News Summary
Generated by OK AI. Editorially reviewed.- एनपीएलमा मधेस, सुदूरपश्चिम, कर्णाली र अन्य प्रदेशका खेलाडीले एकअर्काका टिमबाट खेल्दै दर्शकको समर्थन पाएका छन्।
- गुल्सनले कर्णालीका पक्षबाट खेल्दै जनकपुरका अनिल साह, कृतराज दास र अभिषेक तिवारीलाई क्याच गरेर जनकपुरलाई पराजित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरे।
- लेखमा क्रिकेटले भौगोलिक सीमा, जातीय विविधता र क्षेत्रीय भिन्नता तोडेर नेपालीलाई एउटै साझा मञ्चमा उभ्याएको र राष्ट्र निर्माणमा सहयोग गरेको भनिएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गतको दोस्रो दिन अर्थात् मङ्गलबारको खेलमा मधेसका गुल्सनले कर्णालीका पक्षबाट खेल्दै जनकपुरका महत्त्वपूर्ण खेलाडीहरू अनिल साह, कृतराज दास र अभिषेक तिवारीलाई क्याच गरेर जब मैदानबाहिर पठाए र जनकपुरलाई पराजित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरे, दर्शकदीर्घामा रहेका राजविराजका दीपककुमार झाले उभिएर गुल्सनको अभिनन्दन गरे। गुल्सनको यो प्रदर्शनबाट खेलमा सम्प्रदायको प्रभाव खोज्नेहरू सम्पूर्ण रूपमा पराजित भएको अनुभव गरिएको थियो।
एनपीएलको चौथो दिन (बिहीबार) को दोस्रो खेलको सन्दर्भ हो। गुल्सनले २१ बलमा २८ रन बनाएर नटआउट रहँदै पूर्वको मानिने विराटनगर किङ्ग्सलाई पराजित गर्ने सन्दर्भमा कर्णाली याक्सका पक्षमा जब विजयी प्रहार गरे, त्रिभुवन विश्वविद्यालयको खेलमैदान जुरुक्क उचालियो र सम्पूर्ण दर्शकदीर्घा गुल्सनको अभिनन्दनका लागि प्रस्तुत भएको देखियो। त्यहाँ क्रिकेट मात्र थियो। नेपाल राष्ट्र र नेपाली राष्ट्रियता मात्र थियो। भूगोलको प्रभाव देखिँदैनथ्यो।
यति मात्र होइन, सुदूरपश्चिमका लोकेश बमले बिहीबार विराटनगरका लागि खेल्दै कर्णालीविरुद्ध ९ छक्का र ३ चौकाको मद्दतले ८७ रन बनाउँदा निश्चय पनि भूगोलको प्रभाव निष्प्रभावी भएको अनुभव गरियो। यस्तै सुदूरपश्चिमका आदित्य महता जनकपुरका पक्षमा खेल्नु र उनलाई मधेसले आफ्नै ठानिरहँदा, मधेसका आरिफ शेखलाई पनि सुदूरपश्चिमले हत्केलामा राखेर स्वागत गरेको अनुभूति देश जोड्ने माध्यमका पर्याय बन्न पुगेका छन्।
यस्तै सुदूरपश्चिमका भीम सार्कीले काठमाडौँको नेतृत्व गर्दै जब सुदूरपश्चिमविरुद्ध प्रहार गर्छन्, उनले आफ्नै भूगोलका तर्फबाट वाहवाही बटुल्छन्। यो क्रम यतिमा मात्र रोकिँदैन। थुप्रै यस्ता खेलाडी छन्, जसका माध्यमबाट क्रिकेटले देश जोड्ने प्रयत्न गरेको छ।

खेलकुदसँग सम्बद्ध नेपालको पहिलो संस्था निर्माण गर्न सफल नेपाली क्रिकेट ‘राष्ट्रिय’ हुन निकै वर्ष लाग्यो। तर जब यो खेलले राष्ट्रिय स्वरूप ग्रहण गर्न सक्यो, यसप्रतिको आकर्षणमा यति वृद्धि भयो कि आज नेपाली क्रिकेटका दर्शक र प्रशंसक विश्वव्यापी रूपमा चिनिन थालेका छन्।
महत्त्वपूर्ण कुरा त के भने, यसरी विश्वमा चर्चित भएका नेपाली क्रिकेटप्रेमीहरू कुनै खास जात, वर्ग, समुदाय, भूगोल र धर्मका छैनन्; सबै थरी छन्। यसैले पनि क्रिकेटले वास्तवमा ‘राष्ट्रिय’ स्वरूप ग्रहण गरेको स्वीकार गर्न सकिन्छ।
पछिल्लो समयमा यसको महत्त्व नेपालको राष्ट्र निर्माण प्रक्रियाको प्रवर्द्धनसँग पनि जोडिएको छ भनेर भनियो भने अनुचित हुनेछैन। विभिन्न देशमा राष्ट्र जोड्ने राष्ट्रियताका विविध प्रतीकलाई आमजनताले स्वीकार गरेका हुन्छन्। दक्षिण एसियाली देशहरू भारत, पाकिस्तान र श्रीलङ्कामा अन्य धेरै यस्ता प्रतीक छन्। एक प्रतीक भने क्रिकेट पनि हो।
नेपालमा राष्ट्र जोड्ने प्रतीकका रूपमा विगतमा सगरमाथा, भगवान् बुद्ध, जानकी आदिलाई मान्ने प्रयत्न गरिए पनि कताकता ती प्रतीकहरू पूर्ण रूपमा स्वीकृत हुन सकेको पाइएन।
पञ्चायतकालमा राष्ट्रियताका अनेक प्रतीकको विकास गर्न खोजियो। यसमा टोपी, झन्डा, गाई आदि प्रमुख थिए। विश्लेषण गर्ने हो भने यीमध्ये कुनैले पनि राष्ट्रिय रूपमा आम स्वीकृति प्राप्त गर्न सकेनन्, हाम्रो यथार्थ यही हो, स्वीकार्नैपर्छ।
तर, पछिल्लो समयमा राष्ट्र जोड्ने एक प्रतीकका रूपमा नेपालमा पनि क्रिकेटप्रतिको स्वीकृतिमा बढोत्तरी भएको पाउन सकिन्छ। विगतमा विदेशीको खेल भनेर जहिले पनि पन्छाइएको क्रिकेटलाई यहाँसम्म ल्याइपुर्याउन निकै सङ्घर्ष गर्नुपर्यो। प्रतिफल अहिले प्राप्त भइरहेको छ; कुनै न कुनै रूपमा यो राष्ट्रियताको प्रतीक बन्दै छ र आम नेपालीबाट स्वीकृति पाउँदै छ। त्यसैले आरिफ–आसिफ दाजुभाइ एउटै टिममा रहून् वा एकापसमा प्रतिपक्षी बनेर भिडून्, नेपालका दर्शकले दुवै भूमिकामा यिनको स्वागत गर्ने गर्दछन्।
क्रिकेट आज नेपालमा केवल एउटा खेलका रूपमा मात्र सीमित छैन। क्रिकेट त भावना, उत्साह र सिङ्गो राष्ट्रलाई एकसूत्रमा बाँध्ने एउटा शक्तिशाली माध्यम बन्न पुगेको छ। एनपीएलको तेस्रो संस्करणसम्म आइपुग्दा नेपाली क्रिकेटले जुन फड्को मारेको छ, त्यसले खेलकुदको दायरालाई फराकिलो बनाउँदै राष्ट्रिय एकता र सामाजिक सद्भावको नयाँ अध्याय सुरु गरेको मान्न सकिन्छ।
माथि पनि विश्लेषणको थोरै प्रयत्न गरियो- क्रिकेटले भौगोलिक सीमा, जातीय विविधता र क्षेत्रीय भिन्नतालाई तोड्दै नेपालीलाई एउटै साझा मञ्चमा उभिन प्रेरित गरेको छ। विश्लेषण गर्ने हो भने खेलाडीहरूको अन्तर–क्षेत्रीय सहभागितालाई एनपीएलको सबैभन्दा सुन्दर पक्षका रूपमा मान्न सकिन्छ। कुनै एक प्रदेश वा सहरमा जन्मिएका, हुर्किएका वा स्थानीय लिग खेलेका खेलाडीहरू अर्को प्रदेश वा सहरको प्रतिनिधित्व गर्दै मैदानमा उत्रिरहेका छन्।

महत्त्वपूर्ण कुरा त के भने, दर्शकले खेलाडीलाई मात्र खेलाडीका रूपमा स्वीकार गरिरहेका छन्। यही कारण हो, आदित्यले जनकपुरका लागि रन जोडिरहँदा सुदूरपश्चिमका दर्शकले हौस्याइरहेका हुन्छन् र गण्डकीका सोमपालले गण्डकीविरुद्ध प्रदर्शन गरिरहँदा गण्डकीकाले नै आनन्द मनाइरहेका हुन्छन्।
यी केही उदाहरण मात्र हुन्। सुदूरपश्चिम वा कर्णालीका खेलाडीले मधेस वा बागमतीको टिमबाट खेल्दा, अथवा पूर्वका खेलाडीले पश्चिमको फ्रेन्चाइज टिमको जर्सी लगाउँदा त्यसले एउटा अद्भुत सांस्कृतिक साटासाट सिर्जना गरेको अनुभूत गर्न सकिन्छ। अनुभूति हुन्छ- देश जोडिइरहेको छ, राष्ट्र निर्माणको प्रक्रिया पूर्णतातर्फ अग्रसर छ।
एनपीएलको अर्को महत्त्वपूर्ण पाटो भनेको दर्शकहरूको मानसिकतामा आएको सकारात्मक परिवर्तन हो। पहिले खेलहरू राष्ट्रिय टिमको तहमा मात्र हुँदा सीमित चासो हुन्थ्यो, तर फ्रेन्चाइज लिगले स्थानीय अपनत्वको भावनाको विकासलाई टेवा पुर्याएको छ।
अब लुम्बिनीको दर्शकले सुदूरपश्चिमको टिमको जितमा खुसी मनाउँछ, पोखराका दर्शकले जनकपुर वा विराटनगरको सफलतामा ताली बजाउँछन्। काठमाडौँकाले कर्णालीको विजय–पराजयको भाव अनुभूत गर्छन्। चितवन र लुम्बिनीका दर्शक खेलाडीका कारण एकअर्काप्रति निकटताको बोध गर्दछन्। कुनै एक ठाउँको खेलाडीले अर्को ठाउँको टिमबाट उत्कृष्ट प्रदर्शन गर्दा, त्यो खेलाडीको सफलतामा सिङ्गो टिम सम्बद्ध क्षेत्रका दर्शकहरूले गर्व महसुस गर्ने वातावरणको निर्माण हुनु अत्यन्तै सुखद हो।
वास्तवमा राष्ट्र निर्माण एक प्रक्रिया हो, जो कुनै न कुनै रूपमा निरन्तर जारी रहन्छ। राष्ट्र निर्माणलाई सूक्ष्म रूपमा बुझ्ने प्रयत्न गर्ने हो भने यसलाई दुई वटा सन्दर्भमा हेर्न सकिन्छ। पहिलो, समग्रमा राष्ट्र निर्माण (बन्ने) हुने कुरा र दोस्रो, निर्माण भइसकेको राष्ट्रलाई समुन्नत र समृद्ध बनाउने कुरा। तर उपयुक्त दुवैमा केही कुराको समानताको अपेक्षा गरिन्छ। त्यो के भने, त्यहाँ बसोबास गर्ने जनताको इच्छाआकाङ्क्षा, समाज, धर्मसंस्कृति, भाषासाहित्य आदिको समान स्वीकृति र प्रस्फुटनको अवस्था निर्माण हुनु अपेक्षित हुन्छ।
विद्वान् पौल जेम्सको भनाइसँग सहमति जनाउन सकिन्छ। उनले राष्ट्र निर्माणलाई राष्ट्रको संरचना वा गठन पनि भनेका छन्। उनका अनुसार बृहत् प्रक्रियाहरूका माध्यमबाट राष्ट्र बन्छ। राष्ट्र निर्माणको लक्ष्य राज्यभित्र जनताको एकीकरण हो, यसबाट अगाडिका दिनमा राज्यले राजनीतिक रूपमा स्थायित्व र सक्षमता प्राप्त गर्दछ।
राष्ट्र निर्माणका लागि जनताको एकीकरण, विविध विचार, दृष्टिकोण, सिद्धान्त र आदर्शको स्वीकारोक्ति र समावेशीकरण, छरिएर रहेका समाजलाई समेटी एकीकृत समाज निर्माण र क्रियाशील राज्य संयन्त्रको उपस्थिति आवश्यक हुन आउँछ।
सोझो अर्थमा के बुझिनुपर्छ भने, राष्ट्र निर्माणमा यी सबैको समाहितीकरण आवश्यक हुन्छ, जसले समग्र राष्ट्र निर्माताको निर्माण र प्रवर्द्धन गर्ने विश्वास गरिन्छ। यसो हुन सके देशप्रति सबैको अपनत्वभावमा अभिवृद्धि हुन्छ र देशले सिङ्गो स्वरूप ग्रहण गर्न सम्भव हुन्छ। सङ्क्षेपमा यही प्रक्रिया राष्ट्र निर्माण हो, जसको नेतृत्व राज्यले गर्ने अपेक्षा गरिन्छ।
राष्ट्र निर्माणका सन्दर्भमा थुप्रै अवयवहरूले जोड्ने र तोड्ने तत्त्वका रूपमा भूमिका निर्वाह गरिरहेका हुन्छन्। यीमध्ये कतिपय सुशुप्त हुन्छन् भने कतिपय जाग्रत्। यीमध्ये कतिपय तत्त्वले कुनै सन्दर्भमा जोड्ने र कुनै सन्दर्भमा तोड्ने तत्त्वका रूपमा भूमिका निर्वाह गरिरहेका हुन्छन्। भाषा, प्रतीक, चिह्न, झन्डा, सिद्धान्त, आदर्श, विचार, संरचना आदि यस्तै तत्त्व वा माध्यम हुन्। कतिपय अवस्थामा यो बोधगम्य हुन्छ भने कतिपय अवस्थामा बोधगम्य हुँदैन।

यस्तै एक सशक्त माध्यम हो— खेलकुद। नेपाल राष्ट्र निर्माणका सन्दर्भमा पछिल्ला दिनमा क्रिकेटले पनि जोड्ने भूमिका निर्वाह गरिरहेको छ भन्दा अतिशयोक्ति ठहरिँदैन। यसको पछिल्लो सशक्त उदाहरणका रूपमा एनपीएलको आयोजनालाई लिन सकिन्छ। नेपालजस्तो विविधतायुक्त भौगोलिक र सामाजिक बनोट भएको देशमा राष्ट्रिय एकतालाई बलियो बनाउन यस्ता अभियानहरूको ठूलो आवश्यकता हुन्छ।
राजनीति, भूगोल र अन्य विभिन्न कारणले कहिलेकाहीँ समाजमा देखिने दूरीलाई खेलकुदले सजिलै मेटाइदिन्छ। मैदानमा चौका वा छक्का प्रहार हुँदा वा विकेट लिँदा हुने उत्सवमा जात, धर्म वा क्षेत्रको भेद हुँदैन। त्यहाँ केवल राष्ट्रियता र खेलप्रतिको प्रेम मात्र हुन्छ भन्नु गलत हुँदैन।
नेपाली क्रिकेटले सम्पूर्ण देशवासीको समान रूपले माया पाउनुको एउटा कारण सायद नेपाली क्रिकेटको समावेशी स्वरूप पनि हो। वास्तवमा, माथि जसरी चर्चा गरियो, नेपाल अहिले राष्ट्र बन्ने क्रममा छ। यस सन्दर्भमा यहाँ हामीले थुप्रै तत्त्वलाई राष्ट्र जोड्ने तत्त्वका रूपमा विकसित गर्न सक्नुपर्छ। राज्यको भूमिका यहाँनिर महत्त्वपूर्ण हुन्छ। क्रिकेट उदाहरण हो, यसरी नै राज्यका अन्य पक्ष पनि पूर्ण समावेशी हुन सके देश निर्माणको प्रक्रिया सकारात्मक रूपमा प्रभावित हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन।
प्रतिक्रिया 4