News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णालीमा मंसिर १६ देखि २७ गते हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक तयारी पूरा भएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनुभयो।
- मन्त्री पोखरेलले आगामी एक साताभित्र रङ्गशाला प्रदेश सरकार मातहत आउने र उपसमितिका सदस्यहरू अब कर्णालीमै बसेर काम गर्ने जानकारी दिनुभयो।
- उहाँले विद्यालय, कलेज र मध्यपश्चिम विश्वविद्यालयसँग समन्वय गरेर विद्यार्थीलाई खेलमा जोड्ने र पाठ्यक्रममा खेलकुदलाई प्राथमिकता दिने नीति लिएको बताउनुभयो।
कर्णाली प्रदेशमा हुने ‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता’ सुरु हुन अब २८ दिन मात्रै बाँकी छ । आगामी मंसिर १६ गतेदेखि २७ गतेसम्म हुने देशकै ठूलो खेल प्रतियोगिताको तयारी भने निकै कमजोर र फितलो देखिन्छ ।
कर्णाली प्रदेशमा पहिलो पटक हुन लागेको प्रतियोगिता दुई वर्षअघि अर्थात् २०८१ मंसिरमै सम्पन्न भइसक्नुपर्ने थियो । तर मिति तय गरिएको पाँचौं पटकमा प्रतियोगिता हुने निश्चित भएको छ । प्रतियोगिताको सहआयोजक र खेल आयोजनास्थल कर्णाली रहे पनि मूल आयोजक भने राष्ट्रिय खेलकुद परिषद् रहेको छ ।
तीनै तहका सरकारको समन्वय र सहकार्यमा सम्पन्न हुने उक्त प्रतियोगिताको तयारी, समन्वय र खेल पूर्वाधारको अवस्था कस्तो छ भन्नेबारे दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिका संयोजक एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग अनलाइनखबरका यज्ञ खत्रीले गरेको कुराकानी :
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिक आइसकेको छ । तयारी कस्तो छ ?
प्रतियोगिताका लागि औपचारिक रूपमा जे–जे चाहिन्छ, सबै पूरा भइसकेको छ । हामीले कतिपय प्राविधिक काम पनि सम्पन्न गरिसकेका छौँ । खरिद प्रक्रियादेखि मैदान व्यवस्थापनसम्मका काम भइसकेका छन् ।
प्रचार–प्रसारमा केही कमी थियो । जुन किसिमले सबैतिर यति ठूलो दशौं राष्ट्रिय खेलकुद हुँदैछ, त्यो खालको उत्साह हुनुपर्ने थियो, त्यो चाहिँ अलिकति कम भएको हो कि भनेर हामी यता आएका हौँ । त्यसकै लागि हामीले ३० दिनको काउन्टडाउन पनि सुरु गरेका छौँ ।
औपचारिक तयारी पूरा गरेर यसलाई फेस्टिभलको रूपमा भव्यताका साथ मनाउनका लागि अग्रसर भएका छौँ ।
तपाईंले दाबी गरे जस्तो सबै तयारी पूरा भएको फिल्डमा त देखिँदैन नि ? अहिले पनि तयारीका धेरै काममा संघ–प्रदेशले एकअर्कालाई देखाउँदै पन्छिएको पाइन्छ ।
हामीलाई त्यस्तो महसुस भएको छैन । हिजो मात्रै प्रदेशका मुख्यमन्त्री, सामाजिक विकास मन्त्रीसँग पनि बस्यौँ, त्यहाँ एकदमै राम्रोसँग कुरा भयो । उहाँहरूले आफ्नो ठाउँबाट जे–जे गर्नुपर्ने हो, गरिरहनुभएको छ ।
हाम्रो तर्फबाट पनि हुनुपर्ने काम भइरहेको छ । प्रतियोगितालाई भव्य बनाउन प्रदेश र संघीय सरकारबीच नियमित संवाद भइरहेको छ । तयारीबारे अपडेट पनि भइरहेको छ । प्रदेश सरकार मात्र नभई हामीले स्थानीय तहसँग पनि नियमित छलफल गरिरहेका छौँ । तीनै तहका सरकारबीच समन्वय र सहकार्य मिलेको छ । हामीबीच मतभेद केही छैन ।
प्रतियोगितालाई लिएर तीन तहका सरकारबीच कार्यविभाजन कसरी भइरहेको छ ?
मूल आयोजक अब संघीय सरकारको रूपमा हुँदै गर्दा संघीय सरकारले गर्नुपर्ने कुराहरू, यो प्रतियोगिताको तयारी, कति वटा खेल गर्ने, कसरी गर्ने, त्यसको प्रक्रिया कस्तो हुने र पुरस्कार वितरणदेखि सबै कुरा संघीय सरकारले गरिरहेको छ ।
यता, प्रदेशमा आएर आवासीय व्यवस्था मिलाउनुपर्ने हुन्छ, यातायातको व्यवस्था मिलाउनुपर्ने हुन्छ । ती सबै काम प्रदेश सरकारले गरिरहेको छ । हामीले विभिन्न उपसमिति बनाएका छौँ । उपसमितिमा संघीय सरकार, प्रदेश सरकार सबैको प्रतिनिधित्व छ । विशेषगरी ग्राउन्डको मेन्टेनेन्स, आवास, यातायात प्रदेश सरकारले हेरिरहेको छ ।
पर्यटन प्रवद्र्धन गर्न स्थानीय सरकारले पनि भूमिका खेलिरहेको छ ।
प्रतियोगिता सफल बनाउन १४ वटा उपसमिति छन् । जसमा १० वटा संघीय सरकारले बनाएको छ भने चार वटा प्रदेशमा बनेका छन् । संघले बनाएका उपसमिति फिल्डमा देखिएका छैनन् । उहाँहरू कहिलेदेखि फिल्डमा खटिनुहुन्छ ?
यो विषयमा हामीले गहन छलफल गरेका छौँ । अबदेखि हरेक उपसमितिको एक जना सदस्य अनिवार्य रूपमा कर्णालीमै बसेर समन्वयात्मक रूपमा काम गर्नु हुनेछ । उहाँहरूले अहिलेसम्म काठमाडौंमै बसेर काम गरिरहनुभएको थियो । किनभने, खरिद प्रक्रियालगायतका धेरै काम काठमाडौंबाट भएको हुनाले त्यो भिजिबल नभएको हुनसक्छ ।
अब २८ दिन मात्र बाँकी छ । लगभग सबै प्रक्रियाहरू सकिइसकेको हुनाले यताका हरेक उपसमितिका कम्तीमा एक जना साथीहरू यतै बसेर काम गर्ने कुरा भएको छ । केही कमजोरीहरू हुन सक्छन्, त्यसलाई अगाडि नै पहिचान गरेर म वीरेन्द्रनगर आएको हुँ । आज सुर्खेत पुगेर रङ्गशाला तथा खेल पूर्वाधारहरूको प्रत्यक्ष अवलोकन गरेपछि दशौं राष्ट्रिय खेलकुदका लागि कर्णाली तयार रहेको छ भन्ने देखिन्छ ।

यो प्रतियोगितालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश दिन कस्तो पहल गर्नु हुनेछ ?
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता दुई–तीन वर्ष अगाडि नै हुनुपर्ने थियो । विभिन्न बहानामा समयमै हुन सकेन । चार–पाँच पटक त मिति नै सारियो । जसले गर्दा कतिपयलाई आजकै दिनसम्म पनि आयोजना नहुने पो हो कि भन्ने लागिरहेको छ । कतिपयलाई यति चाँडो कसरी हुन थाल्यो, यो राम्रो हुँदैन कि भन्ने पनि छ ।
तर, हाम्रो जुन किसिमको तयारी छ, जुन किसिमको टिम बनाएका छौँ, जसरी सबैजना दिनरात खटिएर काम गरिरहनुभएको छ । तीनै तहका सरकारले आ–आफ्नो जिम्मेवारी पूरा गरिरहनुभएको छ । त्यसकारण यो प्रतियोगिता भव्य रूपमा सम्पन्न हुनेमा कुनै दुविधा छैन ।
खेलाडीको आवास व्यवस्थापनदेखि खेल संरचनाहरू अहिलेसम्म सरकारलाई हस्तान्तरण भइसकेको छैन । फ्लडलाइटदेखि अन्य स–साना कामहरू गर्न बाँकी नै छ । समय कम छ तर गर्नुपर्ने काम धेरै नै छ । यसलाई कसरी पूरा गर्नुहुन्छ ?
यो विषयमा पनि प्रदेश सरकारसँग कुरा भएको छ । उहाँहरूले एक साताभित्र रङ्गशाला प्रदेश सरकार मातहत आउने जानकारी दिनुभएको छ । त्यसका लागि प्रदेश सरकारले प्रक्रिया थालिसकेको छ ।
भनेको जति तयारी भएन कि भन्ने किन पनि लागेको हुनसक्छ भने, हाम्रा अधिकांश तयारीका काम काठमाडौंबाट भएका छन् । कति खेलाडी आउने, दर्शक कति हुनेलगायतका सबै कुराहरू सुरुदेखि नै अनुमान गरेर विभिन्न चरणमा तयारी गरेका छौँ ।
दशौं प्रतियोगिता आयोजना गर्न के–कस्ता चुनौती देख्नुहुन्छ ?
अहिलेसम्म त्यति ठूलो चुनौती देखेका छैनौँ । सबै कुरा स्मुथ्ली गइरहेको छ । जुन लेभलमा आयोजनाको प्रमोसन हुनुपर्ने थियो, त्यो चाहिँ भइरहेको थिएन । हामीले त्यही कमजोरी देखेर नै यो भ्रमण तय गरेका थियौँ । अब त्यो पनि समाधान भएको छ ।
यो प्रतियोगिताकै लागि भनेर कर्णालीमा भव्य खेल संरचनाहरू निर्माण भएका छन् । यसअघि प्रतियोगिताका लागि भनेर अन्य शहरहरूमा निर्माण गरिएका खेल संरचनाहरूमा ताला लागेको छ । केही खण्डहर बनेका छन् । यहाँका संरचनाहरूलाई प्रतियोगितापछि पनि चलायमान बनाउन संघीय सरकारले कस्तो भूमिका खेल्छ ?
फुटबल, क्रिकेटलगायतका राष्ट्रिय प्रतियोगिताहरूलाई डोमेस्टिक लेभलमा लाने विषयमा छलफल गरिरहेका छौँ । फुटबलका पनि कपहरू सञ्चालन गर्ने प्रक्रिया अगाडि बढिरहेको छ । निजी कम्पनीहरू पनि यस्ता खालका खेल प्रतियोगिता गर्ने भनेर अगाडि आइरहनुभएको छ । एनपीएल अहिले चलिरहेको छ । अर्को वर्षदेखि काठमाडौं बाहिरका शहरहरूमा पनि प्रतियोगिता गर्नेबारे छलफल भइरहेको छ ।

फुटबलको डोमेस्टिक लिग नभएको वर्षौं भइसकेको छ । त्यसलाई पनि सुचारु गर्ने तयारीमा छौँ । जसले गर्दा राष्ट्रिय खेलकुद मात्र नभई यस्ता किसिमका प्रतियोगिता हुँदै गएपछि यहाँका खेल संरचनाको पनि उपयोग हुनेछ ।
अहिलेको सरकारले शिक्षा र खेलकुद सँगसँगै लैजाने भन्दै मन्त्रालयको नाम नै शिक्षा तथा खेलकुद राखेको छ । देशकै ठूलो खेल प्रतियोगिता भइरहँदा यसमा शिक्षा क्षेत्र कसरी जोडिएको छ ? हाम्रा विद्यालय, कलेज र विश्वविद्यालयहरू कहाँनेर जोडिएका छन् ? यो इभेन्टमा शिक्षाको इन्भल्भमेन्ट खै ?
हामीले शैक्षिक पाठ्यक्रममा नै खेलकुदलाई प्राथमिकता दिएर निर्माण गर्ने नीति लिएका छौँ । दशौं राष्ट्रिय खेलकुद जस्ता राष्ट्रिय स्तरका प्रतियोगिताहरू शिक्षाका लागि किन पनि महत्त्वपूर्ण छन् भने, खेलाडी उत्पादनको जग त विद्यालयहरू नै हुन् । खेल क्षेत्रको विकासका लागि ग्राउन्ड लेभलबाटै खेलाडी उत्पादन गर्न सक्नुपर्छ । सानै उमेरबाट रिकग्नाइज गर्न सक्नुपर्छ भनेर हामीले विशेष प्राथमिकता दिएका छौँ ।
खेल र शिक्षा बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यका लागि पनि एकदमै महत्त्वपूर्ण छ । पछिल्लो समय बालबालिकामा मानसिक रूपमा डिप्रेसन जस्ता समस्या झनै बढ्दै गएको देखिन्छ । उनीहरू सानो हार पनि स्वीकार्न सकिरहेको देखिँदैन । खेलकुदले जितलाई सेलिब्रेट गर्न र हारलाई स्वीकार्न सिकाउँछ ।
हामीले दशौं राष्ट्रिय प्रतियोगितामा कर्णालीमै रहेको मध्यपश्चिम विश्वविद्यालयलाई जोड्नका लागि समन्वय गरिरहेका छौँ । कतिपय विद्यालयहरूसँग पनि समन्वय गरेर विद्यार्थीहरूलाई पनि सहभागी गराउँदै छौँ । जसले गर्दा विद्यार्थीहरूलाई पनि खेल देखेर खेलाडी बन्ने प्रेरणा मिलोस् । यसरी हामीले विद्यालयदेखि विश्वविद्यालयसँग समन्वय गरेर जोड्ने काम गरिरहेका छौँ ।
प्रतिक्रिया 4