News Summary
Generated by OK AI. Editorially reviewed.- कुकुर तिहारका दिन नेपाल प्रहरीको केनाइन कार्यालय महाराजगञ्जले लियोलाई यस वर्षको सर्वोत्कृष्ट केनाइन घोषित गर्दै मेडल प्रदान गरेको छ ।
- भोटेकोशी बाढीमा खोज तथा उद्धारमा खटिएको लियोले २ शव, १ मानव कंकाल र मानव शरीरका साना अंगहरू फेला पारेको प्रहरीले बताएको छ ।
- नेपाल प्रहरीले २०२६ सालदेखि केनाइन प्रयोग गर्दै आएको र अहिले ४ विधामा १०७ केनाइन परिचालन गरिरहेको छ ।
२२ कात्तिक, काठमाडौं । यस वर्षको सर्वोत्कृष्ट कुकुर (केनाइन)को अवार्ड ‘लियो’ले पायो । नेपाल प्रहरीले हरेक वर्ष कुकुर तिहारको दिन वर्षभरि उत्कृष्ट कार्य गर्ने कुकुरलाई सर्वोत्कृष्ट घोषणा गर्दै अवार्ड तथा मेडल प्रदान गर्दै आएको छ ।
सोही अवसरमा आइतबार कुकुर तिहारको दिन प्रहरीको केनाइन कार्यालय महाराजगञ्जमा नेपाल प्रहरीको लियो नाम गरेको कुकुर सर्वोत्कृष्ट घोषित भयो । लियोलाई अपराध अनुसन्धान विभागका निमित्त प्रमुख तथा डीआईजी ओम रानाले मेडल प्रदान गरे ।
देशभर रहेका नेपाल प्रहरीका १०६ कुकुरलाई पछि पार्दै लियो यस वर्षको सर्वोत्कृष्ट कुकुर बन्न सफल भएको हो । लियो विशेषगरी गत भदौ १० गते आएको भोटेकोशी बाढीमा खोज तथा उद्धारमा खटिएको केनाइन कार्यालय महाराजगञ्जका प्रमुख तथा एसपी रामचन्द्र सत्यालले बताए ।
अहिले सर्वोत्कृष्ट भएको लियो ९ असार २०७८ मा जन्मिएको हो । मानव खोजी तथा उद्धारमा यो कुकुर तालिमप्राप्त छ । ल्याब्रोडर रिट्रिभर जातको लियो विगत चार वर्षदेखि खोज तथा उद्धारमा सक्रिय रहेको एसपी सत्यालले बताए ।
केनाइन कार्यालय महाराजगञ्जमा सेवारत रहेको लिया भोटेकोशी बाढीको तेस्रो दिन अर्थात् १३ भदौमा खोज तथा उद्धारमा खटिएको थियो । १ असोजसम्म लियोले नुवाकोट जिल्लाका विभिन्न भागमा खोज तथा उद्धारमा सक्रिय भएर काम गरेको प्रहरीले बताएको छ ।
सो क्रममा लियोले २ वटा शव, एउटा मानव कंकाल र मानव शरीरका स-साना विभिन्न अंगहरू फेला परेको प्रहरीले बताएको छ ।
‘रसुवाको भोटेकोशी बाढीमा सक्रिय भएर खोज उद्धारमा खटिई शव पत्ता लगाउन सहयोग गरेको लियोलाई सर्वोत्कृष्ट अवार्ड प्रदान गरिएको हो,’ एसपी सत्यालले भने ।
भोटेकोशी बाढीमा नेपाल प्रहरीका ९ वटा कुकुर खोज तथा उद्धारमा परिचालन भएका थिए । ती कुकुरहरूले खोज उद्धारमा ठूलो सहयोग गरेको प्रहरीले बताएको छ । १७ भदौमा टिमुरे क्षेत्रमा २ वटा शव र एउटा बडी पार्ट प्रहरीकै कुकुरले फेला पारेका थिए ।
मैलुङ हाइड्रो पावर ३बीका कर्मचारीको आवासमा सानो बडी पार्ट पनि प्रहरीको कुकुरले पत्ता लगाएको थियो । बट्टारको सोलार हाउसमा हत्केलाको सानो भाग, तुप्चे अक्करेमा कुमसहितको भाग, देवीघाटमा सानो बडीपार्ट, विदुर शीरखालीमा मानव कंकाल प्रहरीका कुकुरले फेला पारेका थिए ।
२१ भदौमा प्रहरीकै कुकुरले त्रिशूली बजारको एउटा घरमा मान्छे रहेको संकेत गरेको थियो । त्यतिबला उद्धार गर्न सकिएको थिएन । पछि उक्त घरबाट २ वटा शव फेला परेको थियो ।
त्यस्तै, बागमती प्रदेश प्रहरी कार्यालय केनाइन शाखा हेटौंडाबाट एउटा कुकुर परिचालन भएको थियो । उक्त कुकुरले दमौली गोलाघाट क्षेत्रमा २ वटा शव फेला पारेको थियो ।
गण्डकी प्रदेश कार्यालय केनाइन शाखाबाट पनि २ वटा कुकुर परिचालन गरिएको थियो । ती कुकुरले पनि बडी पार्टहरू फेला पारेको थियो ।
काठमाडौंस्थित नेपाल प्रहरी केनाइन कार्यालयबाट बाढी आएको तेस्रो दिन १३ भदौमा केनाइन टोली परिचालन गरियो । जहाँ ह्यान्डलर सई सुदीप थापा मगर, हवल्दार किसुनलाल चौधरी, हवलदार ऋषिबहादुर थापा, जवान सचिन जीसी, जवान सजिन्द्र तामाङ परिचालन भएका थिए ।
उनीहरूसँग दुई वटा केनाइन पठाइएको थियो । ल्याब्रोडर जातको लियो र कालु नामका दुई केनाइन परिचालित भएका थिए ।
यी दुई केनाइन भने विदुर, अर्चले, शान्तिबजार, मैलुङ हाइड्रोपावर, मैलुङ हाइड्रोपावर-३ए, मैलुङ हाइड्रोपावर-३बी, ढुंगे, देवीघाट, बेत्रावती, भैंसे, बट्टारलगायत इलाकामा परिचालित भए ।
लियो र कालुले पनि खोज उद्धारमा प्रहरी टोलीलाई सहयोग गरेका थिए । यिनै दुई केनाइनमार्फत मैलुङ हाइड्रोपावर-३बीको कर्मचारी आवासमा सानो बडी पार्ट, बट्टार सोलार हाउसमा हत्केलाको भाग फेला परेका थिए । अहिले त्यही लियो पुरस्कृत भएको छ ।
नेपाल प्रहरीको जस्तै सशस्त्र प्रहरी बलले पनि खोज तथा उद्धारका लागि केनाइन परिचालन गरेको थियो । रसुवा बाढीको खोज, उद्धारका लागि सशस्त्र प्रहरीका ७ वटा केनाइन परिचालित भएका थिए ।
७ वटा केनाइन ह्यान्डल गर्न १४ जना ह्यान्डलर परिचालन गरिएको थियो । एपीएफ केनाइनको सहयोगमा १९ वटा पुरिएका शव पत्ता लगाएर उत्खनन गरी निकालिएको थियो ।
तालिमप्राप्त केनाइनले सुँघेर शव पत्ता लगाउने काम गर्छन् । निश्चित समय काम गरेपछि उनीहरूलाई रेस्ट दिनुपर्छ ।
केनाइनले गरेको संकेतअनुसार ह्यान्डलरले काम गर्छन् । खोज तथा उद्धारमा यसअघि पनि प्रहरीले आफ्ना केनाइन परिचालन गर्दै आएको छ । २०७२ सालको भूकम्पमा पनि थुप्रै पटक केनाइन प्रयोग भएको छ ।
प्रहरी र सशस्त्रको मात्रै होइन, रसुवा बाढीमा विदेशबाट आएका उद्धारकहरूले समेत केनाइन प्रयोग गरेका थिए ।
नेपाली केनाइन नेपालभित्र मात्रै सीमित छैनन्, द्वन्द्वग्रस्त मुलुकमा शान्ति मिसनको रूपमा विभिन्न देशमा खटिँदै आएका छन् । नेपाली सेनाले आफ्ना तालिमप्राप्त केनाइनलाई यूएन मिसनमा समेत लगेर काम गरेको छ ।
नेपाली सेनाले २०५५ सालदेखि दरबन्दी नै छुट्याएर केनाइन पाल्दै आएको छ । तालिमप्राप्त यस्ता केनाइन रेस्क्युदेखि विस्फोटक पदार्थसम्म पहिचानमा खटिँदै आएका छन् ।
सशस्त्र प्रहरीले २०६२ सालदेखि केनाइन पाल्दै आएको छ । सशस्त्रमा ३० वटा केनाइनको दरबन्दी छ । सीमा नाकामा पनि केनाइन परिचालन गरेर सशस्त्रले गस्ती पेट्रोलिङ गर्दै आएको छ । नेपाल प्रहरीले भने २०२६ सालदेखि केनाइन पाल्दै आएको छ ।
५७ वर्षदेखि अनुसन्धानमा प्रहरीका केनाइन
नेपाल प्रहरीले २०२६ सालदेखि अपराध अनुसन्धानमा केनाइन प्रयोग गर्दै आएको छ । २०२६ सालमा मलेसियामा तालिम गर्न गएका प्रहरी कर्मचारीहरूले मलेसियन सरकारको सहयोगमा २ वटा तालिमप्राप्त केनाइन ल्याएका थिए । सोही वर्षमा प्रहरीले नेपालमा २ वटा केनाइन खरिद गरेको थियो । ४ वटा केनाइनबाट अपराध अनुसन्धान सुरु गरिएको थियो ।
२०३२ सालमा सईको कमान्डमा १० जनाको दरबन्दी कायम गरी कुकुर शाखाको स्थापना गरिएको थियो । २०४७ सालमा तत्कालीन कुकुर शाखाको नाम परिवर्तन गरी केन्द्रीय प्रहरी कुकुर तालिम स्कुल नाम राखियो । सोही वर्ष ५ वटा विकास क्षेत्रका लागि दरबन्दीसमेत निकासा भएको थियो ।
यसलाई २०७५ सालमा केनाइन महाशाखामा स्तरोन्नति गरियो । २०७८ सालमा नेपाल प्रहरी केनाइन कार्यालय नामकरण भयो । २०७५ सालदेखि भने प्रहरीले कुकुर शब्द प्रयोग गर्न छाडेर केनाइन शब्द प्रहरीले प्रयोग गर्न थालेको छ ।
अपराध अनुसन्धानमा खटिने तालिमप्राप्त कुकुरलाई कुकुर शब्द प्रयोग गर्न छाडेर केनाइन भन्न थालिएको एसपी सत्याल बताउँछन् ।
‘अपराध अनुसन्धानमा खटिने कुकुरलाई केनाइन भन्ने आम प्रचलन रहेकाले अहिले डग स्कुलको नाम पनि परिवर्तन गरी केनाइन कार्यालय राखिएको छ । हामी पनि कुकुर शब्द प्रयोग नगरी फलानो केनाइन भनेर बोलाउँछौं,’ एसपी सत्यालले भने ।
प्रहरीमा अहिले विभिन्न ४ विधाका एक्स्प्लोपसिभ, ड्रग्स, ट्रयाकर र सर्च एन्ड रेस्क्यु गरी १०७ वटा केनाइन छन् ।
विस्फोटक पदार्थ खोजी एवं पहिचान गर्ने कुकुरलाई एक्स्प्लोसिभ डग भनिन्छ । लागुऔषधको खोजी तथा पहिचान गर्ने केनाइनलाई ड्रग्स विधामा राखिएको छ । अपराधी खोजी एवं पहिचान गर्नेलाई ट्र्याकर केनाइन र मानव खोजी तथा उद्धार गर्नेलाई सर्च एन्ड रेस्क्यु केनाइन भनिन्छ ।
प्रहरीका यी केनाइनले विभिन्न १३ स्थानबाट केनाइनहरूले सेवा दिइरहेका छन् । कुकुरकै लागि १०५ प्रहरी कर्मचारीको दरबन्दी छ ।
पछिल्लो एक वर्षमा प्रहरीका कुकुरले गरेका मुख्य काम
– मिति २०८२/०७/१० गतेबाट हराइरहेका जिल्ला बारा, महागढीमाई नगरपालिका बगरामपुर बस्ने अन्दाजी वर्ष १९ का भोला साहनी मिति २०८२/०७/११ गते घरबाट अन्दाजी ३०० मिटर पर पोखरीमा मृत फेला परेको घटनाको अनुसन्धानको लागि केनाइन शाखा, वीरगञ्जबाट खटिगएको टोलीले पोखरीको डिलमा रहेको कालो रङको हुडी सुँघाई छोड्दा उक्त स्थानबाट करिब २ कि.मि.उत्तर पश्चिम ट्र्याक लिई सुवोध रामको घरसम्म पुगेको र अनुसन्धानको क्रममा निजले नै उक्त हत्या गरेको स्वीकार गरेको ।
– मिति २०८२/१०/१५ गते जिल्ला तनहुँ शुक्लागण्डकी गाउँपालिका-५ कसारीघाटस्थित निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र परिसरमा धारिलो हतियार प्रयोग गरी पहिचान नखुलेको अन्दाजी वर्ष ४० का २ जना पुरुषको शव फेला परेको ।
– मिति २०८३/०४/३१ गते जितपुर सिमरा उपमहानगरपालिका-१ कि अन्दाजी ३/४ वर्षकी गरिमा चौधरीको हत्या भएको घटनाको अनुसन्धानको लागि मधेश प्रदेश प्रहरी कार्यालयको मौखिक आदेशानुसार मिति २०८३/०५/०२ गते जिल्ला प्रहरी कार्यालय पर्सा (केनाइनतर्फ)बाट अपराध अनुसन्धान (ट्र्याकर) विषयको केनाइन सहितको टोली खटिगएकोमा घटनास्थलमा प्राप्त मृतकले लगाएको कपडा सुँघाई छोड्दा घटनास्थलबाट अन्दाजी ५०० मिटर टाढा रहेको म्याजिकको सहचालक सुमन थापा बस्ने चालक प्रोग्रेस चौधरीको घरसम्म पुग्न सफल भएको ।
– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनसक्ने अवैध विष्फोटक पदार्थ तथा लागुऔषध ओसारपसार नियन्त्रण तथा रोकथामका लागि विमानस्थल केनाइन शाखाबाट प्रहरी कुकुरद्वारा नियमित रूपमा चेकजाँच हुने गरेकोमा मिति २०८२/०८/०३ गते दिनको १:३० बजे बैंककबाट अवतरण भएको थाई एअरको उडान टीजी ३१९ को लगेज चेकजाँच गर्दा प्रहरी कुकुरको संकेतका आधारमा सोही उडानबाट काठमाडौं आएका भारतीय नागरीक पासपोर्ट नं. ए४९४६८३५ भएको पुरुष वर्ष ३०, सरोज कालिलको लगेज खोली हेर्दा उक्त लगेजमा ३ के.जी. ३०० ग्राम अमेरिकन गाँजा जस्तो वस्तु फेला परेको ।
– मिति २०८२/१०/२६ गते दिनको ३:४५ बजे सिराहा कारागारभित्र सर्च गर्ने क्रममा प्रहरी कुकुरको संकेतका आधारमा कटुवा पेस्तोल थान १ र सोको गोली थान २ फेला पार्न सफल ।
प्रतिक्रिया 4