+
+
Shares

सभामुखलाई भेटेर कांग्रेसले भन्यो- संसद्लाई लामो समय खाली राख्न हुँदैन

‘गम्भीर विषयहरू आएको र आएका विषयमा संसद् बाहिर छलफल गर्नभन्दा संसदमा छलफल हुनुपर्ने र यसका लागि छिटो संसद बैठक बोलाउनुपर्ने भनेर सभामुखलाई भनेको छु’, उनले भने । 

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १६:५९

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले संघीय संसद्को अधिवेशन जतिसक्दो चाँडो बोलाउनुपर्नेमा विपक्षी दलहरू एकमत रहेको सन्देश सभामुख डोलप्रसाद अर्याल पुर्‍याएको छ । मंगलबार प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख अर्याललाई भेट्न सिंहदरबार पुगेका थिए ।

सभामुखसँगको भेटपछि आङ्देम्बेले संसदलाई लामो समय खाली राख्न नहुने बताएका हुन् ।  ‘गम्भीर विषयहरू आएको र आएका विषयमा संसद् बाहिर छलफल गर्नभन्दा संसदमा छलफल हुनुपर्ने र यसका लागि छिटो संसद बैठक बोलाउनुपर्ने भनेर सभामुखलाई भनेको छु’, उनले भने ।

उनले सभामुख अर्यालसँग भएको संवादबारे अगाडि भने, ‘संसद्लाई लामो समय खाली राखेर बस्नु राम्रो हुँदैन भन्ने छलफल भएको छ ।’

उक्त भेटमा आङ्देम्बेले कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णय र सोमबार विपक्षी दलका नेताहरूबीच भएको छलफलबारे पनि सभामुख अर्याललाई जानकारी गराएका छन् ।

विपक्षी दलहरूले पत्रकार धरपकड लगायत सरकारका विवादित विषयबारे निश्पक्ष छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको थियो ।

यसका लागिसमेत संघीय संसद्को अधिवेशन जतिसक्दो छिटो बोलाउनुपर्ने विपक्षी दलहरूको माग छ ।

संघीय संसद्को अघिल्लो अधिवेशन १६ असोज २०८३ मा अन्त्य भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?