+
+
Shares

‘भीम सानै हुन नपाउने हो र ?’ जीतु नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता जीतु नेपालले कार्तिक २० गतेदेखि रिलिज हुने फिल्म ‘पाँच पाण्डव’मा भीमसेनको चरित्र निभाएको बताएका छन्।
  • जीतुले आफू पूर्ण रूपमा भीम होइन, इँटाभट्टाको मजदुर भएकाले निर्देशकको निर्देशन र कथाअनुसार अभिनय गरेको बताए।
  • उनले फिल्ममा हरिवंश आचार्यसँग पहिलोपटक स्क्रिन सेयर गरेको र भीमकी श्रीमतीको भूमिकामा दीपा दिदीसँग काम गरेको बताए।

यही कार्तिक २० गतेदेखि रिलिज हुने फिल्म ‘पाँच पाण्डव’मा भीमसेनको चरित्रमा देखिँदैछन्, अभिनेता जीतु नेपाल । फिल्मको ट्रेलरमा जीतुलाई अभिनेता हरिवंश आचार्यले ‘भीम’ भनेर बोलाउँदा ‘म त भीमसेन हुँ’ भनेको दृश्य राखिएको छ ।

भीम भन्नासाथ महाभारतको त्यो चरित्रको सम्झना आउँछ, जो पाँच पाण्डवमध्ये सबैभन्दा बलिया थिए । तर, ट्रेलरमा जीतुलाई भीमका रूपमा प्रस्तुत गरिएपछि उनी कसरी भीम भए भन्ने चर्चा नचलेको पनि होइन ।

‘यो सही कुरा हो । किनभने भीमभन्दा सबैले ठूलो चरित्रलाई बुझ्छन् । तर, फिल्ममा मेरो चरित्र पनि रमाइलो नै छ । किनभने यो ठ्याक्कै पाँच पाण्डवकै कथा होइन । कसैले मलाई ‘तँ भीम होस्’ भनेर सोध्ने पनि होइन’, जीतु भन्छन्, ‘मैले आफैँ भीम हुँ भनेको छैन । कसैले त्यो चरित्र सम्झन त पायो । कसैले भीम सानो हुनुभयो पनि भने । तर, भीम सानै हुन नपाउने भन्ने त होइन नि ।’

जीतुका अनुसार उनले चरित्रका लागि धेरै तयारी पनि गरेका रहेनछन् । किनकि उनलाई थाहा थियो, उनी फिल्ममा पूर्ण रूपमा भीम होइनन् । ‘फिल्ममा म इँटाभट्टाको मजदुर हुँ । त्यसकारण मैले निर्देशकको निर्देशन र कथाअनुसार जे माग छ, त्यहीअनुसार गरेको हुँ’, जितु भन्छन् । उनै जितुसँग फिल्मको पात्र निर्माण विषयमा गरिएको छोटो कुराकानी ।

पाँच पाण्डवको के कुराले फिल्ममा जोडिनुभयो ?

निर्देशक वसन्त निरौलासँग मैले ‘ज्वाइँ साब’मा काम गरिसकेको थिएँ । लेखक सुशील पौडेलजीसँग पनि पुरानै सम्बन्ध थियो । निर्माता नवीन श्रेष्ठसँग उहाँले फिल्म ‘लाज शरणम्’ बनाउँदा नै चिनजान भएको थियो । प्रायः भेटघाट भइरहने हुँदा फिल्म गरौँ भन्ने कुरा भयो । अनि पाँच जना पाण्डव चाहिने भएपछि म पर्ने कुरा भइहाल्यो ।

टिजर हेर्दा तपाईं भीमसेनको चरित्रमा हुनुहुन्छ । त्यो चरित्रमा फिट छु भन्ने लाग्यो ?

यो सही कुरा हो । किनभने भीमभन्दा त निकै ठूलो चरित्र भन्ने बुझिन्छ । त्यही कुरा रमाइलो छ । किनभने यो ठ्याक्कै पाँच पाण्डवकै कथा होइन । कसैले ‘तँ भीम होस्’ भन्ने होइन । हामीले ट्रेलर र टिजरमा देखाइसकेका छौँ । युधिष्ठिर स्वर्गमा दाजुभाइबिना दुःखी हुनुहुन्छ, सुखी हुनुहुन्न ।

उहाँलाई चार जना भाइहरूको सम्झना आउँछ । अनि ५१ सय वर्षपछि पनि कुनै न कुनै रूपमा जन्मिएका होलान् नि मेरा भाइहरू भनेर सोच्नुहुन्छ । उनीहरू नेपाल नगरीमा छन् भन्ने थाहा पाएपछि खोज्दै आउनुहुन्छ । अनि ‘तँ भीम होस्’, ‘तँ अर्जुन होस्’, ‘तँ मेरो नकुल होस्’ भनेर चिनाउनुहुन्छ । मैले आफैँ भीम हुँ भनेको छैन । कसैले त्यो चरित्र सम्झन त पायो नि । कसैले भीम सानो हुनुभयो पनि भने । तर, भीम सानै हुन नपाउने भन्ने त होइन नि ।

चरित्रका लागि तयारी गर्नुभएको थियो कि थिएन ?

मैले अलिअलि गरेँ । म पूर्ण रूपमा भीम होइन । हामी त पाण्डवको एउटा अंश मात्र रहेछौँ । कतै न कतै जोडिन्छन् भन्ने कल्पनामा आउने हो । नत्र हामी पूर्ण रूपमा भीम पात्र होइनौँ । म इँटाभट्टाको मजदुर हुँ । त्यसकारण मैले निर्देशकको निर्देशन र कथाअनुसार जे माग छ, त्यहीअनुसार गरेको हुँ ।

धर्मसँग जोडिएको कथामा फिल्ममा काम गर्दा कस्तो अनुभव हुँदो रहेछ ?

त्यो त एकदमै राम्रो । अवश्य पनि महाभारतजस्तो, पाण्डवजस्तो चरित्रमा फिल्म बन्छ भन्दा त्यस्तो कथाको फिल्ममा जोडिन पाउँदा मलाई खुशी लागेको छ । यसको विषय राम्रो छ । किनभने हामीले पोस्टर र ट्रेलरका लागि पाण्डवको जस्तो आउटलुक बनाएका छौँ । तर, बाँकी कुरा सामान्य नै हुन् ।

यो फिल्ममा काम गर्दा तपाईंलाई चुनौती चाहिँ के थियो ?

यो फिल्ममा मेरो जोडी नै दीपा दिदी हुनुहुन्छ । मैले यसअघि पनि दीपा दिदीसँग काम गरेको छु । तर, यसमा चाहिँ भीमकी श्रीमतीको भूमिका आएको छ । त्यो नौलो अनुभव भयो । अर्को कुरा, हरिवंश आचार्यज्यूसँग पहिलोपटक स्क्रिन सेयर गरेँ । युधिष्ठिरले भीमलाई सम्झाउने दृश्य मेरा लागि फरक अनुभव रह्यो ।

अनि पाँच पाण्डव छन्, अरू पनि कलाकार हुनुहुन्छ । यो धेरै ठूलो क्यानभास र कलाकारहरूको जमघट भएको फिल्ममा म आफू कसरी प्रस्तुत हुने, कुन रूपमा जितुलाई सम्झेलान् भन्ने कुरामा आफ्नो चरित्रलाई फोकस गरेको छु ।

तपाईंसँग जोडिएको फिल्ममा दर्शकले कमेडी पनि हेर्न चाहन्छन् । त्यो चाहना पूरा हुन्छ कि हुँदैन ?

त्यो चाहना केही हदसम्म पूरा हुन्छ । हल्का रूपमा हुन्छ । किनभने यो एउटै मान्छेको कथा होइन, पाँच जना भाइको कथा हो । त्यसकारण हरेक कलाकारका आ–आफ्ना पाटा छन् । आ-आफ्ना कथा छन् । कथाले र दृश्यले जति मागेको छ, त्यहीअनुसार हाम्रो कमेडी छ । त्यो ट्रेलरमा पनि देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?