+
+
Shares

पेट्रोलियम पदार्थमा दैनिक १५ करोड घाटा : निगमका कार्यकारी निर्देशक साह

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते ७:२९

१५ कात्तिक, जनकपुरधाम । नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढे पनि सरकारले उपभोक्तालाई सहज मूल्यमा इन्धन उपलब्ध गराइरहेको बताएका छन् ।

शनिबार बर्दिबासमा भएको पेट्रोलियम डिलर्स एसोसिएसन महोत्तरीको छैटौँ साधारणसभाको उद्घाटन गर्दै उनले निगमले दैनिक करिब २५ करोड रुपैयाँ घाटा व्यहोरेर पेट्रोल र डिजेल बिक्री गरिरहेको बताए ।

जनताको सहजताको लागि सरकारको समन्वयमा घाटा भए पनि निगमले यस्तो निर्णय लिएको उनको भनाइ छ ।

उनले खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिका लागि सर्लाहीमा एलपी ग्यासको डिपो निर्माण भइरहेको जानकारी दिए । उनले सर्लाही र मोतीहारीबाट पाइपलाइन विस्तार गर्ने योजना राष्ट्रिय प्राथमिकतामा रहेको उल्लेख गरे ।

उनले पेट्रोलियम व्यवसायलाई व्यवस्थित बनाउन व्यवसायीलाई आग्रह गर्दै कमिसन लगायतका विषयमा आगामी दिनमा हुने निर्णयमा निगमले सहयोग गर्ने बताए ।

एसोसिएसनका राष्ट्रिय अध्यक्ष विश्वप्रसाद अर्यालले संस्थाको विकाससँगै व्यवसायीको हित पनि सुनिश्चित हुनुपर्ने बताए । लागतअनुसार प्रतिफल प्राप्त नभएको भन्दै उनले व्यवसायीको कमिसन वृद्धि गर्नुपर्ने माग गरे ।

एसोसिएसनका निवर्तमान अध्यक्ष लिलेन्द्र प्रधानले न्यून सेवा शुल्कमा व्यवसायीले काम गरिरहेको उल्लेख गर्दै व्यवसायलाई पारदर्शी र विश्वसनीय बनाउनुपर्ने बताए । उपभोक्तालाई केन्द्रमा राखेर तोकिएको गुणस्तर र परिमाणमा इन्धन उपलब्ध गराउनु सबैको जिम्मेवारी भएको उनको भनाइ छ ।

राज्यले व्यवसायीलाई जिम्मेवार बनाउनुपर्ने बताउँदै प्रधानले लागत र प्रतिफललाई बेवास्ता गरिए व्यवसायी पेशाबाट पलायन हुन सक्ने र उपभोक्तालाई सहज सेवा दिन कठिन हुने धारणा राखे ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले व्यवसायीलाई आफ्नो पेशामा निष्ठा र जिम्मेवारीका साथ काम गर्न आग्रह गरे ।

ढुवानी व्यवसायी संघ जनकपुरका अध्यक्ष किसुनदेव साहले महेन्द्रनगर डिपोको अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण गराए । उनले पेट्रोलियम व्यवसायीको कमिसन न्यून रहेको उल्लेख गर्दै वृद्धि गर्नुपर्ने माग गरे ।

पेट्रोलियम डिलर्स एसोसिएसन महोत्तरीको छैटौँ साधारणसभामा एसोसिएसन महोत्तरीका अध्यक्ष राजिव प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?