News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाहीको हरिवनका जितेन्द्र महतोले दुना–टपरी व्यवसायबाट वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कारोबार गर्दै उत्पादन अमेरिका पठाएका छन्।
- उनको व्यवसायसँग करिब १५० महिला पात सङ्कलनमार्फत जोडिएर अतिरिक्त आम्दानी गरिरहेका छन्।
- जितेन्द्रले अबको पाँच वर्षमा उत्पादन ११० देशमा पुर्याउने, दैनिक १० हजार पिस उत्पादन गर्ने र १ हजार जनालाई रोजगारी दिने लक्ष्य राखेका छन्।
सर्लाहीका जितेन्द्र महतो १४ वर्षको उमेरदेखि ढुङ्गा–बालुवा बोक्दै ज्याला–मजदुरी गर्थे। काम नियमित थिएन। बिहान खाए बेलुका के खाने र बेलुका खाए भोलि बिहान के खाने भन्ने चिन्ता हुन्थ्यो। आज उनी आफ्नै व्यवसाय चलाउँछन्, उनका उत्पादन अमेरिकासम्म पुगिसकेका छन् र उनको व्यवसायले गाउँका करिब १५० महिलालाई अतिरिक्त आम्दानीको अवसर दिएको छ।
सर्लाहीको हरिवन नगरपालिका–४, सासापुरका जितेन्द्र महतो अहिले २२ वर्षका छन्। १२ कक्षासम्म पढेका उनले १४ वर्षको उमेरदेखि नै ज्याला–मजदुरी गर्न थाले। परिवारको मुख्य आम्दानी खेतीपाती र मजदुरी थियो। उनी ढुङ्गा–बालुवा बोक्ने काम गर्थे, तर काम नियमित थिएन।
‘बिहान खाए बेलुका के खाने, बेलुका खाए बिहान के खाने भनेर सोच्नुपर्ने अवस्था थियो,’ उनी आफ्नो विगत सम्झन्छन्।
आर्थिक अभावसँगै अवसरको अभाव पनि थियो। २०७२ सालको भूकम्पले घर ढलेपछि उनले भोगेको कठिनाइ त झनै गहिरो थियो। घरमा खाने–लाउनेसम्मको समस्या थियो। छिमेकीसँग पाल माग्दा नपाएपछि खुला आकाशमुनि तन्ना ओछ्याएर रात बिताउनुपरेको त्यो समय सम्झँदा आज पनि उनका आँखामा आँसु आउँछन्।
त्यही सङ्घर्षबीच जितेन्द्रले एउटा यस्तो अवसर भेटे, जसले उनको जीवनको बाटो नै बदलिदियो।
२०७९ सालमा हरिवन नगरपालिका वडा नं. ४ मा उद्यमशीलता तालिम सञ्चालन भयो। वडाध्यक्ष केशवराज थापामार्फत जितेन्द्रले तालिमबारे जानकारी पाए। त्यही तालिममा उनले पहिलोपटक दुना–टपरी बनाउने सम्भावनाबारे थाहा पाए। 
उनका लागि यो नौलो कुरा थियो। उनको समुदायमा दुना–टपरी प्रयोग गर्ने चलन थिएन। त्यसैले वनमा खेर जाने पातबाट पनि व्यवसाय गर्न सकिन्छ भन्ने कुरा उनले पहिले कहिल्यै सोचेका थिएनन्।
तर, तालिममा उनले यसको बजारबारे थाहा पाए। उनले व्यवसाय कसरी गर्ने, व्यवसायमा आउन सक्ने चुनौती कसरी सामना गर्ने र व्यवसायलाई कसरी निरन्तरता दिने भन्ने कुरा सिके। मानिसको जन्मदेखि मृत्यु संस्कारसम्म र विवाह, व्रतबन्धजस्ता विभिन्न अवसरमा दुना–टपरी प्रयोग हुने रहेछ।
‘पहिलोपटक यो कुरा सुन्दा मैले पनि यो गर्न सक्छु र हुन्छ भन्ने लागेको थियो,’ उनी भन्छन्।
उनले वनमा खेर जाने पातको स्रोतलाई आम्दानीमा बदल्ने अवसर देखे। प्लास्टिक र कागजका प्लेटको विकल्पका रूपमा प्राकृतिक पातको प्रयोग गर्न सकिने र भविष्यमा विदेशमा समेत बेच्न सकिए विदेशी मुद्रा नेपाल भित्र्याउन सकिने सम्भावना पनि उनले देखे।
व्यवसाय सुरु गर्दा जितेन्द्रसँग ठूलो पुँजी थिएन। उनले ज्याला–मजदुरी गरेर जम्मा गरेको ८० हजार रुपैयाँ लगानी गरे। थप एक लाख रुपैयाँ सहकारीबाट ऋण लिए। पछि कृषि विकास बैङ्कबाट पनि ऋण लिएर व्यवसाय विस्तार गरे।
तालिमपछि मेसिन करिब एक महिनामै आइपुग्यो। तर मेसिन आउनु मात्र व्यवसाय सुरु गर्नु थिएन। वन डिभिजन, सब–डिभिजन, मालपोत र नापी कार्यालयसम्म पुगेर प्रक्रिया पूरा गर्नुपर्यो। व्यवसाय दर्ता गर्न लामो समय लाग्यो। अन्ततः २०८१ सालमा उनले व्यवसाय दर्ता गरे।
त्यो समय उनको पक्षमा सबै थिएनन्।
गाउँमा मानिसहरूले कुरा काट्थे। ६ जना दिदीबहिनीपछि जन्मेका एक्ला छोरा जितेन्द्रले भएको सम्पत्ति पनि व्यवसायमा लगाएर डुबाउने भए भन्ने सुनाउँथे। आफैँ पनि ऋणमा थिए। बहिनीको विवाह गरिसकेका थिए र अझै तीन जना दिदीको विवाह गर्न बाँकी थियो।

‘मैले चलाउन सकिनँ भने ? ऋण पहिले नै लागेको थियो। सबै गर्न सकिनँ भने समाजले के भन्ला भन्ने लाग्थ्यो,’ उनी सम्झन्छन्।
तर उनले व्यवसाय छाडेनन्।
सुरुआतमा उनलाई बजारबारे खासै अनुभव थिएन। पहिलो बिक्री नै घाटामा गएको उनी सम्झन्छन्। तर स्थानीय तह र हेल्भेटास नेपालसँग समन्वय गर्दै उनले बजार र व्यवसायका चुनौतीहरू सामना गर्दै गए।
हेल्भेटास नेपालको ‘इन–इलम’ परियोजनाबाट बजार व्यवस्थापन र विदेशमा सामान पठाउने प्रक्रियामा निरन्तर सहयोग पाए भने स्थानीय तहबाट मेसिन तथा उपकरणमा सहयोग प्राप्त भयो।

सुरुमा उनको बजार स्थानीय थियो। पहिलो वर्ष कारोबार करिब १५–२० लाख रुपैयाँ पुग्यो। अहिले वार्षिक कारोबार ५० लाख रुपैयाँभन्दा बढी छ। कुल लगानी पनि करिब ३० लाख रुपैयाँ पुगेको छ।
आज उनका उत्पादन जनकपुर, काठमाडौँ, पोखरा, बर्दिबास, वीरगन्ज र इलामलगायतका बजारमा पुग्छन्। ग्राहकले फोन वा म्यासेजमार्फत सम्पर्क गर्छन्, कतिपय घरमै सामान लिन आउँछन्। व्यवसायको पेज, टिकटक र वितरकमार्फत पनि बिक्री भइरहेको छ।
अहिले उनको आफ्नै उत्पादन केन्द्रको मासिक क्षमता करिब १ लाख ५० हजार पिस छ। तर मागअनुसार उत्पादन गर्न भने उपकरणले धानिरहेको छैन। त्यसैले थप उपकरण जोडेर क्षमता बढाउने उनको योजना छ।

जितेन्द्रको उत्पादन केन्द्र हेर्दा यो कुनै ठूलो कारखानाजस्तो देखिँदैन। त्यहाँ प्रत्यक्ष रूपमा करिब आठ जना काम गरिरहेका छन्। तर उनको व्यवसायको प्रभाव त्यो सानो उत्पादन केन्द्रभित्र सीमित छैन।
दुना–टपरी बनाउन आवश्यक साल, सखुवा र भोर्लाका पात स्थानीय, सामुदायिक र राष्ट्रिय वनबाट सङ्कलन गरिन्छ। पात सङ्कलन गर्ने काम मुख्यतः गाउँका महिलाहरूले गर्छन्।
जितेन्द्रका अनुसार, अहिले करिब १५० महिला उनको व्यवसायसँग पात सङ्कलनमार्फत जोडिएका छन्। उनीहरू उत्पादन केन्द्रमा नियमित कर्मचारीका रूपमा बस्दैनन्। आफ्नो गाउँ र घरको कामसँगै वनबाट पात सङ्कलन गरेर जितेन्द्रलाई बिक्री गर्छन् र त्यसबाट अतिरिक्त आम्दानी गर्छन्।
पहिले कतिपय महिलाहरू बिहान–बेलुका के काम गर्ने भन्नेमा अलमलिन्थे। कोही बाख्रा चराउने गर्थे। अहिले बाख्रा चराउन वन जाँदा पनि पात सङ्कलन गरेर आम्दानी गर्न थालेका छन्। यसरी जितेन्द्रको व्यवसायले प्रत्यक्ष रूपमा आठ जनालाई मात्र काम दिएको देखिए पनि यसको अतिरिक्त आम्दानीको प्रभाव करिब १५० महिलासम्म पुगेको छ।

उनीहरू यो व्यवसायसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन् । उत्पादन केन्द्रका कामदारदेखि पात सङ्कलन गरेर अतिरिक्त आम्दानी गर्ने महिलासम्मले उनको व्यवसायबाट लाभ लिइरहेका छन् ।
एक समय आफैँ काम खोजेर ढुङ्गा–बालुवा बोक्ने जितेन्द्रले अहिले अरूका लागि पनि कमाइको बाटो बनाइरहेका छन्।
जितेन्द्रले विदेशमा आफ्नो उत्पादन बेच्ने सपना व्यवसाय सुरु गर्दादेखि नै देखेका थिए। तर अवसर कहाँबाट आउँछ भन्ने थाहा थिएन।
हेल्भेटास नेपालसँग जोडिएपछि काठमाडौँमा आयोजित महिला उद्यम मेलामा उनले आफ्नो उत्पादनको स्टल राखे। त्यहीँ आयात–निर्यातकर्तामार्फत अमेरिकामा उत्पादन पठाउने अवसर आयो।
पहिलो खेप २०८३ वैशाख ५ गते १० हजार पिस अमेरिकातर्फ पठाइयो। त्यसको करिब एक महिनापछि जेठ ३ गते ३५ हजार पिसको दोस्रो खेप पठाइयो। निर्यातका क्रममा सरकारी कागजात पूरा गर्नुपर्ने र सामान अड्किने समस्या पनि आयो। अब उनको लक्ष्य अमेरिका मात्र होइन- मागअनुसार सम्भव भएसम्म धेरै देशमा आफ्ना उत्पादन पुर्याउने हो।
उनको उत्पादन केन्द्रमा पुग्दा एउटा दृश्यले व्यवसायको अर्को कथा सुनाउँछ। करिब १५ वर्षका एक किशोर त्यहाँ काम गरिरहेका छन्।
उनी जितेन्द्रका आफन्त हुन्। तर जितेन्द्रले उनलाई आफ्नै विगतसँग जोडेर हेर्छन्। आफूले सानै उमेरमा काम गर्नुपरेको थियो। खान–लाउनसमेत कठिन थियो। त्यसैले ती किशोरले पनि त्यही बाटो नहिँडून् भन्ने उनको चाहना छ।
उनलाई पढाइमा सहयोग गरिँदै छ। साथै मेसिनको प्यानल कसरी नियन्त्रण गर्ने भन्ने पनि सिकाइँदै छ। जितेन्द्रको विश्वास छ- आज यहाँ काम सिकिरहेको यो किशोर भोलि आफ्नै व्यवसाय गर्न सक्ने हुन सक्छ।
‘हिजोको दिनमा खान–लाउन नपुग्दा रोएको मान्छे, आज मैले उसलाई यहाँ ल्याएको छु। नल्याएको भए त्यो सानो किशोर भौँतारिएर हिँडेको हुन्थ्यो। आज उसले रोजगारी पाएको छ र ऊ पनि खुसी छ,’ जितेन्द्र भन्छन्।
यही ठाउँमा उनको व्यवसायको अर्थ अझ फराकिलो हुन्छ। जितेन्द्र आफूलाई अझै पूर्ण रूपमा सफल भएको मान्दैनन्। जितेन्द्रको अबको सपना अझै ठूलो छ।
अबको पाँच वर्षमा उनी आफ्नो उत्पादन ११० वटा देशमा पुर्याउन चाहन्छन्। दैनिक उत्पादन क्षमता १० हजार पिस पुर्याउने र १ हजार जनालाई रोजगारी दिने उनको लक्ष्य छ। आवश्यकता र बजारअनुसार नयाँ उत्पादन थप्ने र निर्यात विस्तार गर्ने योजना पनि छ।
‘मेरो सपना देशमै केही गर्ने र गरिरहेको व्यवसायलाई अगाडि बढाउने हो,’ उनी भन्छन्।
आफ्नो समुदायका युवाहरूलाई पनि उनको सुझाव छ— रोजगारीका लागि विदेश जानुभन्दा आफ्नै देश र आफ्नै माटोमा केही गर्ने प्रयास गर्नुपर्छ।

कुनै समय जितेन्द्र ढुङ्गा–बालुवा बोक्थे। त्यतिबेला उनको हातमा काम थियो, तर भविष्यको निश्चितता थिएन। आज उनको हातमा दुना–टपरी छन्। उनको सानो उत्पादन केन्द्रबाट सामान नेपालका विभिन्न सहर हुँदै अमेरिकासम्म पुगेको छ।
गाउँका महिलाले त्यही व्यवसायसँग जोडिएर अतिरिक्त आम्दानी गरिरहेका छन्। र, उनी आफैँले आफ्नो विगतजस्तै सङ्घर्ष गरिरहेको एउटा किशोरलाई भविष्यको बाटो देखाउने प्रयास गरिरहेका छन्।
जितेन्द्रले पातमा व्यवसाय देखे। तर त्यो व्यवसायसँगै उनले आफ्नो र अरू धेरैको भविष्य पनि देखे।
सायद कुनै उद्यमीको सफलताको सबैभन्दा राम्रो मापन यही हो- उसले आफूलाई कति माथि उठायो भन्ने मात्र होइन, आफूसँगै कति जनालाई माथि उठायो भन्ने पनि हो।
प्रतिक्रिया 4