News Summary
Generated by OK AI. Editorially reviewed.- नाटक ‘लुसिफर राइजींग’ले २४ भदौको काठमाडौंको राजनीतिक द्वन्द्व र मान्छेको मनोस्थिति एक कोठाबाट देखाएको छ।
मान्छे कति बेला शक्तिशाली हुन्छ ? शक्ति भ्रम हो कि सत्य ? मान्छे कति बेला शरण लिन पुग्छ ? कोसँग शरण लिन पुग्छ ? अराजकता हाबी हुँदा मान्छे के हुन्छ ? मान्छेका लागि विश्वास ठूलो कि सपना ? विध्वंस र निर्माणको बीचमा पर्दा मान्छे के हुन्छ ? हिंसा र पागलपनको शिकार हुँदा मान्छे के हुन्छ ?
यी र यस्ता प्रश्नहरूको उत्तर नाटक ‘लुसिफर राइजींग’ले मञ्चमा देखाउने प्रयास गरेको छ ।
000
यो नाटकले दर्शकलाई २४ भदौमा फर्काउँछ ।
त्यो दिन काठमाडौं रणभूमि समान थियो । ठीक, त्यो समयमा एउटा प्रदर्शनकारीको मनस्थिति कस्तो थियो ? एउटा प्रहरी कुन हबिगतमा थियो ? जेलबाट निस्केको एउटा कैदी के सोच्दै थियो ? सडकमा निस्केका आफ्नो मान्छेको प्रतिक्षामा घरमा बसिरहेको मान्छेले के ठान्दै थियो ?
नाटकले यही कुरा देखाएको छ । जसलाई दर्शकले एसिलाको कोठामार्फत हेर्न पाउँछन् ।
एलिसा सुकुमबासी बस्तीमा बस्ने केटी हुन् । उनको केही आफ्नै सपनाहरू छन् । भाँडा माँझ्ने काम गरेर गुजारा चलाउँछिन् । तर, उनको नागरिकता छैन । कसरी नागरिकता बनाउने भन्ने उनको पीडा छ ।
२४ भदौमा उनका प्रेमी प्रताप पनि प्रदर्शनमा निस्केको हुन्छ । उनै प्रताप हरेक पटक कोठामा फर्केर आउँदा नाटकले नयाँ दिशा लिन्छ । दर्शकले एलिसाको कोठाबाटै सडकको विद्रोह (विध्वंस!) हेर्न सक्छन् । सडकको अवस्था नदेखे पनि २४ भदौको महुसुस गर्न सक्छन् । यो निर्देशक/लेखक सहलेसको सफलता हो ।
यो नाटकमा जम्मा ७ जना पात्रहरू छन् । पात्र थोरै भए पनि सडकमा निस्केका २४ भदौको सयौं व्यक्तिको प्रतिनिधि मञ्चमा देखिन्छ । उनीहरू सबैमा लागुऔषध, अपराध, विद्रोह जस्ता साझा कुरा छन् । यसले नाटक वयस्कले हेर्न मिल्ने मात्र बनेको छ ।
यो कुरामा निर्देशकले छल गरेका छैनन् । २४ भदौमा सडकमा निस्केको एउटा प्रदर्शनकारी जस्तो भावमा थियो, जसरी ऊ प्रस्तुत हुन्थ्यो, जसरी ऊ बोल्थ्यो, जे बोल्थ्यो – नाटकमा यो कुरा उतारिएको छ । तर, यही कुरा नाटकका लागि दुईधारे तरबार बनेको छ । यसो गर्ना साथै दर्शक विभाजित बनेको छन् ।

नाटकमा २४ भदौलाई एउटा कोठामा देखाउँदै गर्दा स्वैरकाल्पनिकता पनि देखाइएको छ । जब पात्रहरू अधिक नसामा हुन्छन्, उनीहरूले यथार्थ भुल्न थाल्छन् । आफ्नो कल्पनामा रमाउन थाल्छन् । कल्पना र सोचदेखि डराउन थाल्छन् ।
जस्तो, कुनै समय लागुऔषध प्रयोग गरेकोमा एलिसालाई पश्चाताप छ । विगतको जीवनदेखि ग्लानी छ । यशुको शरणमा जाँदा उनी त्यो ग्लानीको पश्चाताप गर्छिन् । अब उप्रान्त गल्ती नदोहोर्याउने प्रतीज्ञा गर्छिन् । तर फेरि त्यस्तो गल्ती दोहोर्याइहाल्छिन् । उनी काल्पनिक जीवहरूदेखि पनि डराउँछिन् । त्यो डर कम गर्न उनी फेरि यशुको शरणमा जान्छिन् ।
नाटकमा धर्मलाई एउटा विश्वास (अन्धविश्वास!)को प्रतीकको रूपमा देखाउन खोजिएको छ । त्यस्तो विश्वास, जो मान्छे एक्लो हुँदा लिन चाहन्छ । डराएको बेला लिन चाहन्छ । साथ चाहिएको बेला लिन चाहन्छ । तर, त्यो प्रतीक यति कमजोर हुन्छ कि त्यही कोठामा बलात्कार हुँदा समेत ईश्वरीय शक्तिको केही चल्दैन । त्यस दृश्यले आस्थाप्रति भयंकर प्रश्न छेडेको छ ।
डेढ घण्टाको यो नाटकको नाम राजनैतिक सुनिन्छ । किनकि पछिल्लो समय ‘लुसिफर’ शब्द राजनैतिक बन्दै गइरहेको छ । त्यसमाथि नाटकको पोस्टरमा हालै भत्काइएको सुकुमवासी बस्तीको फोटो फिचर छ । तर, नाटक यी दुवै कुराभन्दा टाढा बन्न गएको छ । यसले दर्शकको अपेक्षा र नतिजामा भने फरक ल्याउन सक्छ ।
तर, बदलामा लुसिफरको शाब्दिक अर्थलाई नाटकले न्याय गर्न सकेको छ । ईसाई धार्मिक मान्यताअनुसार लुसिफर भनेको ईश्वरको विरोधी, संसारमा पाप र भ्रम फैलाउने सैतान हो । तर, ऊ कुनै समय ईश्वरको सबैभन्दा नजिक, अत्यन्तै सुन्दर, बुद्धिमान् र प्रकाशले भरिएका स्वर्गदूत थियो । आफ्नै घमण्ड र मोहका कारण सैतान बन्न पुग्यो ।
नाटक व्यक्ति भित्रको लुसिफर प्रवृत्तिलाई देखाउन सफल छ । जब प्रतापले प्रहरीबाट बन्दुक खोस्छ; बैंकबाट पैसा लुट्छ; पसलहरूबाट सामान चोर्छ; जेलबाट आफ्नो साथीलाई छुटाउँछ; अधिक नसा लिन्छ; ऊ सामान्य मान्छे रहिरहन सक्दैन । ऊ मात्र होइन, अन्य पात्रहरू पनि सामान्य मानिस रहन सक्दैनन्; उनीहरू शक्ति र अहंकारले उन्मत्त हुन्छन् । उनीहरू आफूलाई सर्वोच्च सोच्न थाल्छन् । उनीहरूबाट प्रश्न हराउँछ । चेतना हराउँछ । उनीहरू अन्धो हुन्छन् ।

तर, नाटक २४ भदौको पूर्णप्रतिबिम्ब बन्न सकेको छैन । सायद निर्देशकीय दृष्टि त्यो होइन । त्यस्तै ध्वनि र प्रकाशको पक्षमा यो नाटक कमजोर बन्न पुगेको छ । जस्तो, प्रकाश कमजोर हुँदा मञ्चबाट पात्र बाहिरिएको/भित्रिएको देखिन्छ । यसले दर्शकलाई कथाबाट केही भड्काउँछ । यी दुईको सघन अभावमा नाटक कमजोर भने बनेको छैन । निर्देशकले अझैं ध्वनि निर्माण र प्रकाशको पक्षमा काम गर्नुपर्ने ठाउँ छाडेका छन् ।
यद्यपि मौलिक हुनु, फरक विधामा प्रस्तुत गर्नु र सीमित पात्रबीच कथा भन्न सक्नु यो नाटकको अब्बल पक्ष हो । नाटकले कतै लुसिफर प्रवृत्ति हामीले त जन्माइरहेका छैनौं ? कतै हामी भित्र त जन्मिरहेको छैन ? भन्ने पेचिलो प्रश्न छेड्दै प्रकाश निभाउँछ ।
नाटक: लुसिफर राइजींग
स्थान: एक थिएटर नेपाल, थापागाउँ
समय: बेलुका ५:१५ (बुधवार बाहेक)
मञ्चमा:
तारा : एसिला
अनोज पाण्डे : प्रताप
बुद्धिराम चौधरी : कैदी/जीव
मिलन बहादुर खड्का : गेडे
सुब्रतराज सिलबाल : सागर
एडन बाती : जिजस
तस्बीरहरू: एक थिएटर नेपाल
प्रतिक्रिया 4