News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कला, संस्कृति र पहिचान प्रवर्द्धन गर्ने नेपाल फेस्टिभल साउथ अस्ट्रेलियाको छैटौँ संस्करण नोभेम्बर २८ मा एडिलेडको टोरेन्स परेड ग्राउन्डमा हुँदै छ।
- यस वर्ष साउथ अस्ट्रेलियाका प्रिमियर पिटर मालिनाउसकस पहिलोपटक प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्, भने मन्त्री नादिया क्लान्सी र अन्य प्रतिनिधि पनि उपस्थित हुनेछन्।
- फेस्टिभलका लागि सरकारबाट ३० हजार अस्ट्रेलियन डलर सहयोग प्राप्त भएको छ, र १५ हजारभन्दा बढी दर्शक आउने आयोजकको अपेक्षा छ।
१५ कात्तिक, सिड्नी । नेपाली कला, संस्कृति, भाषा र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको नेपाल फेस्टिभल साउथ अस्ट्रेलियाको छैटौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ।
आगामी नोभेम्बर २८ तारिख एडिलेडस्थित टोरेन्स परेड ग्राउन्डमा हुने यस वर्षको फेस्टिभलमा साउथ अस्ट्रेलियाका प्रिमियर पिटर मालिनाउसकस पहिलोपटक प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।
अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको उपस्थिति र योगदानलाई उजागर गर्ने लक्ष्य राखिएको यस फेस्टिभललाई विगतका संस्करणभन्दा अझ भव्य र व्यवस्थित बनाइने आयोजकले जनाएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) साउथ अस्ट्रेलियाका संयोजक थिर गुरुङले राज्यका प्रिमियर नै पहिलोपटक प्रमुख अतिथिका रूपमा सहभागी हुनु नेपाली समुदायका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए।
कार्यक्रममा बहुसांस्कृतिक मामिलामन्त्री नादिया क्लान्सीसहित स्थानीय सरकारका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहने उनले जानकारी दिए।
महोत्सवका लागि दक्षिण अस्ट्रेलिया सरकारको बहुसांस्कृतिक अनुदान कार्यक्रमअन्तर्गत ३० हजार अस्ट्रेलियन डलर सहयोग प्राप्त भएको संयोजक गुरुङले बताए। सञ्चालन तथा व्यवस्थापनमा एक लाख ७० हजार अस्ट्रेलियन डलरभन्दा बढी खर्च हुने अनुमान गरिएको फेस्टिभलको हालसम्म करिब ९० प्रतिशत तयारी पूरा भइसकेको छ।
यसपटक १५ हजारभन्दा बढी दर्शक सहभागी हुने आयोजकको अपेक्षा छ।
फेस्टिभलमा गायिका रचना रिमालको विशेष सांगीतिक प्रस्तुति रहनेछ भने अन्य कलाकारहरूको नामावली पनि चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ।
ठूलो सङ्ख्यामा दर्शक सहभागी हुने भएकाले कार्यक्रमलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न २० वटा विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको छ। एनआरएनए साउथ अस्ट्रेलियाका उपसंयोजक तथा कार्यक्रम संयोजक गणेश पराजुलीले सबै उपसमितिले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको जानकारी दिए। कार्यक्रम व्यवस्थापन, स्वयंसेवक परिचालन, सुरक्षा र मञ्च व्यवस्थापनलगायतका पक्षलाई प्राथमिकतामा राखिएको उनले बताए।
पराजुलीका अनुसार विभिन्न संघसंस्था, व्यवसायी, प्रायोजक र समुदायका सदस्यहरूको सहकार्यबाट महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्ने लक्ष्य छ।
नेपाली नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्दै अन्तर्राष्ट्रिय समुदायमाझ मौलिक पहिचान प्रस्तुत गर्न यस फेस्टिभललाई महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ।
आयोजकले साउथ अस्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलगायत नेपाली संस्कृतिप्रति चासो राख्ने सबैलाई नोभेम्बर २८ मा टोरेन्स परेड ग्राउन्डमा उपस्थित भई महोत्सव सफल बनाउन आग्रह गरेको छ।
प्रतिक्रिया 4