएको बताए। समयमा खाना खानुपर्ने भएकाले झोलामा सातु बोकेर हिँडेको पनि सुनाए। कुरा गर्दै उनले झोलातिर सङ्केत गर्दै सातु बोकिहिँडेको दर्शाए।

त्यो सामान्य संवाद थियो। त्यसमा देखावटीपन थिएन। बिरामी शरीर लिएर पनि राजनीतिक काममा खटिरहेको व्यक्तिप्रति मेरो मनमा सम्मान थियो। उनी पनि हिम्मतिला नेता हुन्, कठिन परिस्थितिमा सङ्घर्ष गरेका मानिस हुन् भन्ने धारणा पहिल्यैदेखि थियो। तर, मानिसको व्यक्तित्व बुझ्न ठूला भाषण र कठिन सङ्घर्षका कथा मात्र पर्याप्त हुने रहेनछ।

माओवादी सशस्त्र द्वन्द्व चर्किएको समय थियो। पेसाले वकिल भएकाले मैले माओवादीका धेरै कार्यकर्ताको मुद्दामा कानुनी प्रतिनिधित्व गरेको थिएँ। मेरो भूमिका कानुनी पेसाभित्र सीमित थियो। राज्यले संवैधानिक सीमा नाघेमा नागरिकलाई प्रतिरोध गर्ने अधिकार हुन्छ भन्ने मेरो सैद्धान्तिक मान्यता थियो।

तर, विद्रोहीले अपराध गरेको भए पनि राज्यले कानुन र मानवअधिकारको सीमा नाघेर दण्ड दिन पाउँदैन भन्ने कुरामा पनि म उत्तिकै स्पष्ट थिएँ।

कानुनी शासनको पक्षमा उभिनु भनेको राज्यले गरेको सबै काम सही मान्नु होइन। त्यसैगरी विद्रोहको कारण बुझ्नु भनेको विद्रोहीले गरेको हरेक कामलाई उचित ठहर गर्नु पनि होइन। माओवादी कार्यकर्ताहरूका मुद्दामा काम गर्दा उनीहरूको गोपनीयता कायम राख्नु मेरो व्यावसायिक कर्तव्य हुन्छ।

प्रहरीले उनीहरूलाई पक्राउ गर्न खोजिरहेको थाहा हुन्थ्यो। तैपनि कानुनले संरक्षण गरेको गोपनीयता र पेसागत मर्यादा उल्लङ्घन गरेर जानकारी दिनु उचित ठान्दिनथेँ।

म बेलायतमा एउटा पेसागत तथा व्यक्तित्व विकाससम्बन्धी कोर्स पढेर नेपाल फर्किएको थिएँ। त्यतिबेला माओवादीका एक जना पुराना नेताले आफ्नो क्षेत्रको जिम्मेवारी अर्को नेतालाई हस्तान्तरण गर्न लागेका रहेछन्। कार्यकर्ताका मुद्दासम्बन्धी सम्पर्कका लागि नयाँ नेतालाई मसँग चिनाउन उनीहरू दुवै जना मेरो घरमा आए।

चिनजान भयो। कुराकानी भयो। त्यसपछि हामीले सँगै खाना खायौँ।

घरमा आएका राजनीतिक नेताहरूले खाना खाएपछि आफ्ना थाल आफैँ माझ्थे। त्यस दिन पुराना नेता ठाकुर चापागाईंले पनि थाल माझे। तर, नयाँ जिम्मेवारी सम्हाल्न आएका नेताले भने आफ्नो थाल त्यत्तिकै छाडेर बैठक कोठामा गएर बसे।

त्यतिबेला हाम्रो घरमा एउटा सामान्य चलन थियो— आफूले खाएको थाल आफैँ माझ्ने। घरमा काममा सघाउने नानी पनि थिइन्, तर हामी सकेसम्म सबैले आफ्नो काम आफैँ गर्ने अभ्यास गर्थ्यौँ। मैले आफ्नो थाल माझेँ। त्यसपछि ती नेताको थाल पनि माझेर बैठक कोठामा पुगेँ।

मेरो स्वभाव अलि स्पष्ट बोल्ने खालको छ। छुच्चो छु, मनमा लागेको कुरा लुकाएर राख्न सक्दिनँ। मैले उनलाई सोधेँ, ‘यसअघि हाम्रो घरमा आउनुभएका नेताहरूले त आफूले खाएको थाल आफैँ माझ्नुहुन्थ्यो। तपाईंले चाहिँ किन माझ्नुभएन ?’

उनले आफ्नो व्यवहारको सफाइ दिए। गाउँघरमा भाँडा माझ्ने ठाउँ प्रायः घरबाहिर हुन्छ। जुठेल्नामा थाल माझिरहेको छिमेकीले देखेमा प्रहरीलाई खबर गर्न सक्छन् र आफू पक्राउ पर्न सकिन्छ भन्ने डरले उनले थाल नमाझेको बताए।

द्वन्द्वको समय थियो। भूमिगत राजनीतिक जीवनमा सुरक्षाको प्रश्न वास्तविक थियो। सामान्य व्यवहारले समेत जोखिम निम्त्याउन सक्थ्यो। तर, हाम्रो घरमा भान्साकै छेउमा सिङ्क थियो। त्यहाँ उभिएरै थाल माझ्न सकिन्थ्यो, बाहिर जुठेल्नामा जानुपर्ने बाध्यता थिएन। त्यसैले उनको तर्कले मेरो चित्त बुझाएन।

त्यस क्षण मेरो मनमा उनीप्रति एउटा प्रश्न उठ्यो- के उनले परिस्थितिलाई बहाना बनाए, कि मैले नै उनको अवस्थालाई पर्याप्त बुझिनँ ? त्यो प्रश्नको अन्तिम उत्तर मसँग थिएन। तर, मेरो मनले उनलाई असल मान्छेको परीक्षामा कमजोर अङ्क दियो। त्यसपछि हामी आ–आफ्नो काममा लाग्यौँ। उनी गए। त्यसपछि उनीसँग मेरो भेट भएन।

धेरै वर्षपछि उनै नेता भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा मुद्दा चल्दा र जेल पुग्दा मैले मेरो पुरानो धारणा सम्झिएँ। ती नेता थिए- टोपबहादुर रायमाझी, जो अर्घाखाँचीबाट निर्वाचित सांसद हुँदै गृहमन्त्रीसमेत बनेका थिए।
त्यो एउटा थालको घटनाले उनलाई भ्रष्टाचारको अभियोगमा दोषी प्रमाणित गर्दैन। त्यसैगरी कुनै अभियोग लाग्दैमा अदालतको अन्तिम निष्कर्ष नआउँदै व्यक्तिलाई कानुनी रूपमा दोषी ठहर गर्न मिल्दैन। तर, त्यस घटनाले मेरो मनमा उठाएको नैतिक प्रश्न भने अलग थियो।

धेरैपछि मैले फ्रान्सेली दार्शनिक सिमोन द बोउवारको ‘द एथिक्स अफ एम्बिगुइटी’ पढेँ। त्यसपछि मोदिआइनको भनाइलाई सम्झँदा त्यसमा अर्को दार्शनिक आयाम देख्न थालेँ। बीपी कोइरालाले यो पुस्तक पढेर नै ‘मोदिआइन’ लेखेका हुन् भन्ने मेरो दाबी होइन। उनले त्यो पुस्तक पढेका थिए कि थिएनन् भन्ने मलाई थाहा छैन। तर, दुवैको विचारमा मानिसको स्वतन्त्रता, नैतिक जिम्मेवारी र असल जीवनको खोजीबीच एउटा रोचक सामीप्यता पाउँछु।

द बोउवारका लागि मानिसको जीवन कुनै पूर्वनिर्धारित सूत्रअनुसार चल्ने यन्त्र होइन। हामी अपूर्ण ज्ञान, सीमित परिस्थिति र अनिश्चित भविष्यबीच निर्णय गर्छौँ। आफ्नो निर्णयको सम्पूर्ण परिणाम पहिल्यै थाहा पाउन सक्दैनौँ। तर, त्यसो भन्दैमा नैतिक जिम्मेवारीबाट उम्कन पनि सक्दैनौँ। आफ्नो स्वतन्त्रता प्रयोग गर्दा अरूको स्वतन्त्रतालाई सम्मान गर्नु र आफ्ना कामको जिम्मेवारी लिनु नै नैतिक जीवनको महत्त्वपूर्ण आधार हो।

यस अर्थमा असल मानिस हुनु भनेको गल्ती नै नगर्नु होइन। आफ्नो गल्ती स्वीकार गर्न सक्नु, परिस्थितिलाई बहाना बनाएर अन्यायको पक्षमा नउभिनु र शक्तिलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नु असल मानिस बन्ने यात्राका महत्त्वपूर्ण पक्ष हुन्।

मेरो विचारमा, मानिसको सार्वजनिक जीवनमा भएका निर्णय र उसको दैनिक व्यवहारबीच कहिलेकाहीँ सम्बन्ध देखिन सक्छ। तर, त्यो सम्बन्ध प्रमाणित सत्य हो भनेर घोषणा गर्न मिल्दैन। थाल नमाझ्ने घटनालाई भविष्यको भ्रष्टाचारको प्रमाण मान्नु भने गलत हुन्छ। यो मेरो मनोवैज्ञानिक प्रवृत्ति मात्र हो। अदालतले वस्तुगत प्रमाणको मूल्याङ्कन गरेर निर्णय दिन्छ।

यहीँनिर बोउवारको तर्क सान्दर्भिक हुन्छ। मानिसलाई एउटा घटनाबाट पूर्ण रूपमा परिभाषित गर्न सकिँदैन। तर, अनिश्चितता छ भन्दैमा हरेक व्यवहारको नैतिक मूल्याङ्कन गर्नै नमिल्ने पनि होइन। मानिस आफ्नो परिस्थितिबाट पूर्णतः स्वतन्त्र हुँदैन। उसको निर्णयमा भय, अभाव, सामाजिक संरचना र शक्ति सम्बन्धले प्रभाव पार्छन्। परिस्थिति जस्तोसुकै भए पनि मानिससँग केही न केही निर्णय गर्ने क्षमता रहन्छ, र त्यसैले ऊ आफ्नो व्यवहारप्रति जिम्मेवार पनि हुन्छ।

कुनै मानिसले जेलजीवन बिताएको छ भन्दैमा ऊ स्वतः असल हुँदैन। क्रान्तिको नारा लगाएको छ भन्दैमा उसको प्रत्येक काम न्यायपूर्ण हुँदैन। गरिबको पक्षमा भाषण गरेको छ भन्दैमा उसले आफ्नो जीवनमा समानताको अभ्यास गरेको हुन्छ भन्ने पनि छैन। त्यसैगरी, कुनै नेताले एउटा सानो काम गर्न नसकेको देख्दैमा उसको सम्पूर्ण व्यक्तित्वलाई एउटै निष्कर्षमा बन्द गर्न पनि मिल्दैन।

व्यक्तिले शक्तिसँग कस्तो व्यवहार गर्छ, आफूभन्दा कमजोर मानिसलाई कसरी हेर्छ, आफ्नो गल्तीप्रति कति इमानदार हुन्छ र अरूको अधिकारलाई कसरी प्रयोग गर्छ भन्ने प्रश्नहरू पनि महत्त्वपूर्ण हुन्छन्। ठूलो हुनु सामाजिक मान्यता, पद, प्रसिद्धि वा शक्तिसँग जोडिन्छ। असल हुनु भनेको ती सबै उपलब्धिलाई कसरी प्रयोग गरिन्छ भन्ने प्रश्नसँग जोडिन्छ।

तर, द बोउवारको अनिश्चितताको नैतिकताले अरूलाई मात्र होइन, आफूलाई पनि प्रश्न गर भन्छ। मैले कुनै नेतामा कमजोरी देख्दा कतै आफ्नै पूर्वाग्रहले काम त गरेन ? उसको व्यवहारको एउटा पक्षलाई मैले सम्पूर्ण व्यक्तित्व ठानेँ कि ? आफूलाई मन नपर्ने राजनीतिक विचार भएको व्यक्तिको व्यवहारलाई मैले आवश्यकताभन्दा कठोर रूपमा मूल्याङ्कन त गरिनँ ?

जीवनको अन्त्यमा मानिसले कति पद प्राप्त गर्‍यो, कति मानिसलाई प्रभावमा पार्‍यो वा कति नाम लेखायो भन्नेभन्दा अरूको जीवनमा कस्तो प्रभाव छाड्यो भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ। समाजलाई सकारात्मक दिशामा लैजान योगदान गर्‍यो कि गरेन भन्ने मूल विषय हो।

त्यसको उत्तर अझै खोज्दै छु।

लेखक
गोविन्द बेल्वासे

सामाजिक-राजनीतिक विषयमा रुचि राख्ने बेल्वासे लेखक एवं पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?