News Summary
Generated by OK AI. Editorially reviewed.- सूचना तथा सञ्चार मन्त्रालयले केन्द्रिय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको ‘पाँच पाण्डव’को प्रदर्शन तत्काल रोक्न आदेश दिएको छ।
- निर्माण पक्षका अनुसार नेपालगञ्जका प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा फिल्म रोक्न आग्रह गरेपछि गृह मन्त्रालयले सञ्चार मन्त्रालयलाई प्रदर्शन नगराउन निर्देशन दिएको थियो।
- फिल्मको थिम पोस्टरपछि असन्तुष्ट समूहले आस्थामाथि चोट पुगेको भन्दै आलोचना गरेपछि हरिवंश आचार्यमाथि अनर्गल आरोप लगाउँदै बहिष्कारको अभियान चलाएको बताइएको छ।
सबै कुरा ठीकठाक हुँदो हो त यतिबेला ‘पाँच पाण्डव’ टिम प्रचारप्रसारको अन्तिम तयारीमा जुटिरहेको हुन्थ्यो । किनभने, आउँदो शुक्रबारदेखि फिल्म प्रदर्शन हुँदै थियो । केन्द्रिय चलचित्र जाँच समितिले यो फिल्म सार्वजनिक रूपमा प्रदर्शन गर्न कुनै आपत्ति छैन भन्दै ‘युनिभर्सल सर्टिफिकेट’ दिइसकेको थियो । अर्थात्, सेन्सर बोर्डले भनेको थियो, ‘तिम्रो फिल्म प्रदर्शनमा कुनै समस्या छैन, निर्धक्क देखाउन सक्छौ ।’
हिजो मात्र सेन्सर बोर्डको अनुमति पाएको फिल्म साँझतिर भने रोकिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले पत्राचार गर्दै फिल्म निर्माण टिमलाई तत्काल यो फिल्म प्रदर्शन नगर्न आदेश दिएको बताइन्छ । यसले फिल्म निर्माण टिमलाई ठूलो झड्का लागेको छ ।
‘बुकिङ नखोल्नु, गृह सचिवको ठाडो आदेश छ’ भन्दै मन्त्रालयका कर्मचारीले फोन गरेको स्रोत बताउँछ । स्रोतका अनुसार, ‘चिठी बुझ्न सिंहदरबार आउनु भनिएको छ ।’
फिल्म निर्माण पक्षका अनुसार नेपालगञ्जका प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा सो फिल्म रोक्न आग्रह गरेका थिए । ‘सोहीअनुरूप गृह मन्त्रालयले सञ्चार मन्त्रालयलाई फिल्म प्रदर्शन नगराउन आदेश दिएको थियो,’ स्रोत भन्छ । फिल्म प्रदर्शनमा रोक लगाइएकोमा फिल्मकर्मीहरूले आपत्ति जनाएपछि चलचित्र विकास बोर्डले ‘यस विषयमा भोलि छलफल गरेर सबै कुरा मिलाउँला’ भनेको स्रोतको भनाइ छ ।
फिल्मको थिम पोस्टर सार्वजनिक भएसँगै एउटा समूह यसप्रति असन्तुष्ट थियो । उनीहरूले यो फिल्मले आफ्नो आस्थामाथि चोट पुर्याएको भन्दै आलोचना गरिरहेका थिए । फिल्मका मुख्य पात्र हरिवंश आचार्य यसका मुख्य निशानामा थिए । हरिवंश आचार्यमाथि अनर्गल आरोप लगाउँदै उनको फिल्म ‘बहिष्कार गर्नुपर्छ’ भन्ने समूह सुरुदेखि नै सक्रिय थियो । तिनै समूहको दबाबका कारण फिल्म प्रदर्शन रोक्न सूचित गरिएको निर्माण पक्षको भनाइ छ ।
झट्ट हेर्दा फिल्म ‘महाभारत’माथि बनेको जस्तो देखिए पनि फिल्मले त्यसलाई केवल लाक्षणिक रूपमा मात्र जोडेको छ । फिल्मको कथा मूलतः दाजुभाइबीचको सम्बन्धमा केन्द्रित छ ।
प्रतिक्रिया 4