+
+
Shares

चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वपोलिटब्युरो सदस्य मा जिङरुईमाथि पदको दुरुपयोग गरी ठूलो परिमाणमा घुस लिएको अभियोग लगाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वपोलिटब्युरो सदस्य मा जिङरुईमाथि पदको दुरुपयोग गरी ठूलो परिमाणमा घुस लिएको अभियोग बिहीबार दर्ता गरिएको छ।
  • हुबेई प्रान्तको यिचाङका अभियोजनकर्ताहरूले माले नेतृत्वदायी पदमा रहँदा असाधारण रूपमा ठूलो रकम घुस लिएको र अरूलाई अनुचित लाभ पुर्‍याएको आरोप लगाएका छन्।
  • पार्टीले गत साता सम्पन्न पाँचौँ पूर्ण अधिवेशनमा मा सहित ३० भन्दा बढी वरिष्ठ अधिकारीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय अनुमोदन गरेको थियो।

१९ कात्तिक, बेइजिङ (रासस/एपी)। चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वपोलिटब्युरो सदस्य मा जिङरुईमाथि पदको दुरुपयोग गरी ठूलो परिमाणमा घुस लिएको अभियोग लगाइएको छ । पार्टीबाट निष्कासन गरिएको एक सातापछि बिहीबार उनीविरुद्ध औपचारिक रूपमा अभियोग दर्ता गरिएको हो ।

मध्य चीनको हुबेई प्रान्तस्थित यिचाङ सहरका अभियोजनकर्ताहरूले माले नेतृत्वदायी पदमा रहँदा असाधारण रूपमा ठूलो रकम घुस लिएको र अरूलाई अनुचित लाभ पुर्‍याएको आरोप लगाएका छन् ।

सन् २०२२ मा पोलिटब्युरो सदस्य बन्नुभएका माविरुद्धको अनुसन्धान गत अप्रिलमा सार्वजनिक भएको थियो । त्यतिबेला उनीमाथि पार्टी अनुशासन र राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन गरेको आरोप लगाइएको थियो । उनी चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानमा कारबाहीमा पर्ने पछिल्लो वरिष्ठ अधिकारी हुन्।

गत साता सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पाँचौँ पूर्ण अधिवेशनले अनुशासन सुदृढ गर्ने र भ्रष्टाचारविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने प्रस्ताव पारित गरेको थियो । बैठकले मा सहित ३० भन्दा बढी वरिष्ठ अधिकारीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय अनुमोदन गरेको थियो । निष्कासित हुनेमा यसै वर्षको सुरुसम्म सेनाको नेतृत्वमा रहेका एक वरिष्ठ जनरल पनि हुन्।

पोलिटब्युरोमा २४ सदस्य रहेकामा पछिल्लो समय मा र दुई सैन्य जनरल गरी तीन जना हटाइएका छन् । विश्लेषकहरूका अनुसार भ्रष्टाचारविरोधी अभियान भ्रष्टाचार नियन्त्रणसँगै राष्ट्रपति सीप्रतिको राजनीतिक निष्ठा सुनिश्चित गर्ने माध्यमसमेत बनेको छ ।

मा सन् २०२५ सम्म सिन्जियाङ क्षेत्रको कम्युनिष्ट पार्टी प्रमुख थिए । त्यसअघि उनले हङकङसँग सीमा जोडिएको चीनको प्रमुख औद्योगिक प्रान्त गुआङ्दोङको गभर्नरका रूपमा काम गरेका थिए। चिनियाँ शासन प्रणालीमा प्रान्तीय गभर्नरभन्दा कम्युनिष्ट पार्टीका प्रमुखको पद शक्तिशाली मानिन्छ ।

पेसाले इन्जिनियर रहेका माले स्थानीय सरकारमा प्रवेश गर्नुअघि एयरोस्पेस उद्योगमा काम गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?