१८ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयको ७०५ रोपनी जग्गा फिर्ता ल्याइएको बताएका छन् । मन्त्री पोखरेलले बुधबार फेसबुकमार्फत यो कुरा सार्वजनिक गरेका हुन् ।
‘हामीले मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिनदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि) को गुमेको गरिमा फर्काउन र यसका सम्पत्तिको पूर्ण संरक्षण गर्न दृढ कदम चाल्ने संकल्प लिएका थियौँ,’ मन्त्री पोखरेलले फेसबुकमा लेखेका छन्, ‘वर्षौंदेखि ओझेलमा परेको र अव्यवस्थित बनेको त्रिविको जग्गा फिर्ता ल्याउने कार्य हाम्रो उच्च प्राथमिकतामा थियो ।’
मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै अतिक्रमित तथा अनधिकृत रूपमा प्रयोग भएका जग्गाहरू खाली गराउन निर्देशन दिएको उनले उल्लेख गरेका छ ।
‘सोहीअनुसार त्रिवि प्रशासनले पत्राचार गरेको थियो।त्रिवि प्रशासनसँगको निरन्तर समन्वय, दृढ इच्छाशक्ति र प्रशासनिक कदमको परिणामस्वरूप ६ महिनाको अवधिमै काठमाडौँ उपत्यकाभित्र मात्रै त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता गर्न हामी सफल भएका हौँ,’ उनले भनेका छन् ।
विश्वविद्यालयको शैक्षिक वातावरण सुधार गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न र आगामी दिनमा अत्याधुनिक अनुसन्धान केन्द्र तथा शैक्षिक पूर्वाधार निर्माण गर्न यो जग्गा अब पूर्ण रूपमा त्रिविकै हितमा उपयोग हुने उनले बताए ।
प्रतिक्रिया 4