News Summary
Generated by OK AI. Editorially reviewed.- सिबिएस न्युजको ‘६० मिनेट’ अन्तर्वार्तामा राष्ट्रपति डोनाल्ड ट्रम्पले शत्रुहरूलाई माफ गर्न नसक्ने र नरक जानुपरे पनि मन्जुर रहेको बताए।
- ट्रम्पले जेम्स कोमी, न्यान्सी पेलोसीलगायत विरोधीहरूलाई देशका लागि खराब र बेइमान मानिसहरू भन्दै माफी अस्वीकार गरे।
- ट्रम्पको अभिव्यक्तिपछि अमेरिकी धार्मिक र राजनीतिक वृत्तमा बहस सुरु भएको छ, र आगामी दिनमा तिक्तता बढ्न सक्ने विश्लेषण गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजनीतिक विरोधीहरूलाई कहिल्यै माफ नगर्ने र त्यसका लागि मरेपछि स्वर्गको ढोका बन्द भएर नरक वा मध्यलोक (पर्गेटरी) मा बस्नुपरे पनि मन्जुर रहेको अप्रत्याशित अभिव्यक्ति दिएका छन्।
आइतबार राति प्रसारित सिबिएस न्युजको चर्चित कार्यक्रम ‘६० मिनेट’ मा पत्रकार रस डुथाटसँगको अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले इश्वरको न्यायको अगाडि उभिनुपरे पनि आफूले शत्रुहरूप्रति क्षमाभाव राख्न नसक्ने स्पष्ट पारेका हुन्।
‘६० मिनेट’ अन्तर्वार्ता र प्रश्नको पृष्ठभूमि
अन्तर्वार्ताकार रस डुथाटले राष्ट्रपति ट्रम्पलाई सुरुमा ‘के तपाईं मरेपछि स्वर्ग जानुहुन्छ भन्ने लाग्छ?’ भनी सोधेका थिए। ट्रम्पले गम्भीर हुँदै जवाफ दिएका थिए, ‘म त्यस्तै आशा गर्छु, म नरक जान चाहन्नँ।’
त्यसपछि डुथाटले ट्रम्पले दक्षिणपन्थी राजनीतिक कार्यकर्ता स्वर्गीय चार्ली किर्कको शोक सभामा दिएको अभिव्यक्तिको स्मरण गराएका थिए। किर्ककी पत्नी एरिका किर्कले क्षमा र प्रेमको सन्देश दिइरहँदा ट्रम्पले आधा-ठट्टाको शैलीमा ‘म मेरा विरोधीहरूलाई घृणा गर्छु र उनीहरूको राम्रो भएको हेर्न चाहन्नँ’ भनेका थिए।
यसै सन्दर्भलाई जोड्दै पत्रकार डुथाटले ट्रम्पसमक्ष एक काल्पनिक प्रश्न राखेका थिए,’यदि स्वर्गमा प्रवेश गर्नका लागि तपाईंले भूतपूर्व एफबिआई निर्देशक जेम्स कोमी, पूर्व प्रतिनिधि सभा सभामुख न्यान्सी पेलोसी वा वर्षौँदेखि तपाईंले घृणा गरेका विरोधीहरूलाई माया र क्षमा दिनुपर्ने एक मात्र सर्त राखियो भने, के तपाईं त्यसो गर्न सक्नुहुन्छ?’
ट्रम्पको जवाफ: ‘उत्तर हो — सक्दिनँ’
पत्रकारको यो काल्पनिक प्रश्नमा ट्रम्पले आफ्ना नाम लिइएका विरोधीहरू देशका लागि निकै खराब र अत्यन्तै बेइमान मानिसहरू भएको टिप्पणी गरे।
जब पत्रकारले ‘त्यसो भए तपाईंको उत्तर ‘सक्दिनँ’ हो?’ भनी पुनः सोधे, ट्रम्पले दृढताका साथ भने, ‘मेरो उत्तर हुँदैन नै हो। म इमानदार हुन चाहन्छु। ईश्वरको न्यायको अगाडि उभिनुपरे पनि म उनीहरूलाई माफ गर्न सक्दिनँ। उनीहरू निकै खराब मानिसहरू हुन्।’
ट्रम्पले अगाडि थपे,’म मेरा केही शत्रुहरूलाई साच्चै नै घृणा गर्छु र उनीहरू भयानक रहेका छन्। उनीहरूले मलाई कस्तो अवस्थाबाट गुज्रन बाध्य पारे । त्यो हेर्नुहोस्— सरकारी संयन्त्रको दुरुपयोग, ममाथि लगाइएका अभियोगहरू र महाभियोगहरू। म मेरा केही शत्रुहरूलाई घृणा गर्छु र सधैँ गरिरहनेछु, त्यसैले म उनीहरूलाई माफ गर्न सम्भवतः सक्दिनँ।’
राजनीतिक र धार्मिक वृत्तमा चर्चा
अन्तर्वार्ताकार डुथाटले ट्रम्पलाई अमेरिकी इतिहासमै सबैभन्दा भाग्यशाली र अभूतपूर्व जीवन पाएको व्यक्ति भएर पनि शत्रुहरूलाई माफ गर्न किन सक्नुहुन्न भनी प्रश्न गर्दा पनि ट्रम्प आफ्नो अडानमा कायम रहे।
यो अन्तर्वार्ता सार्वजनिक भएसँगै ट्रम्पको यो अभिव्यक्तिलाई लिएर अमेरिकी धार्मिक तथा राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। विश्लेषकहरूका अनुसार, मध्यावधि निर्वाचनको धक्का र कङ्ग्रेसमा डेमोक्रेट्सको सम्भावित कडा छानबिनका बिच ट्रम्पको यो आक्रामक रूपले वासिङ्टनमा आगामी दिनहरूमा राजनीतिक तिक्तता अझ बढाउने सङ्केत गरेको छ।
प्रतिक्रिया 4