+
+
Shares

कुकुर तिहारमा नेपाली सेनाको विशेष ‘डग शो’

मध्यपुर थिमिस्थित भैरव वाहन गुल्ममा आइतबार आयोजित कार्यक्रममा कुकुरको पूजा गरी उनीहरूको कला कौशलसमेत प्रस्तुत गरिएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाले कुकुर तिहारको अवसरमा मध्यपुर थिमिस्थित भैरव वाहन गुल्ममा विशेष डग शो आयोजना गरी तालिमप्राप्त कुकुरका सीप प्रदर्शन गर्‍यो।
  • उपरथी हरेन्द्र पाठकले कुकुरलाई सेनाको महत्वपूर्ण सहयोगी शक्ति, ‘फोर्स मल्टिप्लायर’ र खोजी तथा सुरक्षामा प्रभावकारी माध्यम भने।
  • सेनाले निष्ठा, इमान्दारिता र बफादारिताको प्रतीकका रूपमा प्रत्येक वर्ष कुकुर तिहारमा कुकुर पूजा गर्दै आएको जनाएको छ।

२२ कात्तिक, काठमाडौं । नेपाली सेनाले कुकुर तिहारको अवसरमा विशेष ‘डग शो’ प्रदर्शनी आयोजना गरेको छ । मध्यपुर थिमिस्थित भैरव वाहन गुल्ममा आइतबार आयोजित कार्यक्रममा कुकुरको पूजा गरी उनीहरूको कला कौशलसमेत प्रस्तुत गरिएको हो।

प्रदर्शनीमा तालिमप्राप्त कुकुरहरूले खोज तथा पहिचान, ट्रयाकिङ, सुरक्षा र शंकास्पद वस्तु पहिचान लगायतका सीप प्रदर्शन गरेका थिए । सिमित स्रोत र साधनकाबीच कुकुरलाई विशेष तालिम दिएर जिम्मेवारी निर्वाह गराउनु चुनौतीपूर्ण भएको नेपाली सेनाको प्रवन्ध रथी विभागका विभागीय प्रमुख उपरथी हरेन्द्र पाठकले बताए।

उनले कुकुर सेनाको महत्वपूर्ण सहयोगी शक्ति रहेको उल्लेख गरे। कुकुरको प्रयोगले सुरक्षा तथा खोजी कार्यमा जनशक्तिको प्रभावकारिता बढाउने गरेको उनको भनाइ छ। कुकुरहरूलाई ‘फोर्स मल्टिप्लायर’ का रूपमा उल्लेख गर्दै उनले गस्ती, सुरक्षा, ट्र्याकिङ, खोजी तथा शंकास्पद व्यक्ति र विस्फोटक पदार्थ पहिचानमा कुकुरको भूमिका उल्लेखनीय रहेको बताए।

युद्ध तथा जंगलमा खटिने सैनिकको मनोबल बढाउनसमेत कुकुरले सहयोग पुर्‍याउने उनको भनाइ छ ।

‘डग प्रदर्शनी, डगहरूको क्षमता र विशेषता आफैँमा उत्कृष्ट प्रस्तुति हो । कच्चा कुकुरहरूलाई विशेष प्रकारको तालिम प्राप्त गराइ यस्तो किसिमको प्रदर्शनी गर्नु गराउनु वास्तवमा चुनौतीपूर्ण पनि छ । कठिन पनि छ । अहिले हामी देख्छौँ, फोर्स मल्टिप्लायरको रूपमा देश विदेशमा पनि कुकुरहरूको भूमिका उल्लेखनीय रूपमा रहेको छ,’ उनले भने, ‘खासगरी पेट्रोल र सेक्युरिटी जहाँ धेरै मानिसहरूको तैनाथी हुनुपर्ने अवस्था हुन्छ । एउटा डगले पनि त्यो सम्पन्न गर्न सक्छ । त्यस्तै ट्रयाकिङ र सर्चको कार्यक्रम, अट्याक र पक्राउ गर्ने कार्यक्रम त्यस्तै साइकोलोजिकल इम्प्याक्ट पनि दिन्छ । दुश्मनहरूलाई मानसिक दबाब सिर्जना गर्ने कार्यमा पनि कुकुरको भूमिका उल्लेखनीय रहेको छ।’

उनले हौसलाको अभिवृद्धिको उपाय पनि कुकुर भएको उल्लेख गरे। ‘लडाइँमा जाने फौजहरूको जङ्गल डिउटीमा गएको फौजहरूको अगाडि डग भयो भने काम गर्ने हौसला आफैँ वृद्धि हुन्छ । यो हामीले महसुस गरेको कुरा हो । त्यसैले भनिन्छ, हामी मानव प्रजातिभन्दा कुकुरको स्मेल गर्ने क्षमता १० हजारदेखि एक लाख गुणा बढी हुन्छ ,’ उनले भने, ‘यो स्मेल गर्ने क्षमताबाट डगले धेरै टाढा भएको शङ्कास्पद व्यक्ति, शङ्कास्पद आइइडिहरू को को पहिचान गर्न सजिलैसँग गर्न सक्छ । त्यसैले हामीले डगलाई ट्रेन्ड गर्ने आवश्यकता महसुस गरेको हो ।’

नेपाली सेनाले कुकुरलाई निष्ठा, इमान्दारिता र बफादारिताको प्रतिकका रूपमा लिँदै हरेक वर्ष कुकुर तिहारमा पूजा गर्दै आएको छ । परम्परागत धार्मिक तथा सांस्कृतिक मान्यतालाई संरक्षण गर्नुका साथै मानव र कुकुरबीचको मित्रता र सहअस्तित्वलाई सम्मान गर्ने उद्देश्यले पनि कुकुर पूजा गरिँदै आएको सेनाले जनाएको छ। मध्यपुर थिमी नगरपालिकाका प्रमुख, वडा अध्यक्षहरु, सैनिक अधिकारी, पशु चिकित्सक, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?