२० कात्तिक, काठमाडौं । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि चितवनले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पार्दै तेस्रो स्थानमा उक्लेको छ ।
चितवन राइनोजले दिएको १५२ रनको लक्ष्ण पछ्याएको पोखरा १९ ओभरमा सबै विकेट गुमाएर १२१ रनमा अलआउट भयो ।
चार खेलमा चितवनको यो दोस्रो जित हो र ५ अंकसहित तेस्रो स्थानमा उक्लेको हो । पोखराको भने यो लगातार चौथो हार हो र अंकविहीन हुँदै पुछारमा छ ।
पोखराका लागि अर्जुन कुमालले ४४ बल खेल्दै ३ चौका १ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए । युवराज सम्राले १९ र किरण ठगुन्ना र अर्जुन घर्तीले समान १२ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कप्तान परिवर्तन गरेको पोखराले आज पनि फरक ओपनिङ जोडी मैदान उतारेको थियो । कुशल भुर्तेलसँगै क्यानडाका खेलाडी युवराज सम्राले ओपनिङ गरेका थिए । तर भुर्तेल पहिलो ओभरको तेस्रो बलमै ४ रनको व्यक्तिगत स्कोरमा आउट भए ।
त्यसपछि सम्रा र अर्जुन कुमालले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे । तर सम्रा १४ बलमा १९ रन बनाएर आउट भएपछि पोखराले नियमित अन्तरमा विकेट गुमायो ।
अर्जुन कुमालले एक छेउबाट इनिङ्स सम्हालेपनि अर्को छेउमा गतिलो साथ पाएनन् । सदिरा समराविक्रमा ४ र महेदी हसन ७ रनमा आउट भएपछि पोखराले ७८ रनमा ४ विकेट गुमाएको थियो ।
किरण ठगुन्नाले अर्जुन कुमाललाई साथ दिने प्रयास गरेपनि उनी १३ बलमा १३ रन बनाएर आउट भए । पोखराको नयाँ कप्तान बनेका चमिका करुणारत्ने विकेटकिपर अर्जुन घर्ती भन्दा अघि सातौं नम्बरमा ब्याटिङमा आएका थिए । तर उनी २ रनमै आउट भए । सुदिप अर्याल, विपिन खत्री र सागर ढकालले खाता खोल्न सकेनन् ।
बलिङमा चितवनका लागि रिजन ढकालले ४ ओभरमा २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै कमल सिंह ऐरीले २ ओभरमा १ मेडन राख्दै ७ रन मात्र खर्चेर ३ विकेट लिए । डान मोस्ले, मौसम ढकाल र कुशल मल्लले १-१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो ।
चितवनका लागि कप्तान सिकन्दर राजाले सर्वाधिक ३७ रन बनाउँदा रवि बोपाराले ३५, अर्जुन साउदले ३१ र डाविड मालानले २८ रन जोडे ।
पोखरा विरुद्ध ओपनिङ गरेका अर्जुन साउदले डाविड मालिनसँग पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर दुवै ब्याटर लगातार आउट भए ।
विकेटकिपर अर्जुनले २७ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा ३१ रन बनाए । मालानले २८ बल खेल्दै ३ चौका मद्दतमा २८ रन बनाए ।
त्यसपछि रवि बोपाराले एक छेउ सम्हालेपनि डान मोस्ले २ र यस सिजन पहिलो खेल खेलिरहेका मार्की कुशल मल्ल ११ रनमा आउट भए । ८६-४ को अवस्थामा बोपाराले कप्तान सिकन्दर राजासँग पाँचौ विकेटका लागि ६० रनको साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए ।
तर अन्तिम ओभरमा पोखराका कप्तान चमिका करुणारत्नेले दुवै खेलाडीलाई आउट गरे ।
अन्तिम ओभरमा आउट हुनुअघि बोपाराले २८ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३५ रन बनाए । यस्तै आक्रमक ब्याटिङ गरेका कप्तान राजाले १६ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ३७ रन बनाए । कमलसिंह ऐरी २ रनमा अविजित रहे ।
यस खेलमा पोखराको कप्तानी गरेका श्रीलंकन बलर चमिका करुणारत्ने, विपीन खत्री र कुशल भुर्तेलले २-२ विकेट लिए । पोखराले लगातार तीन हारपछि कप्तान परिवर्तन गर्दै कुशल भुर्तेलको स्थानमा करुणारत्नेलाई कप्तानको जिम्मेवारी दिएको हो ।
प्रतिक्रिया 4