News Summary
Generated by OK AI. Editorially reviewed.- सनी देओल छोरा करण देओलसँग दिवंगत पिता धर्मेन्द्रको महाराष्ट्रको लोणावला स्थित १०० एकडको फार्महाउस पुगेका छन् ।
- सनीले सामाजिक सञ्जालमा फार्महाउस भ्रमणको भिडियो सेयर गर्दै क्याप्सनमा ‘मिसिङ यू पापा’ लेखेका छन् ।
बलिउड अभिनेता सनी देओल आफ्ना छोरा करण देओलसँग दिवंगत पिता धर्मेन्द्रको महाराष्ट्रस्थित १०० एकडको फार्महाउस पुगेका छन्।
मुम्बईको व्यस्त जीवनबाट टाढा लोणावला पहाडमा रहेको फार्महाउस पुग्दा सनी आफ्ना पितालाई सम्झेर भावुक देखिए ।
उनले सामाजिक सञ्जालमा फार्महाउस भ्रमणको एउटा भिडियो सेयर गरेका छन् । भिडियोमा उनी खेतको बीचमा उभिएर धान काट्ने काम हेरिरहेका छन् । उक्त पोस्टको क्याप्सनमा उनले ‘मिसिङ यू पापा’ लेखेका छन् ।
पृष्ठभूमिमा ‘अपने’ फिल्मको गीत
सनी देओलले सेयर गरेको भिडियोमा उनी छोरा करण देओलसँग फार्महाउसको खेतमा उभिएका देखिन्छन् । त्यहाँ स्थानीय कामदारहरू धान काट्ने काममा व्यस्त छन्।
भिडियोमा सनीले छोरालाई भन्छन्, ‘यो मेरो पापाको खेत हो । तिम्रा लागि उहाँ हजुरबुबा हुनुहुन्थ्यो ।’ त्यसपछि करणले टाउको हल्लाएर सहमति जनाउँछन्।
सनीले भिडियोको पृष्ठभूमिमा आफ्नो चर्चित फिल्म ‘अपने’ को शीर्ष गीत राखेका छन्। साथै, रातो मुटुको इमोजी राखेर आफ्ना भावना व्यक्त गरेका छन्।
सन् १९८५ मा किनेका थिए फार्महाउस
महाराष्ट्रको लोणावला र खण्डालाका पहाडको बीचमा रहेको यो फार्महाउस करिब १०० एकड क्षेत्रफलमा फैलिएको छ। धर्मेन्द्रले यो फार्महाउस सन् १९८५ मा किनेका थिए।
धर्मेन्द्र यसलाई आफ्नो सबैभन्दा शान्त र मनपर्ने ठाउँ मान्थे । काठ र ढुङ्गाले बनेको यस फार्महाउसमा उनी आफ्नै हातले फलफूल र तरकारी उमार्थे । धर्मेन्द्रले यहाँ ट्र्याक्टर चलाउँदै र खेतीपाती गर्दै गरेका भिडियो पनि सामाजिक सञ्जालमार्फत प्रशंसकसँग साझा गर्ने गर्थे।
फार्महाउसमै बस्न थालेका थिए धर्मेन्द्र
करोडौँको सम्पत्तिका मालिक भए पनि धर्मेन्द्रलाई मुम्बईको चमकधमकभन्दा फार्महाउसको सरल जीवन मन पर्थ्यो । जीवनका अन्तिम वर्षहरूमा उनी मुम्बईको जुहूस्थित घर छाडेर यही फार्महाउसमा स्थायी रूपमा बस्न थालेका थिए ।
प्रकृतिको नजिक बसेर उनी स्थानीय मानिसहरूसँग समय बिताउँथे । सन् २०२५ नोभेम्बर २४ मा ८९ वर्षको उमेरमा उनको निधन भएको थियो।
प्रतिक्रिया 4