News Summary
Generated by OK AI. Editorially reviewed.- खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले २०८२ सालको पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्यलाई र पद्मश्री साधना सम्मान कृष्ण धरावासीलाई अर्पण गरेको थियो।
- पद्मश्री साधना सम्मान ग्रहण गर्दै कृष्ण धरावासीले आफ्नो जीवनकथा सुनाएर ‘घर छैन’ र आफूले लेख्ने आख्यानहरूमा आफ्नै जीवनका कथा समेटिएको बताएका थिए ।
- धरावासीले थर, गोत्र र किरियाकर्मका कारण महिलाले भोग्ने विभेदबारे बोलेर पितृसत्तात्मक समाजको प्रश्न उठाएका थिए।
गत कात्तिक ९ गते खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले काठमाडौँको धुम्बाराहीस्थित रमादा होटेलमा २०८२ सालको पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्यलाई, पद्मश्री साधना सम्मान कृष्ण धरावासीलाई र पद्मश्री साहित्य पुरस्कार श्रवण मुकारुङलाई कृति ‘सलह’ का लागि अर्पण गरेको थियो।
त्यस अवसरमा पद्मश्री साधना सम्मान प्राप्त गर्नुभएका कृष्ण धरावासी, जसले ‘शरणार्थी’, ‘राधा’ र ‘आधा बाटो’ लगायत ३२ कृतिको सिर्जना गर्नुभएको छ; उहाँले निकै मार्मिक मन्तव्य दिनुभयो। प्रतिष्ठानले बाँडेको पुस्तिकामा लेखिएको मन्तव्य नपढेर उहाँले आफ्नो व्यक्तिगत जीवनको अनुभव सुनाउँदै आफूले लेख्ने आख्यानहरूमा आफ्नै जीवनका कथाहरू समेटिएको बताउनुभयो।
धरावासीको मन्तव्यको सार थियो- मैले जीवनमा बाँच्न र खुट्टा टेक्न धेरै दुःख गरेँ; तर अहिलेसम्म पनि मेरो ‘घर छैन’, अर्थात् बास छैन। ‘मैले अहिले बसेको घर मञ्जुजी (कवि मञ्जु बिमली, जो धरावासीकी पत्नी हुनुहुन्छ) को नामको हो। मलाई उहाँले बस्न नदिएको दिन मेरो जाने ठाउँ छैन।’
धरावासीको मन्तव्य सुन्नेहरूमध्ये कमैको आँखा रसाएनन् होला !
मञ्जुजी मेरो छेउको कुर्सीमै बसेर धरावासीको भाषण मोबाइलमा रेकर्ड गर्दै आँसु पुछ्दै हुनुहुन्थ्यो; यो पङ्क्तिकार पनि आफ्ना रसाएका आँखा पुछ्दै मञ्जुजीलाई ‘नरुनुहोस्’ को भावमा सुमसुम्याउँदै थिएँ। तर, मानवीय संवेदनाहरू आफूले चाहेजसरी र चाहेकै समयमा कहाँ रोकिन्थे र !
आज यो विषयको उठान गर्नुको कारण- त्यही घर र थरले धरावासीलाई दिएको अनुभूति महिलाहरूले सदियौँदेखि गरिरहेका छन् भन्ने तथ्य महसुस गराउन समाजशास्त्रीहरूले नसकेका हुन् वा मानिसहरूले नबुझेका हुन्, आजको दिनसम्म प्रस्ट हुन सकिएन।
जब–जब महिलाहरूले आफ्नो घर हुनुपर्ने वा थरका कारणले भोग्नुपरेका अप्ठ्यारा कुराहरू उठाउँछन्, ती तथ्यहरू न त पितृसत्ताले जकडेको समाजलाई पच्छ, न पितृसत्ता र पुरुष–केन्द्रित महिलाहरूलाई नै जँच्छ।
त्यस्ता वर्गहरू, जसले आफूलाई नै होच्याउने नियमहरूको बचाउ गर्छन् र अन्य महिलाहरूले पनि तिनै नियमहरू पालना गरून् भन्ने अपेक्षा राख्छन्। उनीहरू आज्ञाकारितालाई ‘बुद्धिमानी’, डरलाई ‘प्रतिष्ठा’ र मौनतालाई ‘गरिमा’ भनी अर्थ्याउँछन्। अनि जब अर्की कुनै महिला त्यही व्यवस्थाभित्र पिल्सिरहेकी हुन्छिन्, उनीहरू यसलाई केवल ‘जीवन’ भनिदिन्छन्।
आफूमाथि भएको अन्याय र विभेदका बारेमा आवाज उठाउने महिलाहरूमाथि पितृसत्ताका हिमायतीहरू अनेक लाञ्छना लगाएर अपमानित गर्न हरबखत तयार रहन्छन्। यस्तो स्थिति घरमा मनाइने चाडबाड र पर्वहरूमा अझ बढी देखिन्छ; किनकि त्यहाँ महिलाको ‘थर’ जसको सम्बन्ध ‘गोत्र’ सँग रहन्छ र ‘घर’ जो महिलाको हुँदैन (महिलाको घर कि त बाबुसँग जोडिएको हुन्छ, कि पतिसँग)। त्यसैले त्यहाँ थर र घर नभएकी महिलाले अपमानको पीडा बोकेर बस्न बाध्य हुनुपर्छ।
गोत्र हिन्दु संस्कृति, परम्परा र वैदिक प्रणालीमा प्रयोग हुने महत्त्वपूर्ण शब्द हो, जसले प्राचीनकालका सप्तऋषिहरू- अत्रि, भारद्वाज, गौतम, जमदग्नि, कश्यप, वशिष्ठ र विश्वामित्रका सन्तानहरूलाई इङ्गित गर्छ। त्यहाँ पनि कुनै महिलाको नाम त उल्लेख छैन।
हुन त, ‘धृतराष्ट्रकी पत्नी रानी गान्धारी लामो समयसम्म सन्तानविहीन भएर बच्चा नजन्मिँदा दुःखी र निराश भएर आफ्नै पेटमा जोडले प्रहार गरिन्, जसका कारण उनको गर्भबाट फलामको जस्तो कडा र मासुको एक डल्लो (मांसपिण्ड) बाहिर खस्यो। महर्षि वेदव्यासले गान्धारीको त्यो मासुको डल्लोलाई देखेर निराश नहुन आग्रह गरे र त्यसलाई १०० भन्दा बढी टुक्राहरूमा काट्नू भनी निर्देश दिए। व्यास ऋषिले ती टुक्राहरूलाई चिसो पानीले धोएर घिउले भरिएका एक सय एकवटा छुट्टाछुट्टै भाँडा (कुण्ड) हरूमा सुरक्षित राख्न लगाए र त्यसको दुई वर्षपछि ती घिउका भाँडाहरूबाट एक–एक गरी बालकहरू प्रकट हुन थाले’ भन्ने कथा पढेर आफ्नो मानसिक सोच प्रगाढ बनाउँदै हुर्किएका हामीहरूलाई कुनै पनि गोत्रको मूली या पुर्खाका रूपमा आमाको अस्तित्व स्वीकार्नुपर्ने बाध्यता न त उतिबेला थियो, न त अहिले नै आमाको नामबाट वंशजको नागरिकता पाउनुपर्ने प्रावधान (व्यवहारमा) छ।
त्यसैले, त्यो गुनासोको औचित्य के नै होला र ?
तर पनि मानवीयताको दृष्टिकोणले हेर्ने हो भने, जब एक किशोरी/महिला दान गरिएर (कन्यादान) अरूको थर र गोत्रमा जान्छिन्; त्यहाँ उनको आत्मसम्मानको कदर गरिन्न, बारम्बार हिंसात्मक स्थितिको सामना गर्नुपर्छ र बाँच्नै कठिन हुने स्थिति आइलाग्छ। अनि फर्किएर बाबुको घर या आफ्नै बलबुतामा खुट्टा टेक्न खोज्छिन् भने पनि उनले गोत्रका कारणले एक्लिनुपरिरहेको हुन्छ।
अझ धार्मिक कार्यहरूमा त उनको कुनै अस्तित्व नै हुँदैन। यसको उदाहरण यो पङ्क्तिकारले पनि भोगेकी छु। त्यसको एउटा उदाहरण- आफ्नो वैवाहिक घर छाडेर बसेको २२ वर्षपछि र सम्बन्धविच्छेद भएको १७ वर्षपछि पूर्वपतिको मृत्युमा किरियाकर्म गराउन आउने पण्डितले यो पङ्क्तिकारलाई ‘किरिया बस्नुपर्छ’ भने।
त्यसमा प्रतिप्रश्न गर्दै ‘म किन किरिया बस्ने ?’ भनेपछि पण्डितको तर्क थियो, ‘कागजी छोडपत्रले गोत्र परिवर्तन हुँदैन; कि त अर्कोसँग गएको हुनुपर्यो !’
कति सजिलै आफ्नो जीविकाका लागि पण्डित्याइँ पेसा अपनाएर हिँड्ने व्यक्तिले पहिलोपटक भेटिएकी महिलाको इच्छा र स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयास मात्रै गरेनन्, उनले अपमान गर्नसमेत भ्याए।
उनको तर्क थियो- उनले किरियाकर्म गराउँदा सम्बन्धविच्छेद गरेकी महिलाले पूर्वपतिको किरिया नगरेमा उनी त्यो घरमा खानपान गर्न सक्दैनन् र आधा मात्रै शुद्ध्याइँ हुन जान्छ।
तर, पण्डितको तर्क मानिएन। उनैले किरियाकर्म गराए र त्यहाँ उनले खानपान पनि गरे। तर, त्यसबाट महिलालाई परेको मानसिक पीडा र अपमानको अनुभव यो समाजले अझै पनि गर्न सक्दैन; समाजका अधिकांश सदस्यले आफ्नो स्वाभिमान र अडानमा दृढ रहने महिलालाई नै अखानो देख्छन्।
अझ कतिपय ठाउँमा त सम्बन्धविच्छेद गरेकी महिलाले पूर्वपतिको किरिया नगर्दा समाजले जात काढ्ने डरले किरिया बसेको खबर नपढेको वा नदेखेको पनि होइन। यस्ता कार्यहरूमा पुरुषहरू (पण्डितहरू) को मात्रै भूमिका हुँदैन, यसमा पितृसत्ता र पुरुष–केन्द्रित महिलाहरूको पनि ठूलो योगदान रहन्छ।
‘ती महिलाहरू जसले आफूलाई नै होच्याउने नियमहरूको बचाउ गर्छन् र अन्य महिलाहरूले पनि तिनै नियमहरू पालना गरून् भन्ने अपेक्षा राख्छन्। उनीहरू आज्ञाकारितालाई ‘बुद्धिमानी’, डरलाई ‘प्रतिष्ठा’ र मौनतालाई ‘गरिमा’ भनी अर्थ्याउँछन्। अनि जब अर्की कुनै महिला त्यही व्यवस्थाभित्र पिल्सिरहेकी हुन्छिन्, उनीहरू यसलाई केवल ‘जीवन’ भनिदिन्छन्।’ यो निष्कर्ष समाज अध्ययनमा केन्द्रित महिलाहरूको नै हो।
अमेरिकी कवि तथा नागरिक अधिकारकर्मी माया एन्जेलोले सन् २००७ मा हिलारी क्लिन्टनको राष्ट्रपति चुनावी अभियानको अवसरमा दिएको अन्तर्वार्तामा भनेकी थिइन्, ‘प्रत्येकपटक जब एउटी महिला आफ्ना लागि उभिन्छिन्, सम्भवतः थाहा नपाई र दाबी नगरी उनी सबै महिलाका लागि उभिन्छिन्।‘
यो भनाइ हिलारी क्लिन्टनको क्याम्पेन वेबसाइटमा जुलाई २००७ मा प्रकाशित भएको थियो। त्यसैले, यस विषयमा महिलाहरूले पिल्सिएर बस्ने होइन कि, आ–आफ्नो अनुभव बताउँदै आवाज उठाउने हो; नभए त पितृसत्ताले यसै गरी थिचिरहन्छ र किचिरहन्छ।
सायद, गोत्रका बारेमा पनि समाजशास्त्रीहरूले महिलाको दृष्टिकोणबाट अध्ययन गर्न कम भएर हो कि, यसका लागि महिलाहरू बारम्बार अपमानित भइरहनुपरेको छ। जब हिन्दु धर्मको सामान्य विधि गोदान हुन्छ, पण्डितले नाम र गोत्र जप्दै मम भन्न लगाउँछन्। कुलपूजा वा अन्य पूजाआजा हुँदा न्वारनको नाम र गोत्र अनिवार्य हुन्छ। यस्तोमा सम्बन्धविच्छेद गरेकी महिला, जसले अर्को विवाह गरेकी छैनन्, उनको अस्तित्व नै नस्वीकारिने त ?
कहिलेसम्म नस्वीकार्ने ? ती सबै कुराको जडसूत्र गोत्र नै हो। कुनै बेला एउटै गोत्रमा विवाह नहोस् भनेर गरिएको व्यवस्था र वंश परिचयका लागि अपनाइएको नीतिमा पनि महिलाहरूले मात्रै बलिदान दिनुपर्ने ?
भनिन्छ, हाम्रो कानुनी व्यवस्थाको आधार पनि धार्मिक ग्रन्थहरू नै हुन्। विश्वकै कानुनी व्यवस्था हेर्दा धर्म र कानुन एउटै सिक्काका दुई पाटाहरू हुन्। हाम्रो कानुनी व्यवस्थामा ‘मनुस्मृति’, ‘याज्ञवल्क्य स्मृति’ आदि ग्रन्थहरूको ठूलो हात थियो; भलै समयको अन्तरालसँगै कर्तव्यमा आधारित आधुनिक कानुनहरू अधिकार केन्द्रित हुँदै गएका छन्।
चित्त नबुझ्ने र समाजमा बहुमतद्वारा नस्वीकारिने पुरातन कानुनहरू संशोधन भएर नयाँ कानुनहरू पनि बनिरहेका छन्। तर, कन्यादानको नाउँमा कुशको टुक्रा भाँचेर पतिको हातमा दानस्वरूप सुम्पिइएकी महिलाको गोत्र हिन्दु धर्ममा सम्बन्धविच्छेदको प्रावधान छैन भन्दैमा बारम्बार अपमानित भइरहने ?
अन्य कानुनहरू समय र समाजको आवश्यकताअनुसार परिवर्तन गर्नुपर्छ र गरिन्छ भने, धार्मिक ग्रन्थहरूको उपादेयतामाथि पनि बहस हुन सक्छ भने ‘गोत्र परिवर्तन’ बारे बहस नै गर्न नहुने हो र ? कि यसमा महिलाहरू मात्रै पीडित हुने भएकाले यस विषयलाई अगाडि नबढाइएको हो ?
हुन त, महिलालाई प्रेम र सौन्दर्यको अनुभूतिको घेराबाट बाहिर जान नदिनेहरूलाई आज पनि महिलाले बोलेका र लेखेका चेतना र विवेकका आवाज सुन्न गाह्रो हुन्छ। के महिलाको अस्तित्व भाँचिएको कुशको टुक्रामा मात्रै सीमित कुरा हो ? किनकि, उनीहरूका नजरमा महिला ‘वस्तु’ हुन्, मानव होइनन् ! विडम्बना !
प्रतिक्रिया 4