+
+
Shares

पदक जित्ने गरी तयारी गर्न खेलाडीलाई मुख्यमन्त्री शाहीको आग्रह, बजेटको चिन्ता नगर्न आश्वासन

खेलाडीको तयारी र प्रशिक्षणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै उनले पदक हासिल गर्ने लक्ष्यसहित योजनाबद्ध रूपमा काम गर्न आग्रह गरेका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते ६:४७

२१ कात्तिक, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट नतिजा निकाल्ने गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न मुख्यमन्त्री मंगलबहादुर शाहीले आग्रह गरेका छन् ।

खेलाडीको तयारी र प्रशिक्षणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै उनले पदक हासिल गर्ने लक्ष्यसहित योजनाबद्ध रूपमा काम गर्न आग्रह गरेका हुन्।

आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै प्रदेश खेलकुद विकास परिषद्ले खेलाडीको बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ।

बन्द प्रशिक्षणको पहिलो चरणअन्तर्गत ब्याडमिन्टन र ह्यान्डबल खेलको प्रशिक्षण कार्तिक २२ गतेदेखि सुरु हुने भएको छ।

मुख्यमन्त्री शाहीले प्रतियोगितामा सहभागी हुने खेलाडीको तयारीलाई प्राथमिकता दिएर आवश्यक प्रशिक्षण, खेल सामग्री र व्यवस्थापकीय पक्षमा ध्यान दिनुपर्ने बताएका छन्।

प्रतियोगितामा सहभागी हुने औपचारिकता पूरा गर्नेभन्दा पनि खेलाडीले प्रतिस्पर्धामा नतिजा निकाल्ने गरी तयारी गर्नुपर्ने उनको भनाइ छ। त्यसका लागि आवश्यक बजेटको अभाव हुन नदिने उनले प्रतिबद्धता जनाएका छन्।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन्द्र चन्दले पहिलो चरणमा ब्याडमिन्टन र ह्यान्डबल खेलको बन्द प्रशिक्षण सुरु गर्न लागिएको जानकारी दिए। अन्य खेलका खेलाडीलाई पनि प्रतियोगिताको खेल तालिका र मितिअनुसार क्रमशः बन्द प्रशिक्षणमा राखिने उनले बताए।

उनका अनुसार सबै खेलका खेलाडीलाई एकैपटक बन्द प्रशिक्षणमा राखिने छैन। प्रतियोगितामा सम्बन्धित खेल सञ्चालन हुने मिति र तालिकालाई आधार बनाएर प्रशिक्षणको समय निर्धारण गरिनेछ। यसअनुसार ३२ वटै खेलका खेलाडीलाई चरणबद्ध रूपमा बन्द प्रशिक्षणमा सहभागी गराउने परिषद्को तयारी छ।

पदकको लक्ष्यसहित तयारी

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघसहितका टोलीले प्रतिस्पर्धा गर्नेछन्। ३२ खेल विधा समावेश गरिएको प्रतियोगिताको उद्घाटन मंसिर १६ गते हुनेछ भने प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ।

आफ्नै प्रदेशमा राष्ट्रिय खेलकुद आयोजना हुन लागेकाले कर्णालीका खेलाडीलाई घरेलु मैदानमा क्षमता प्रदर्शन गर्ने अवसर छ। तर प्रतियोगिता आयोजना गर्नु मात्र प्रदेशका लागि उपलब्धि होइन, आफ्ना खेलाडीले कति पदक हासिल गर्छन् भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण हुनेछ।

त्यसैले बन्द प्रशिक्षणलाई खेलाडीको क्षमता अभिवृद्धि गर्ने अवसरका रूपमा मात्र नभई प्रतियोगितामा कर्णालीको नतिजा सुधार्ने तयारीका रूपमा अघि बढाउनुपर्ने देखिन्छ।

मुख्यमन्त्रीले बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएसँगै अब खेलाडीको प्रशिक्षण, प्रशिक्षकको उपलब्धता, खेल सामग्री र आवश्यक सुविधाको व्यवस्थापनमा परिषद्को भूमिका महत्वपूर्ण हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?