News Summary
Generated by OK AI. Editorially reviewed.- अनलाइनखबरले ८ मार्च अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘५० प्रभावशाली महिला २०८३’ को सूची सार्वजनिक गर्न सोमबार मनोनयन खुला गरेको छ।
- प्रधानसम्पादक बसन्त बस्नेतले २०८० देखि महिलाको पहिचान र सम्मानका लागि यो अभियान सुरू गरिएको बताए।
- मनोनयन गर्ने समय मंसिर २०, २०८३ गते साँझसम्म तोकिएको छ र अन्तिम सूची ८ मार्चमा सार्वजनिक गरिनेछ।
१६ कात्तिक, काठमाडौं । अनलाइनखबरले यस वर्ष पनि ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ‘५० प्रभावशाली महिला २०८३’ को सूची सार्वजनिक गर्ने भएको छ । यसका लागि अनलाइनखबरले सोमबार मनोनयन खुला गरेको छ ।
‘अनलाइनखबरले हरेक वर्ष ८ मार्चमा नेपाली राजनीति, समाज, संस्कृति, खेलकुद, ज्ञान–विज्ञान आदि क्षेत्रका महिलाको अर्थपूर्ण उपस्थितिलाई सार्वजनिक मञ्चमै गणना हुने विषय बन्न सकोस् भनी ५० प्रभावशाली महिलाको सूची तयार गर्ने गरेको छ’, मनोनयनका लागि गरिएको आह्वानमा उल्लेख गरिएको छ ।
‘नेपाली पौरखी तथा साहसी अनि प्रेरणादायी महिलाहरुलाई पहिचान तथा सम्मानका लागि हामीले यो अभियान २०८० सालदेखि शुरु गरेका हौं । अनलाइनखबरले ८ मार्च (अन्तर्राष्ट्रिय महिला दिवस) को अवसरमा नेपालका ५० सबैभन्दा प्रेरणादायी र प्रभावशाली महिलालाई पहिचान गरी सम्मान गर्दै आएको छ’ अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले भने, ‘ती महिलाहरू आफ्नो क्षेत्रमा महत्त्वपूर्ण प्रभाव छोड्दै परिवर्तन ल्याउने व्यक्तिहरू हुनेछन् । महिलाको अधिकारमात्रै होइन शक्ति र सामर्थ्यलाई समेत समाजका सामू सगर्व पेश गर्न खोजेका हौं । यो महिलाको मात्रै विषय होइन, हामी सबैको दायित्व पनि हो ।’
बस्नेतले थपे, ‘अनलाइनखबरको यो प्रयत्न महिलाहरूको संघर्ष, सशक्तीकरण, निरन्तरको साधना र प्रतिभालाई उत्सवको रूपमा मनाउने एउटा महोत्सव पनि हो ।’
मनोनयनका लागि गरिएको आह्वानमा भनिएको छ, ‘आफ्नो क्षेत्रमा नयाँ उपलब्धि हासिल गरेका, स्थापित मान्यतालाई चुनौती दिएका, कठिन परिस्थितिका बाबजुद परिवर्तनको नेतृत्व गरेका र समाजमा अर्थपूर्ण प्रभाव पारेका महिलालाई तपाईंले मनोनयन गर्न सक्नुहुन्छ।’
अनलाइनखबरले २०८०, २०८१ र २०८२ सालको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पनि ५० प्रभावशाली महिलाको सूची प्रकाशन गरेको थियो ।
‘यसका लागि तपाईंले मनोनयन गर्नुभएको र हाम्रो समाचार कक्षका सहकर्मी, विभिन्न सरोकारवाला तथा स्रोतहरूले दिनुभएको सूचनामा आधारित रहेर हामी प्रारम्भिक सूची बनाउँदैछौं’, बस्नेतले भने ।
उनका अनुसार, उपलब्ध प्रारम्भिक सूचीलाई निर्णायक अर्थात् छनोट समितिसमक्ष पेश गर्ने र उनीहरूको छनोट तथा सिफारिसमा आधारित भएर ५० प्रभावशाली महिलाहरूको अन्तिम सूची ८ मार्चमा सार्वजनिक गरिनेछ ।
मनोनयन गर्ने समय मंसिर २०, २०८३ गते साँझसम्म तोकिएको छ ।
मनोनयन गर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया 4