+
+
Shares

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

रासस रासस
२०८३ कात्तिक २० गते ६:१७

२० कात्तिक, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहसहितका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम झन्डै ८० प्रतिशत सम्पन्न भएको हो ।

प्याकेज–२ को निर्माण चीनको सिनो हाइड्रो कर्पोरेसनमार्फत भइरहेको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत संरचना निर्माणका लागि आवश्यक उत्खननकार्य सम्पन्न भइसकेको छ भने अधिकांश संरचनाको सिभिल निर्माण पूरा भएको छ ।

भूमिगत विद्युतगृह, टेलरेस सुरुङ, केबल सुरुङ, सर्ज साफ्ट, इन्टेक तथा ड्राफ्टट्युब सुरुङ र पेनस्टकको ब्याकफिल कङ्क्रिटिङलगायत प्रमुख संरचनामा उत्खनन तथा कङ्क्रिटिङको काम करिब सम्पन्न भएको छ । मुख्य सुरुङको कङ्क्रिट लाइनिङकार्य अन्तिम चरणमा पुगेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।

भूमिगत विद्युतगृहमा विद्युत् उत्पादनका लागि आवश्यक उपकरण जडानको काम अघि बढेको छ । विद्युतगृहमा जेनेरेटर, टर्बाइन, सिसीटिभी, ट्रान्सफर्मरलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान तथा परीक्षण भइरहेको उनले बताए ।

त्यसैगरी, वातावरणीय बहावका लागि निर्माण गरिने विद्युतगृह र बाँध सञ्चालन भवनको निर्माण जारी रहेको छ । भूमिगत विद्युतगृह तथा सुरुङका अधिकांश सिभिल संरचना निर्माण सम्पन्न हुँदै गर्दा उपकरण जडान र परीक्षणलाई पनि सँगसँगै अघि बढाइएको आयोजनाले जनाएको छ ।

प्याकेज–२ अन्तर्गतका यी संरचना तथा उपकरण निर्माणको काम सम्पन्न भएपछि आयोजनाको विद्युत् उत्पादन प्रणाली सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार हुनेछ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?