+
+
Shares

एआईबाट वन्यजन्तुसम्बन्धी भ्रामक फोटो र भिडियो नबनाउन वन कार्यालयको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते ८:५२

१९ कात्तिक, अर्घाखाँची । डिभिजन वन कार्यालय अर्घाखाँचीले कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग गरी संरक्षित तथा संवेदनशील वन्यजन्तुसम्बन्धी भ्रामक फोटो तथा भिडियो निर्माण र सामाजिक सञ्जालमा प्रसारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

पछिल्लो समय एआई प्रविधिको प्रयोग गरी विभिन्न प्रकारका फोटो तथा भिडियो निर्माण गरेर सामाजिक सञ्जालमा प्रकाशन गर्ने क्रम बढ्दै गएको भन्दै कार्यालयले यस्तो प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काका अनुसार विशेषगरी पाटेबाघ, चितुवालगायत संरक्षित तथा संवेदनशील वन्यजन्तुसँग सम्बन्धित वास्तविकताभन्दा फरक र कृत्रिम रूपमा तयार गरिएका फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रसारण भइरहेको जानकारी प्राप्त भएको छ ।

यस्ता कृत्रिम तथा भ्रामक सामग्रीले वन्यजन्तुको वास्तविक अवस्था र व्यवहारबारे गलत धारणा सिर्जना गर्नुका साथै मानव–वन्यजन्तु सहअस्तित्वबारे नकारात्मक सन्देश प्रवाह गर्न सक्छन् । यसले सर्वसाधारणमा अनावश्यक त्राससमेत फैलाउन सक्ने सूचना अधिकारी खड्काले बताए ।

वन्यजन्तुसम्बन्धी गलत सूचना र नकारात्मक सन्देश प्रवाह हुन नदिन यस्ता सामग्री उत्पादन, प्रकाशन तथा प्रसारण नगर्न कार्यालयले सबैमा अनुरोध गरेको छ ।

साथै, सामाजिक सञ्जालमा कुनै पनि सामग्री प्रकाशन वा साझा गर्नुअघि त्यसको सत्यता र सम्भावित प्रभावबारे सचेत रहन कार्यालयले आग्रह गरेको छ । वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न सम्पूर्ण जिल्लावासीलाई डिभिजन वन कार्यालय अर्घाखाँचीले अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?