News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि सातै प्रदेशमा दीक्षान्त समारोह आयोजना गर्ने भएको छ, तर प्रदेशगत आवेदन अपेक्षाअनुसार कम परेको छ।
- ९५ हजार ५४० योग्य विद्यार्थीमध्ये २१ हजार २७४ जनाले मात्र आवेदन दिएका छन्, जसमा बागमतीबाट १४ हजार ६८१ आवेदन परेका छन्।
- परीक्षा नियन्त्रक लक्ष्मण पौडेलका अनुसार मंसिर पहिलो साताभित्र सबै प्रदेशको दीक्षान्त समारोहको टुंगो लगाइनेछ।
२२ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सातै प्रदेशमा दीक्षान्त समारोहको आयोजना गर्दै छ । यसअघि काठमाडौंमा मात्र गर्दै आएकोमा यसवर्षदेखि सातै प्रदेशमा गर्न लागेको हो । समारोहोमा सहभागी हुन प्रदेश अनुसार नै आवेदन खुलाएको थियो । तर सोचे अनुसार प्रदेशबाट कम आवेदन आएको छ । त्रिविका परीक्ष नियन्त्रक लक्ष्मण पौडेलका अनुसार ९५ हजार ५४० विद्यार्थीको ग्रेसलिस्ट पास भएकोमा समारोहमा सहभागी हुन २१ हजार २७४ जना विद्यार्थीले आवेदन दिएका हुन् । उनका अनुसार बागमती प्रदेशबाट सबैभन्दा धेरै १४ हजार ६८१ विद्यार्थीको आवेदन परेको छ ।
गण्डकीमा २ हजार २१५, कर्णालीमा १५९, कोशीमा २ हजार १०, लुम्बिनीमा १ हजार ५५४, मधेशमा ३६४ र सुदूरपश्चिम प्रदेशबाट २८१ जना विद्यार्थीले समारोहमा सहभागी हुन आवेदन दिएका छन् । संख्या थोरै भएपनि प्रदेश–प्रदेशमा समारोहको आयोजना गर्ने नियन्त्रक पौडेलले बताए । ‘आवेदन माग्दा नै प्रदेश अनुसार मागेका छौँ । मंसिर पहिलो सातमा सबै टुंगो लगाउछौँ,’ उनले भने ।
त्रिविमा १ असार २०८२ सालदेखि २०८३ साल असार मसान्तसम्म विभिन्न तह उत्तीर्ण गरेका कुल ९५ हजार ५४० विद्यार्थी दीक्षान्तका लागि योग्य रहेको थिए । कुल विद्यार्थीमध्ये प्राविधिकतर्फ १५.१० प्रतिशत र साधारणतर्फ ८४.९० प्रतिशत रहेका छन् । यस्तै, एमफिलतर्फ २५३, पीजीडीतर्फ १८४ र विद्यावारिधितर्फ १६६ जना रहेका छन् ।
संकायगत रूपमा व्यवस्थापन संकायबाट सबैभन्दा धेरै ४३ हजार १४२ विद्यार्थी उत्पादन भएका छन् । शिक्षाशास्त्र संकायबाट १९ हजार ५३३, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १५ हजार ४४१ र कानुन संकायबाट ३ हजार १ विद्यार्थी रहेका छन् ।
त्यस्तै, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ६ हजार ६८८, इन्जिनियरिङ अध्ययन संस्थानबाट ५ हजार १६०, चिकित्साशास्त्र अध्ययन संस्थानबाट १ हजार ९२०, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट ४६३ र वन विज्ञान अध्ययन संस्थानबाट १९२ विद्यार्थी दीक्षान्तका लागि योग्य भएका छन् ।
प्रतिक्रिया 4