+
+
Shares

मधेशमा सरुवाविरुद्ध वन कर्मचारी आन्दोलित, मधेश भवन अगाडि धर्ना

मधेश प्रदेशमा वन तथा वातावरण मन्त्रालय र मातहतका निकायमा कर्मचारी सरुवामा मनोमानी तथा अपारदर्शीता भएको आरोप लगाउँदै चुरे तथा वनजंगल संरक्षण अभियानले विरोध प्रदर्शन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १४:५४

१७ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा वन तथा वातावरण मन्त्रालय र मातहतका निकायमा कर्मचारी सरुवामा मनोमानी तथा अपारदर्शीता भएको आरोप लगाउँदै चुरे तथा वनजंगल संरक्षण अभियानले विरोध प्रदर्शन गरेको छ ।

अभियानका पदाधिकारी तथा सदस्यहरूले सोमबार मधेश भवनको गेट अगाडि अनुहारमा कालोपट्टी बाँधेर एक घण्टा धर्ना दिएका हुन् ।

सरुवामा राजनीतिक पहुँच र प्रभावका आधारमा विभेद गरिएको भन्दै उनीहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

अभियानका अध्यक्ष सुनिलकुमार यादवले पहुँच भएका कर्मचारीको सरुवा रोकिएको र पहुँच नभएकालाई मात्रै सरुवा गरिएको आरोप लगाए ।

मुख्यमन्त्री तथा मन्त्रालयका अधिकारीहरूको आदेशमा केही कर्मचारीको सरुवा रोकिएको भन्दै उनले त्यसको आधार र निर्णयकर्ताबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गरे ।

धर्नापछि अभियानले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रदेशका प्रमुख सचिवलाई सातबुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा सरुवा अवधि पूरा गरेका कर्मचारीको निष्पक्ष र पारदर्शी सरुवा गर्नुपर्ने, सबै निकायमा समान सरुवा मापदण्ड लागू गर्नुपर्ने, सरुवामा भएका त्रुटि सच्याउनुपर्ने तथा कर्मचारीलाई अनिवार्य रूपमा फरक जिल्लामा पदस्थापन गर्नुपर्ने माग गरिएको छ ।

यस्तै, राजनीतिक संरक्षण र अपारदर्शी चलखेल बन्द गर्नुपर्ने, सरुवा रोक्नुको कारण सार्वजनिक गर्नुपर्ने तथा महिला र नवप्रवेशी कर्मचारीमाथिको विभेद र मानसिक दबाब अन्त्य गरी सम्मानजनक कार्यस्थल सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।

अध्यक्ष यादवले दीपावलीअघि माग सम्बोधन गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । माग पूरा नभए मन्त्रालय तथा मुख्यमन्त्री कार्यालय अगाडि थप सशक्त धर्ना र प्रदेशव्यापी निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?