+
+
Shares

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

रासस रासस
२०८३ कात्तिक १५ गते ७:३४
फाइल तस्वीर

१५ कात्तिक, काठमाडौँ । लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजे जारी गरेको सूचना अनुसार वर्षा र पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध बनेको जनाइएको छ ।

काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं ८ गिम्दीबेँसीस्थित बीपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसैगरी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खस्दा करिब १५ मिटर सडक अवरुद्ध भएको छ ।

यसैगरी ललितपुर महानगरपालिका–२ सुन्दरीघाटमा बागमती खोला करिडोरको सडकमा वर्षाका कारण जलसतह बढेर आवागमन अवरुद्ध भएको छ ।

बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेस्थित कान्ति लोकपथमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?