+
+
Shares

गुणस्तर मापन र प्रमाणीकरण अब स्वदेशमै, ‘नेपाल प्रत्यायन केन्द्र’ सुरु

केन्द्र सञ्चालनसँगै अब स्वदेशी प्रयोगशाला, मेडिकल ल्याब, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा पाउने बाटो खुलेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १८:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन ‘नेपाल प्रत्यायन केन्द्र’ सञ्चालनमा ल्याएको छ ।
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले बुधबार काठमाडौं त्रिपुरेश्वरमा केन्द्रको औपचारिक उद्घाटन गरे ।
  • केन्द्र सञ्चालनपछि स्वदेशी प्रयोगशाला, मेडिकल ल्याब, निरीक्षण र प्रमाणीकरण संस्थाले नेपालमै प्रत्यायन सेवा पाउनेछन् ।

१८ कात्तिक, काठमाडौं । सरकारले नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन र उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवाको सुनिश्चितता दिलाउने उद्देश्यले ‘नेपाल प्रत्यायन केन्द्र’ सञ्चालनमा ल्याएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत स्थापित यस केन्द्रको बुधबार विभागीय मन्त्री दीपककुमार साहले काठमाडौं त्रिपुरेश्वरमा औपचारिक उद्घाटन गरे ।

सरकारले यस केन्द्रको स्थापनालाई नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणको क्षेत्रमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा लिएको छ ।

केन्द्र सञ्चालनसँगै अब स्वदेशी प्रयोगशाला, मेडिकल ल्याब, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा पाउने बाटो खुलेको छ ।

यसअघि यस्तो मान्यताप्राप्त गर्न विदेशी निकायको भर पर्नुपर्ने बाध्यता थियो । मन्त्रालयका अनुसार स्वदेशमै सेवा उपलब्ध भएपछि उद्योगी तथा व्यवसायीको परीक्षण र प्रमाणीकरणमा लाग्ने समय र चर्को खर्च कटौती हुनेछ ।

त्यस्तै साथै खाद्य पदार्थ, औषधिजन्य उत्पादन, निर्माण सामग्री, विद्युतीय उपकरण लगायत वस्तुको गुणस्तर परीक्षण गर्ने संस्थाहरूको विश्वसनीयता बढ्ने छ । यसबाट अन्ततः आम उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षणमा सकारात्मक प्रभाव पर्ने सरकारको अपेक्षा छ ।

निर्यात प्रवर्द्धन र अन्तर्राष्ट्रिय मान्यतामा जोड

नेपाली उत्पादनलाई विश्व बजारमा सम्मानजनक स्थान दिलाउन यस केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय प्रत्यायन तथा पारस्परिक मान्यताको व्यवस्था विकास गरेर निर्यात व्यापारलाई सहज बनाउने सरकारको लक्ष्य छ ।

यसबाट नेपाली वस्तुको गुणस्तरप्रति विश्व बजारको विश्वास बढ्ने र निर्यातकर्ताहरूले भोग्दै आएका प्रक्रियागत झन्झट न्यूनीकरण हुने बताइएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले मन्त्रालयको दायित्व उद्योग खोल्ने वातावरण बनाउनु मात्र नभई नेपाली उद्योगलाई विश्व बजारमा स्थापित गर्नु रहेको बताएका छन् ।

नागरिकले सुरक्षित वस्तु पाउनुपर्ने र उद्योगीले अनावश्यक झन्झटबाट मुक्ति पाउनुपर्ने मान्यतालाई मन्त्रालयले आत्मसात् गरेको उनको भनाइ छ ।

आगामी दिनमा नेपाल प्रत्यायन केन्द्रको प्राविधिक तथा संस्थागत क्षमता विकास गर्ने, अन्तर्राष्ट्रिय मान्यता प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने र स्वदेशी प्रयोगशालाहरूको क्षमता अभिवृद्धि गर्ने कार्यलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?