+
+
Shares

प्रमुख प्रशासकीय अधिकृत नहुँदा खडक नगरपालिकाको काम प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २१ गते ११:०९
खडक नगरपालिकामा सरुवा गरिएका अजय बर्तौला । तर, उनी हाजिर भएनन् ।

२१ कात्तिक, सप्तरी । सप्तरीको खडक नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्षका विकास निर्माणका कामदेखि सामाजिक सुरक्षा भत्ता वितरणसम्म प्रभावित भएको छ ।

गत असोज ५ गते भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव अजय बर्तौलालाई खडक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गर्ने गरी सरुवा गरेको थियो ।

तर, आफ्नो कार्यअवधि पूरा नभई प्रचलित कानुनी व्यवस्थाविपरीत सरुवा गरिएको दाबी गर्दै बर्तौला सरुवा बदरको मागसहित असोज १४ गते न्यायिक उपचारका लागि प्रशासकीय अदालत पुगेका थिए ।

उनको निवेदनमाथि सुनुवाइ गर्दै अदालतका अध्यक्ष डा. टेकबहादुर घिमिरे र सदस्य नवलकिशोर यादवको इजलासले असोज १५ गते अन्तरकालीन आदेश जारी गरेको थियो । अदालतले दुवै पक्षबीच छलफल नभएसम्म मन्त्रालयको असोज ५ गतेको सरुवा निर्णय र त्यसअनुसार जारी गरिएको पत्र कार्यान्वयन नगर्न तथा यथास्थितिमा राख्न आदेश दिएको थियो । साथै बर्तौलालाई रमाना नदिनसमेत आदेशमा उल्लेख थियो ।

शुक्रबार उनको निवेदनमाथि सुनुवाइ गर्दै प्रशासकीय अदालतका सदस्य नवलकिशोर यादवको इजलासले यसअघिको आदेशलाई निरन्तरता दिएको छ । यससँगै खडक नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत कहिले आउने भन्ने अन्योल थपिएको छ ।

नगर प्रमुख जयप्रकाश चौधरीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले सरुवा निर्णय गरेको ४५ दिनभन्दा बढी बितिसक्दा पनि प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर नभएको बताएका छन् । बर्तौला हाल पनि बुढानीलकण्ठ नगरपालिकामै कार्यरत छन् ।

अदालतको आदेशपछि मन्त्रालयले वैकल्पिक प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नगर्दा नगरपालिका नेतृत्वविहीनजस्तै बनेको चौधरीको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाले पाउने त्रैमासिक सामाजिक सुरक्षा भत्ता निकासा तथा वितरण हुन सकेको छैन । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा र प्रोत्साहन भत्ता भुक्तानीसमेत रोकिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षका विकास निर्माण योजनाको सम्झौता, बजेट अख्तियारी, निर्माण कार्यको बिल भुक्तानी तथा अत्यावश्यक सार्वजनिक खरिद प्रक्रिया प्रभावित भएको नगर प्रमुख चौधरीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यस विषयमा मन्त्रालयलाई पटक–पटक मौखिक तथा लिखित जानकारी गराउँदा पनि समस्या समाधानका लागि पहल नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । तत्काल प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरी सेवा प्रवाह सुचारु गर्न उनले मन्त्रालयसँग माग गरेका छन् । यथाशीघ्र व्यवस्था नगरिए उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी मन्त्रालयले लिनुपर्ने उनको चेतावनी छ ।

नगर प्रमुख चौधरीले नगरवासी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज तथा सञ्चारकर्मीलाई धैर्य धारण गर्न आग्रह गर्दै समस्या समाधानका लागि सहयोग र सद्भाव कायम राख्न अपिलसमेत गरेका छन् ।

खडक नगरपालिका असोजदेखि नै प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको विषयमा मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले भने आफूलाई जानकारी नभएको बताएका छन् । उनले समस्या समाधानका लागि सम्बन्धित महाशाखालाई जानकारी गराउने बताए ।

यसअघि खडक नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत उपसचिव हरेन्द्र श्रेष्ठको पनि मन्त्रालयले असोज ५ गते नै सरुवा गरेको थियो । श्रेष्ठ असोज १४ गते रमाना लिएर अन्यत्र गएपछि नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन सकेका छैनन् । त्यसयता उक्त पद रिक्त रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?