+
+
Shares

सर्लाहीमा जुवा खेलिरहेका २६ जना पक्राउ, साढे ९ लाख रुपैयाँ बरामद

प्रहरीले उनीहरूको साथबाट नेपाली र भारतीय रुपैयाँसहित बैंकको चेक, तास र २५ थान मोबाइल बरामद गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २३ गते १३:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाही प्रहरीले तीन स्थानमा छापा मारेर जुवा खेलिरहेको अवस्थामा २६ जनालाई पक्राउ गरेको छ।
  • प्रहरीले पक्राउ परेकासँग ९ लाख ४९ हजार १४५ रुपैयाँ नेपाली र ३२ हजार ८५० रुपैयाँ भारतीय मुद्रा बरामद गरेको छ।
  • मलंगवा नगरपालिका–८ स्थित भागनारायण चौधरीको घरबाट २५ थान मोबाइल, चेक र जुवा खेल्ने सामग्री पनि बरामद गरिएको छ।

२३ कात्तिक, सर्लाही । सर्लाही प्रहरीले जिल्लाका तीन स्थानमा छापा मारेर जुवा खेलिरहेको अवस्थामा २६ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट नेपाली र भारतीय रुपैयाँसहित बैंकको चेक, तास र २५ थान मोबाइल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार ब्रह्मपुरी गाउँपालिका–२ स्थित धनैस साह कलवारको कुखुरा फार्म र सोही स्थानका सन्तोष साहको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

प्रहरीले कुखुरा फार्मबाट १० जना र सन्तोष साहको घरबाट सात जनालाई पक्राउ गरेको हो। त्यस्तै, मलंगवा नगरपालिका–८ स्थित कोल्ड स्टोरनजिक भागनारायण चौधरीको घरमा जुवा खेलिरहेको अवस्थामा थप नौ जना पक्राउ परेका छन्  ।

प्रहरीका अनुसार तीनवटै स्थानबाट कुल ९ लाख ४९ हजार १४५ रुपैयाँ नेपाली र ३२ हजार ८५० रुपैयाँ भारतीय मुद्रा बरामद भएको छ । त्यसैगरी, माछापुच्छ्रे बैंकको एक लाख ३० हजार रुपैयाँ उल्लेख भएको एउटा चेक, तासका बुक तथा जुवा खेल्न प्रयोग हुने अन्य सामग्री पनि बरामद गरिएको छ ।

बरामदमध्ये भागनारायण चौधरीको घरबाट मात्रै ६ लाख ३० हजार १६० रुपैयाँ नेपाली र ३० हजार २५० रुपैयाँ भारतीय मुद्रा फेला परेको प्रहरीले जनाएको छ । उक्त घरबाट २५ थान मोबाइलसमेत बरामद गरिएको छ ।

पक्राउ परेका २६ जनालाई प्रहरी नियन्त्रणमा राखेर थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?