+
+
Shares

पोल्यान्डको व्यस्त बजारमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १६ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते ८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोल्यान्डको क्राकोमा २५ वर्षीय पोलिस नागरिकले अन्धाधुन्ध गोली चलाउँदा बेलायती नागरिकसहित ६ जनाको मृत्यु भएको छ।
  • मेन मार्केट स्क्वायरमा भएको आक्रमणमा १६ जना घाइते भएका छन्, जसमध्ये पाँच विदेशी, दुई प्रहरी र आक्रमणकारीसमेत छन्।
  • प्रधानमन्त्री डोनाल्ड टस्कले आक्रमणकारीको घरमा खानतलासी गर्दा दुई महिला र एक पुरुषका थप तीन शव भेटिएको बताएका छन्।

२२ कात्तिक, काठमाडौं । पोल्यान्डको दोस्रो ठूलो सहर क्राकोमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेलायती नागरिकसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् । आक्रमणकारीको सम्बन्ध दक्षिणपन्थी अतिवादी समूहसँग रहेको आशंका गरिएको छ ।

प्रहरीका अनुसार २५ वर्षीय पोलिस नागरिकले क्राकोको व्यस्त पर्यटकीय क्षेत्र मेन मार्केट स्क्वायरमा कारबाटै गोली चलाएका थिए । घटनामा चार महिला र दुई पुरुष गरी ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

युरोपकै ठूलो मध्ययुगीन खुला बजार क्षेत्रमध्ये एक मानिने क्राको पर्यटकहरूको प्रमुख आकर्षण मानिन्छ । स्थानीय समयअनुसार दिउँसो करिब ३ बजेतिर आक्रमण सुरु हुँदा उक्त क्षेत्रमा ठूलो संख्यामा मानिसहरूको आवतजावत थियो । प्रत्यक्षदर्शीका अनुसार गोली चलेपछि मानिसहरू ज्यान जोगाउन भागाभाग गरेका थिए ।

सूचना पाएलगत्तै सशस्त्र प्रहरी घटनास्थल पुगेको थियो । प्रहरी र आक्रमणकारीबीच पनि गोली हानाहान भएको थियो । आक्रमण सुरु भएको तीन मिनेटभित्रै प्रहरीले उनलाई गोली हानेर नियन्त्रणमा लिएको अधिकारीहरूले बताएका छन् । घटनामा संलग्न ती युवकलाई गोली लागेकाले उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

घटनास्थलको एक भिडियोमा प्रहरी–ती युवकबीच पटकपटक गोली हानाहान भएको देखिन्छ । त्यसपछि एक प्रहरी पनि घाइते भएर भुइँमा ढलेको पनि देखिन्छ ।

आक्रमणका क्रममा एउटा सार्वजनिक गाडीमा समेत गोली लागेको थियो । गोली लागेर सो गाडीका सिसा फुटे पनि त्यसमा सवार यात्रुहरूलाई भने केही नभएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार आक्रमणकारीलाई पक्राउ गर्ने क्रममा एक प्रहरी अधिकारीलाई तीनवटा गोली लागेको छ । उनको अवस्था अत्यन्तै गम्भीर रहेको छ ।

गोली प्रहारबाट आसपासका पसलका सिसा फुटेका छन् भने सडकमा सिसाका टुक्रा छरिएका छन् । घटनापछि नगर प्रशासनले स्थानीय बासिन्दा र पर्यटकलाई उक्त क्षेत्रमा नजान आग्रह गरेको छ ।

बेलायती नागरिकसहित ६ जनाको मृत्यु

पोल्यान्डका अधिकारीका अनुसार घटनामा चार महिला र दुई पुरुष गरी ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जना बेलायती नागरिक हुन् भने तीन जना पोल्यान्डका नागरिक रहेको पुष्टि भए पनि अन्य दुई जनाको पहिचान खुलाइएको छैन ।

घटनामा घाइते भएका १६ जनालाई अस्पताल लगिएको छ । घाइतेमध्ये पाँच जना विदेशी नागरिक, दुई जना प्रहरी अधिकारी र आक्रमणकारीसमेत रहेका छन् ।

घाइतेहरू अस्ट्रिया, बेलायत, जर्मनी, पोर्चुगल र रुसका नागरिक रहेको पोल्यान्डको गृह मन्त्रालयले जनाएको छ ।

बीबीसीका अनुसार आक्रमणकारीलाई पक्राउ गर्ने क्रममा एक प्रहरी अधिकारीलाई तीनवटा गोली लागेको छ । उनको अवस्था अत्यन्तै गम्भीर रहेको छ ।

आक्रमणकारीको घर खानतलासी गर्दा भेटिए तीन शव

यसैबीच, घटनास्थलबाट करिब दुई सय किलोमिटर टाढा रहेको ती युवकको घरमा खानतलासी गर्दा थप तीन जनाको शव फेला पारेको प्रधानमन्त्री डोनाल्ड टस्कले बताएका छन् ।

ती शव दुई महिला र एक पुरुषका हुन् । उनीहरूको मृत्युको घटनासँगको सम्बन्धबारे थप विवरण सार्वजनिक भएको छैन ।

प्रहरीले आक्रमणकारी २५ वर्षीय पोलिस नागरिक रहेको पुष्टि गरे पनि उनको नाम सार्वजनिक गरेको छैन ।

प्रहरीका एक प्रवक्ताका अनुसार आक्रमणका बेला उनी सैनिक शैलीको पोसाकमा थिए र सैन्यस्तरको हतियार बोकेका थिए । तर उनी सैनिक नभएको प्रहरीले स्पष्ट पारेको छ ।

उनले प्रयोग गरेको गाडीबाट ठूलो संख्यामा हतियार र गोलीगट्ठा बरामद भएको प्रहरीको भनाइ छ । पोल्याण्डका सञ्चारमाध्यमहरूले भने उनीसँग बन्दुक राख्ने अनुमति रहेको र परिवारको घरबाट हतियार प्राप्त गरेको हुन सक्ने समाचार प्रकाशित गरेका छन् ।

प्रारम्भिक अनुसन्धानले आक्रमणकारी दक्षिणपन्थी अतिवादी विचारधाराबाट प्रभावित भएको देखाएको एक मन्त्रीले बताएका छन् । ती मन्त्रीले उनलाई ‘उग्र राष्ट्रवादी’समेत भनेका छन् । यद्यपि उनको आक्रमणको वास्तविक उद्देश्यबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?