News Summary
Generated by OK AI. Editorially reviewed.- इसाई धार्मिक मान्यताअनुसार लुसिफर स्वर्गका सबैभन्दा सुन्दर र शक्तिशाली देवदूत थिए र घमण्डका कारण स्वर्गबाट निकालिएको विश्वास गरिन्छ।
- ‘लुसिफर’ शब्दको अर्थ प्रकाश बोकेर हिँड्ने हुन्छ, र रोमनहरूले बिहानको चम्किलो शुक्र ग्रहलाई यही नामले चिन्थे।
लुसिफर इसाई धार्मिक मान्यताअनुसार स्वर्गका सबैभन्दा सुन्दर र शक्तिशाली देवदूत थिए । उनमा आफ्नो शक्ति र सुन्दरतामाथि घमण्ड थियो । उनी ईश्वरकै बराबरी हुन खोजेपछि स्वर्गबाट निकालिएको विश्वास गरिन्छ । त्यसपछि शैतानका रूपमा चिनिन थाले ।
रोचक कुरा के छ भने ‘लुसिफर’ शब्दको अर्थ प्रकाश बोकेर हिँड्ने भन्ने हुन्छ । रोमनहरूले सूर्योदयअघि पूर्वी आकाशमा देखिने चम्किलो शुक्र ग्रहलाई लुसिफर भन्थे । त्यो ग्रह बिहानको उज्यालो आउन लागेको सङ्केतका रूपमा देखिन्थ्यो । त्यसबेला यस नामको कुनै नराम्रो अर्थ थिएन ।
तर, पछि यही नाम शैतानसँग जोडिन पुग्यो । यसको सुरुवात बाइबलको यशैयाको पुस्तकबाट भएको मानिन्छ । त्यहाँ बेबिलोनका घमण्डी राजाको पतनबारे वर्णन गरिएको छ । उनलाई बिहानको चम्किलो तारासँग तुलना गरिएको थियो । चौथो शताब्दीमा जेरोमले बाइबललाई ल्याटिन भाषामा अनुवाद गर्दा उक्त शब्दलाई ‘लुसिफर’ लेखे । उनको आशय बिहान देखिने चम्किलो तारासँग थियो, शैतानसँग होइन ।
पछि इसाई धर्मका केही विद्वानले उक्त प्रसङ्गलाई स्वर्गबाट पतन भएको देवदूतको कथासँग जोडे। बाइबलका अन्य प्रसङ्ग पनि यसमा मिसाइए । यसरी लुसिफरलाई स्वर्गबाट निकालिएको देवदूतका रूपमा व्याख्या गर्न थालियो
लुसिफरको पतन किन भयो ?
धार्मिक कथाअनुसार लुसिफर स्वर्गका सबैभन्दा तेजस्वी देवदूत थिए । उनी ईश्वरको सिंहासननजिकै बस्थे । ईश्वरबाट प्राप्त प्रकाश अरूसम्म पुर्याउनु उनको काम थियो ।
तर, बिस्तारै उनी आफूलाई अरूभन्दा महान् ठान्न थाले । ईश्वरको अधीनमा बस्नुभन्दा आफैँ सबैभन्दा शक्तिशाली बन्ने चाहना राखे । आफूलाई सबैले पूजा गर्नुपर्छ भन्ने घमण्ड उनमा बढ्दै गयो । अन्ततः उनले ईश्वरविरुद्ध विद्रोह गरे ।
त्यसपछि प्रधान देवदूत माइकल र लुसिफरका पक्षका देवदूतबीच स्वर्गमा युद्ध भयो । लुसिफर पराजित भए र आफ्ना अनुयायीसहित स्वर्गबाट निकालिए । कथाअनुसार स्वर्गका एकतिहाइ देवदूत पनि उनीसँगै निकालिएका थिए ।
लुसिफरलाई सुरुमा अत्यन्त सुन्दर र तेजस्वी देवदूतका रूपमा चित्रण गरिन्छ । तर, स्वर्गबाट निकालिएपछि उनको स्वरूप अँध्यारो र डरलाग्दो भएको मानिन्छ । पछि कलाकारहरूले उनलाई सिङ, चमेराका पखेटा र विकृत शरीर भएको दानवका रूपमा चित्रण गर्न थाले ।
इसाई मान्यतामा लुसिफर र शैतान एउटै पात्र हुन् । लुसिफरलाई स्वर्गबाट पतन हुनुअघिको नाम र शैतानलाई पतनपछिको नामका रूपमा बुझिन्छ। शैतानको अर्थ विरोधी वा शत्रु भन्ने हुन्छ ।
कथाअनुसार लुसिफर मानिसलाई गलत बाटोमा लैजान प्रलोभन दिन्छन् । तर, कसैलाई जबर्जस्ती पाप गर्न लगाउन सक्दैनन् । मानिस आफैँ गलत निर्णय गरोस् भन्ने प्रयास गर्छन् ।
लुसिफरको कथाले अहंकार र घमण्डले शक्तिशाली व्यक्तिलाई पनि पतन गराउन सक्छ भन्ने सन्देश दिन्छ ।
प्रतिक्रिया 4