२३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता गर्दै आफ्नो ‘गाजा शान्ति योजना’ कार्यान्वयनका लागि ठोस कदम चाल्न आग्रह गरेका छन्।
अक्टोबर २७ मा सम्पन्न इजरायली निर्वाचनका कारण महिनौँदेखि रोकिएको उक्त २० बुँदे शान्ति खाकालाई अगाडि बढाउन ट्रम्पले दबाब दिएका हुन्।
ह्वाइट हाउसका अनुसार, इजरायलमा नेतान्याहु वा उनका प्रतिद्वन्द्वी गादी आइजेनकोटमध्ये जसको नेतृत्वमा नयाँ सरकार बने पनि ट्रम्प प्रशासन गाजा योजनालाई लागू गराउन प्रतिबद्ध छ।
ट्रम्पको गाजा शान्ति योजना र ‘बोर्ड अफ पिस’ को खाका
एक वर्षअघि इजरायल र हमासबिच ट्रम्पको २० बुँदे योजनाको पहिलो चरणमा सहमति भएसँगै गाजामा युद्धविराम हुनुका साथै जीवित रहेका अन्तिम २० जना बन्धकहरू रिहा भएका थिए। त्यसयता स्थापित अमेरिकी ‘बोर्ड अफ पिस’ ले गाजाको भावी पुनर्निर्माण र व्यवस्थापनका लागि काम गरिरहेको छ ।
गाजाको नागरिक तथा सुरक्षा नियन्त्रण एक नयाँ गैर-राजनीतिक प्यालेस्टिनी टेक्नोक्रेटिक सरकार र अन्तर्राष्ट्रिय स्थिरता बल (इन्टरनेसनल स्टेबलाइजेसन फोर्स) लाई हस्तान्तरण गरिनेछ।
गत जुलाईमा बोर्ड अफ पिसले हमासासँग १५ बुँदे सहमति गर्दै हमास लगायतका सशस्त्र समूहहरूलाई निश्स्त्रीकरण गर्न र हातहतियार बिसाउन राजी गराएको थियो। गत अगस्टमा ट्रम्पका सल्लाहकार ज्यारेड कुश्नरले नेतान्याहुसँग भेट गरी हमास इतिहासमै पहिलोपटक हतियार छाड्न तयार भएको जानकारी दिएका थिए।
गत सेप्टेम्बरको संयुक्त राष्ट्र सङ्घीय साधारण सभाका क्रममा बोर्ड अफ पिसले गाजाका लागि २ अर्ब ४५ करोड डलरको ६६ वटा विकास परियोजना सम्मिलित ६ महिने पुनर्निर्माण खाका सार्वजनिक गरिसकेको छ।
इजरायली आशङ्का र ह्वाइट हाउसको अडान
प्रधानमन्त्री नेतान्याहु हमासले हतियार त्याग्ने विषयमा अझै पनि सन्देह राख्छन् । हमासले गाजामा पुनः सङ्गठित हुँदै हतियार भेला गरिरहेको नेतान्याहुको दाबी छ। तर अमेरिकी अधिकारीहरूका अनुसार, हमासको निश्स्त्रीकरणको प्रगति पक्का भएपछि मात्रै पुनर्निर्माणका कामहरू चरणबद्ध रूपमा सुरु हुनेछन्।
बिहीबारको उच्चस्तरीय फोन वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, ज्यारेड कुश्नर र अमेरिकी दूत स्टिभ विटकफ समेत सहभागी थिए। वार्तामा गाजा योजनाका साथै इरानसँगको युद्धबारे पनि छलफल भएको बताइएको छ।
टोनी ब्लेयरको जेरुसेलम भ्रमण र कूटनीतिक दौडधुप
फोन वार्तापछि ‘बोर्ड अफ पिस’ का सदस्य एवं पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले इजरायलको भ्रमण गरेका छन्। ब्लेयरले प्रधानमन्त्री नेतान्याहुका साथै नयाँ सरकार गठनको जिम्मेवारी पाएका विपक्षी नेता गादी आइजेनकोट सँग छुट्टाछुट्टै भेटवार्ता गरी यो शान्ति योजनालाई अगाडि बढाउन आग्रह गरेका छन्।
अमेरिकी अधिकारीहरूले यो योजना इजरायलको दीर्घकालीन सुरक्षाका लागि उत्तम विकल्प भएको र यसको कार्यान्वयनका लागि इजरायली सरकारको पूर्ण सहयोग र साझेदारी अनिवार्य रहेको स्पष्ट पारेका छन्।
प्रतिक्रिया 4